कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पोल्यान्डले साउदी अरेबियालाई २–० ले हरायो

विश्वकपमा पहिलो गोल गरेका रोबर्ट लेवन्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलमा पेलेसमान समान ७७ गोल बनाए
राजु घिसिङ

दोहा — अहिलेको पुस्ताका एक उत्कृष्ट स्ट्राइकर रोबर्ट लेवन्डोव्स्कीले विश्वकप इतिहासमै पहिलो गोल गरेपछि पोल्यान्डले एजुकेसन सिटी स्टेडियममा शनिबार साउदी अरेबियालाई २–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्ने संभावना बलियो बनाएको छ ।

पोल्यान्डले साउदी अरेबियालाई २–० ले हरायो

पहिलो खेलमा लियोनल मेसीको टिम अर्जेन्टिनामाथि २–१ को अविश्वसनीय जित हात पारेको साउदी अरेबियाले युरोपेली देश पोल्यान्डलाई कडा चुनौती दियो । रोमान्चक खेलको ३९ औं मिनेटमा पियोतर जेलेन्स्कीले गोल गर्दै पोल्यान्डलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा साउदीले बराबरी गर्ने राम्रो अवसर पाएको थियो । तर, पेनाल्टीमा पाएको अवसरमा सलेम अल दस्वारीले प्रहार गरेको बल गोलकिपर वज्सिक स्कुजसिनीले रोकिदिए । रिबाउन्डमा मोहमद अल बुरायकले प्रहार गरेको बललाई पनि बाहिर फाल्दै उनले पोल्यान्डको संकट टारिदिए ।

एक गोलले पछाडि परे पनि साउदीले राम्रो खेल प्रदर्शन गरिरहेको थियो । तर, साउदीका खेलाडी अब्दुलेलाह अल माल्कीले फुस्काएको बललाई लेवन्डोव्स्कीले गोलकिपर माहमद अल ओवाइसलाई कुनै अवसर नदिई ८२ औं मिनेटमा गोलमा परिणत गर्दै पोल्यान्डको जित निश्चित गरे । विश्वकप इतिहासमै उनको पहिलो गोल हो । गागेलरहित टुंगिएको मेक्सिको विरुद्धको खेलमा पेनाल्टी पाएर पनि उनले प्रहार गरेको बललाई गोलकिपर गुइलेर्मो ओचोआले रोकेका थिए ।

३४ वर्षीय लेवन्डोव्स्कीले रुसमा चार वर्षअघि भएको विश्वकपमा पनि समूह चरणका तीनै खेल खेलेका थिए, जसमा पोल्यान्डले एक खेल जितेको थियो भने दुई खेल हारेको थियो । तर, उनी विश्व फुटबलको सबभन्दा महत्वपूर्ण प्रतियोगितामा गोलको खाता खोल्न असफल भएका थिए । उनी साउदी विरुद्धको गोलसगै ब्राजिली लिजेन्ड पेलेसमान ७७ गोल गर्दै पुरुषको अन्तर्राष्ट्रिय फुटबलमा सबभन्दा बढी गोल गर्ने खेलाडीको शीर्ष दसमा पुगेका छन् । यो उपलब्धि १ सय ३६ औं खेलमा हात पारेका हुन् । तर, उनी ९० औं मिनेटमा पाएको अर्को अवसरमा गोल गर्न असफल रहे ।

जितसँगै चार अंक बनाएको पोल्यान्ड समूह सी को शीर्षस्थानमा उक्लियो । उसले समूहको अन्तिम खेलमा अर्जेन्टिनाको सामना गर्नेछ । साउदी तीन अंकसहित दोस्रोमा छ । मेसीको कप्तानमा रहेको अर्जेन्टिनाले आज राति नेपाली समयअनुसार १२ : ४५ बजे मेक्सिको विरुद्ध प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा अनपेक्षित हार बेहोरेको अर्जेन्टिना नकआउट चरणमा स्थान बनाउन मेक्सिको विरुद्ध जित्नैपर्ने दबाबमा छ ।

प्रकाशित : मंसिर १०, २०७९ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?