प्रतीकको शतक

काठमाडौँ — प्रतीक श्रेष्ठको सानदार शतकमा वाग्मती प्रदेशले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । प्रतीकले अविजित १ सय ४२ रन बनाएपछि वाग्मतीले शुक्रबार प्रदेश १ लाई ७२ रनले पराजित गर्‍यो । 

प्रतीकको शतक

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४४ बलमा अर्धशतक र ९० बलमा शतक पूरा गरेका उनले कुल १ सय ५ बलको इनिङ्समा १० चौका र ९ छक्का प्रहार गरे । लक्की कठायत ८, उत्तम मगर शून्य, सक्षम बस्ताकोटी २३, अशोक पौडेल २५, योगेश भाट १४, ओमकार यादव ७ रनमा आउट भएपछि प्रतीकले अथर्व पौडेलसँग सातौं विकेटमा १ सय रनको साझेदारी गरे ।

अथर्वले ४८ बल खेल्दै २ चौकासहित १५ रन बनाए । सक्रिय कार्कीले ८ रन जोडे । प्रदेश १ बाट दीपेश कँडेल, विपिन महतो र सोनु अन्सारीले २–२ विकेट लिए । दीपेशले १० ओभरमा १ मेडन राख्दै २४, विपिनले १० ओभरमा ३४ र सोनुले ६ ओभरमा ५९ रन खर्चे । अभिनय राजवंशी र आशिष मगरले १–१ विकेट लिए ।

प्रदेश १ जवाफमा ५० औं ओभरमा १ सय ९७ रनमा अलआउट भयो । कप्तान दीपेशले ४७ रन बनाउनेक्रममा ६६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । सोनु १३, शुभन गहतराज २६, स्टाइन रिजाल ३५, भूपाल डंगोल ८, फैजल रहमान २४ रनमा आउट भए । १० औं नम्बरमा ब्याटिङ गरेका विपिनले २२ बल खेल्दै २ चौका र १ छक्कासहित २१ रन बनाए । वाग्मतीका सक्रियले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ३८ रन खर्चे । ओमकारले ९ ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर २, अहमद राजा, अभिषेक कोइराला र अथर्वले १–१ विकेट लिए ।

वाग्मतीले पहिलो खेलमा गण्डकीलाई ७४ रनले हराएको थियो । प्रदेश १ ले दोस्रो खेलमा पहिलो हार भोगेको हो । राउन्ड रोबिन लिगमा सात प्रदेश आमनेसामने भएपछि शीर्ष दुई टोली फाइनल खेल्ने प्रावधान छ । वाग्मतीले जस्तै गत वर्षको उपविजेता सुदूरपश्चिमले पनि पहिलो दुई खेलमै विजय हात पारेको छ ।

सुदूरपश्चिमले लुम्बिनीलाई १ सय रनले पराजित गर्‍यो । दीपक बोहराको अर्धशतकप्रेरित सुदूरपश्चिम ४९.५ ओभरमा १ सय ८० रनमा अलआउट भयो । दीपकले ७३ बल खेली ८ चौका प्रहार गर्दै ५४ रन बनाए । गजेन्द्र बोहरा १९, अर्का दीपक बोहरा र नरेन्द्र साउद समान १७, विशाल ऐर १६ तथा हेमन्त धामी १५ रनमा आउट भए । लुम्बिनीका कप्तान विशालविक्रम केसीले ६ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै नर सार्की र निर्मल गुरुङले २–२ तथा दुर्गेश गुप्ता र रमेश कुर्मीले १–१ विकेट लिए ।

मूलपानी क्रिकेट मैदानको कठिन विकेटमा लुम्बिनी २१ ओभरमा ८० रनमै अलआउट भयो । आकाश त्रिपाठीले २२, देव खनालले १३ र मनोज मगरले ११ रनबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । सुदूरपश्चिमका आकाश चन्दले ३ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । उनी नै प्लेयर अफ द म्याच बने । हेमन्तले ३ र कैलाश ऐरले १ विकेट लिए ।

प्रकाशित : मंसिर १०, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?