कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फाइनल नजिकिँदै सुदूरपश्चिम

काठमाडौँ — लगातार चौथो खेल जित्दै सुदूरपश्चिम वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलतिर नजिकिएको छ । हेमन्त धामीको कसिलो बलिङमा गत वर्षको उपविजेता सुदूरपश्चिमले सोमबार प्रदेश १ लाई २ सय १३ रनले हरायो ।

फाइनल नजिकिँदै सुदूरपश्चिम

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ६४ रन बनायो । हेमन्तले ५ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि जवाफमा आएको प्रदेश १ केवल १६.३ ओभर सामना गरी ५१ रनमा अलआउट भयो । हेमन्तले ७ ओभरमा २२ रन खर्चदै माथिल्लोक्रमको पहिलो ५ विकेट लिए ।

आकाश चन्दले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ३ र मिलन बोहराले २ विकेट लिए । भूपाल दंगाल (१०) बाहेक प्रदेश १ बाट अरूले दोहोरो स्कोर बनाउन सकेनन् । चार खेलाडीले खाता खोल्नै नसकेको प्रदेश १ बाट सुभन गहतराजले ९ र कप्तान दिपेश कँडेलले ६ रन जोडे ।

यसअघि सुदूरपश्चिमबाट कप्तान अनुराग सिंह र मिलनले अर्धशतक बनाएका थिए । अनुरागले ८३ र मिलनले ६४ रन बनाए । यी दुईले तेस्रो विकेटमा १ सय ३ रन जोडेका थिए । समान ८ चौका र १ छक्का प्रहार गर्नेक्रममा अनुरागले १ सय १२ र मिलनले ७६ बल खेले । दीपक बोहरा ३२, गजेन्द्र बोहरा २४, आकाश २० र विशाल ऐर १३ रनमा आउट भए । प्रदेश १ का अविनय राजवंशीले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर ४, आशिष मगर र दीपेशले २–२ विकेट लिए ।

सुदूरपश्चिम ८ अंकसहित शीर्षस्थानमा छ । आफूले खेलेको पहिलो तीन खेल जितेको वाग्मती प्रदेश दोस्रो स्थानमा छ । सबै ७ प्रदेशले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रदेश १ ले ३ खेलमा दोस्रो हार बेहेरोको हो । गत वर्ष विजेता लुम्बिनी प्रदेशले ३ खेलमा दोस्रो विजय हात पार्नेक्रममा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

लुम्बिनीले मूलपानी क्रिकेट मैदानमा १ सय ६२ रनको लक्ष्य ३९.२ ओभरमा पूरा गर्‍यो । विशाल भुसाल ५२ रन बनाई अविजित रहे । उनले ७२ बल खेलेर ३ चौका र १ छक्का प्रहार गरे । ओपनर आकाश त्रिपाठीले ७८ बल खेल्दै ३ चौकासहित ४५ रन बनाएका थिए । देव खनाल १५, प्रज्ज्वल थापा २४, सुनील भण्डारी १२ रनमा आउट भए । कप्तान विशालविक्रम केसीले खाता खोल्न सकेनन् । गण्डकीका किरण भट्टराई र सुदीप अर्यालले २–२ तथा निर्तेश गिरी र सुवास भण्डारीले १–१ विकेट लिए ।

लगातार चौथो खेलमा पराजित गण्डकी यसअघि ४० ओभरमा छोट्याइएको खेलमा ३६.३ ओभर खेल्दै १ सय ६१ रनमा अलआउट भएको थियो । सुदीपले २० बल खेलेर ४ चौका र ३ छक्का प्रहार गरेर ३६ रन बनाए । दीपक डुम्रे ३०, करण पंगेनी २९, गोविन्द बिक १० र अर्जुन कुमाल ९ रनमा आउट भए । शिशिर भुसाल १२ रनमा अविजित रहे । लुम्बिनीका दुर्गेश गुप्ताले ५ विकेट लिए । प्लेयर अफ द म्याच उनले ८ ओभरमा २९ रन खर्चे । निर्मल गुरुङले ८ ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेर ३ तथा नर सार्की र तुलबाहादुर थापाले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर १३, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?