ब्याडमिन्टन फाइनलमा रसिला र अनु

काठमाडौँ — आर्मीकी रसिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल पुगेका छन् ।महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन रसिलाले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–९ ले हराइन् । अर्को खेलमा आर्मीकै अनुले आफ्नै प्रार्थना देउवामाथि १७–२१, २१–१८, २१–१७ को कठिन जित निकालेकी हुन् । 

ब्याडमिन्टन फाइनलमा रसिला र अनु

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार क्वाटरफाइनलमा राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल आर्मीका दिवस शंकरलाई २१–१०, २१–१२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । कास्कीका विधान अधिकारीले एपिएफका देवराज रानालाई २१–१३, २१–११ को जित निकाल्दै प्रिन्ससँगको भेट पक्का गरे । अर्को खेलमा आर्मीका प्रफुल महर्जन पुलिसका हीरा राईमाथि २१–१६, २१–७ को जित निकाले । प्रफुलले फाइनल प्रवेशका लागि सिक्टिन फिदरका क्षितिज खनालको सामना गर्ने छन् । क्षितिजले आमर्मीका पविन लिनथेपलाई २१–१२, २१–९ ले हराए ।

छात्रा यू–१७ मा आर्मीकी रिहाना शेरचनले आफ्नै टिमकी समृद्धि श्रेष्ठलाई २१–१५, २१–१० ले पराजित गर्दै फाइनल प्रवेश गरिन् । अर्को खेलमा कैलालीकी रञ्जु रानाविरुद्ध ललितपुरकी श्रेया बज्राचार्य १९–२१, २१–१९, २१–१३ को जित निकाल्दै फाइनल पुगिन् । छात्रतर्फ सेनाका कविर केसी र आर्मीका अनिल मल्ल फाइनल पुगेका छन् । कविरले कैलालीका रोशन साउदलाई २१–१९, २१–१७ ले र अनिलले शुभकामना युवा क्लबका सनौला रैनीलाई २१–१५, २२–२० ले हराए ।

भेट्रान ४५ वर्षमाथि प्रतिस्पर्धामा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राजेश थापाको जोडी तथा कीर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी सेमिफाइनल पुगेका छन् । कास्कीका राजेश गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडी र कालिका ब्याडमिन्टन क्लबका राम केसी र हरि खत्रीको जोडी सेमिफाइनलमा पुगेका छन् ।

प्रकाशित : मंसिर ९, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?