नाटकीय खेलमा इरानले वेल्सलाई हरायो

राजु घिसिङ

दोहा — गोलकिपर वायनी होनेसीले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित वेल्समाथि अन्तिम तीन मिनेटमा दुई गोल गर्दै इरानले २–० को सनसनीपूर्ण जित निकालेर शुक्रबार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ ।

नाटकीय खेलमा इरानले वेल्सलाई हरायो

अबहम बीन अली रंगशालामा सुरुबाटै निक्कै रोमान्चक भइरहेको खेलमा गोलकिपर होनेसीले बल अगाडि बढाइरहेका मेहदी तरेमीलाई पेनाल्टी क्षेत्रबाहिरै फाउल गर्दै लडाएका थिए ।

तत्कालै रेफ्रीले उनलाई पहेंलो कार्ड दिएपछि इरानी खेलाडीहरूले विरोध गरेका थिए । त्यसपछि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले रिभ्यु गरेपछि होनेसीलाई रातो कार्ड दिइएको थियो । त्यसपछि वेल्सले आक्रामक खेलाडी आरोन राम्सीलाई निकाल्दै वैकल्पिक गोलकिपर ड्यानी वार्डलाई गोलपोष्ट सम्हाल्न पठाएको थियो ।

खेलाडीको संख्यात्मक हिसाबले बलियो भएपछि इरानले अझामण अझै बढायो । इन्ज्युरी समय नौ मिनेट थपिएपनि ११ मिनेटसम्म चल्यो । त्यसैको आठौं मिनेट अर्थात् ९८ औं मिनेटमा रुजवेह चेसमीले पेनाल्टी क्षेत्रबाहिरैबाट बल प्रहार गर्दै गोल गरेर इरानलाई अग्रता दिलाए । उनले सशक्त रुपमा प्रहार गरेको बल गोलकिपर वार्डले रोक्ने कुनै अवसर पाएनन् र सुन्दर गोलसगै इरान ब्रिटिश टिमविरुद्ध १–० ले अगािड बढ्यो ।

पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध ६–२ को लज्जास्पद हार बेहोरेको इरानी खेलाडी र समर्थकले चेसमीको गोलमा ४० हजार ८ सय ७४ दर्शकसामु भव्य खुशियाली मनाए । कप्तान गारेथ बेलसहित वेल्सका खेलाडीहरु भने हार स्वीकारेजस्तै गरी मैदानमै केही बेर ढलिरहे । ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सले पहिलो खेलमा अमेरिकाविरुद्ध १–१ को बराबरी खेलेको थियो । त्यसैले समूहको अन्तिम चरणमा इंग्ल्यान्डको सामना गर्नुअघि उसलाई अन्तिम १६ मा स्थान बनाउन इरानविरुद्धको नतिजा महत्वपूर्ण हुन्छ र उसले जित्नैपर्ने दबाबमा खेल्यो ।

वेल्सका खेलाडीहरू एक गोलले पछाडि परेलगत्तै गोल फर्काउने प्रयासमा निक्कै हतारियो । खास समय पनि सकिएन । तर, काउन्टर अट्याकमा रमिन रेजाइनले पाएको अवसरलाई इन्ज्युरी समयको ११ औं मिनेटमा गोलमा परिणत गर्दै इरानको जित निश्चित गरिदिए ।

इरानले समूह चरणको अन्तिम खेलमा अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्ने छ । उसको लागि राजनीतिक रुपले चिसो सम्बन्ध रहेको अमेरिकाविरुद्ध खेल नकआउट प्रवेशको लागि निर्णायक हुने छ ।

समूह बी मा इंग्ल्यान्ड र अमेरिकावीच आजै अल बायत रंगशालामा प्रतिस्पर्धा हुदै छ । चार वर्षअघि रुसमा सेमिफाइनल पुगेको गारेथ साउथगेटको टिमले अमेरिकाविरुद्ध जित हात पार्नसके एक खेल अगावै नकआउट चरणमा स्थान सुरक्षित गर्ने छ ।

प्रकाशित : मंसिर ९, २०७९ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?