एम्बाप्पेको उत्कृष्ट दुई गोलले फ्रान्स नकआउट चरणमा पुग्यो

राजु घिसिङ

दोहा — सुपरस्टार किलियन एम्बाप्पेले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स रोमान्चक खेलमा शनिबार डेनमार्कलाई २–१ पराजित गर्दै विश्वकप २०२२ मा नकआउट चरणमा छनोट हुने पहिलो टिम भएको छ ।

एम्बाप्पेको उत्कृष्ट दुई गोलले फ्रान्स नकआउट चरणमा पुग्यो

विश्वकपपछि पुरै विस्थापित गर्ने योजनासहित कन्टनरले बनाइएको रंगशाला ९७४ मा समूह डी को खेलमा एम्बाप्पेले ओभरल्यापमा अगाडि बढेका डिफेन्डर थियो हर्नान्डेजसग वान–टु पास खेल्दै पोष्टनजिकबाट प्रहार गर्दै बललाई गोलमा परिणत गर्दै ६१ औं मिनेटमा फ्रान्सलाई १–० को अग्रता दिलाएका थिए ।

तर, त्यसको सात मिनेट नबित्दै बार्सिलोनाका डिफेन्डर आन्द्रेस क्रिस्टिेनसेनले हेडर गोल गर्दै डेनमार्कलाई १–१ को बराबरीमा पुऱ्याए । क्रिस्टियन इरिक्सनको कर्नरमा जोचिम एन्डरसनको हेडरपछि पाएको बललाई क्रिस्टेनसनले फ्रान्सेली डिफिेन्डर एड्रियन ऱ्याबियटलाई उछिन्दै पोष्टको दिशा दिएका थिए । यससगै डेनिस टिमले विश्वकपमा गोलको खडेरीलाई २ सय ७१ मिनेटमा टुंग्याइदियो ।

फ्रान्सको श्रृंखलाबद्ध आक्रामण र डेनमार्कको संगठित डिफेन्सको प्रतिस्पर्धा ४२,८६० दर्शकमाझ बराबरीतर्फ अग्रसर भइरहदा ८६ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को जितसहित अन्तिम १६ मा पुऱ्याएका हुन् । उनले एन्टोइन ग्रिजमनको क्रसमा पोष्टनजिकबाट आफ्नो तीघ्राले बललाई गोललाइन पार गराउदै निर्णायक गोल गरेका थिए ।

चार वर्षअघि रुसमा उपाधि जित्दा पनि उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पे २३ वर्षको छंदै विश्वकपमा सात गोल गर्ने दोस्रो खेलाडी बने । यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी ब्राजिली लिजेन्ड पेले हुन् । एम्बाप्पे फ्रान्सकै महान खेलाडी जिनेदिन जिदानले जति नै ३१ गेल गर्दै फ्रान्सको सर्बाधिक गोलकर्ताको सूचिमा सातौं स्थानमा पनि उक्लिए । उनले करिअरमा पहिलोपल्ट एउटै वर्ष ५० गोल (क्लब र देशको लागि) पनि कतारमै पूरा गरे ।

पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध ४–१ को एकतर्फी जित हात पारेको फ्रान्सले दुई खेलमा अधिकतम ६ अंक जोड्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । उसले ट्युनिसयाविरुद्ध समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्ने छ, जसको समूहको शीर्षस्थानमा रहने फ्रान्सको भाग्य निर्धारण गर्ने छ ।

आजकै अर्को खेलमा ट्युनियिामाथि १–० को जित निकालेको अस्ट्रेलिया तीन अंकसहित दोस्रोमा छ । उसले समूहको अन्तिम खेलमा डेनमार्कको सामना गर्ने छ । डेनमार्कलाई नकआउटमा पुग्न उत्त: खेल जित्नैपर्ने बाध्यता छ भने अस्ट्रेलिया बराबरी नतिजामा पनि अन्तिम १६ मा छनोट हुने छ । किनभने डेनमार्कले ट्युनिसियाविरुद्ध गोलरहित खेल्दै अंक बाङ्गडेको थियो ।

प्रकाशित : मंसिर ११, २०७९ ००:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?