३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रोहित र दीपेन्द्रको शतक

काठमाडौँ — कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको शतकका बावजुद नेपाल बिहीबार अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनसँग २ विकेटले पराजित भएको छ । विश्वकप लिग २ का लागि नामिबिया भ्रमणअघि प्रशिक्षणलाई दिल्लीमा रहेको नेपालले रोहितको १ सय १३ र दीपेन्द्रको १ सय ९ रनमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई ३ सय ३ रन बनायो । 

रोहित र दीपेन्द्रको शतक

ओपनरद्वय अर्जुन साउद र आसिफ शेखसहित ज्ञानेन्द्र मल्ल गरी तीन खेलाडी शून्यमा आउट भएपछि नेपाल सुरुदेखि नै दबाबमा परेको थियो । हरिशंकर शाह २५ र कुशल भुर्तेल २१ रनमा आउट भएपछि नेपाल ३१ ओभरमा १२४–५ को स्थितिमा पुग्दा रोहित र दीपेन्द्रले शतकीय इनिङ्स खेलेका थिए ।

रोहितले १ सय ३५ बलमा ११ चौका र १ छक्का तथा दीपेन्द्रले ६२ बल खेल्दै ८ चौका र ६ छक्का प्रहार गरे । आरिफ शेख १० बलमा १८ रनमा अविजित रहे । गुलशन झा र सोमपाल कामी शून्यमा आउट भए । दिल्लीका प्रिन्स यादवले ९ ओभरमा ३ मेडन राख्दै ४२ रन खर्चेर ३ र मनीष शेरावतले २ विकेट लिए ।

दिल्लीले ३ बलअघि लक्ष्य पूरा गर्‍यो । सलिल मल्होत्राले ६० बलमा ५३, वैभव शर्माले ६७ बलमा ४४, सक्षम शर्माले ३५ बलमा ३३ रन बनाए । मध्य तथा तल्लोक्रममा ध्रुव कौशिकले ३९ बलमा ४१, कुश नागपालले १९ बलमा २१, यश ओविरिओले अविजित ४२ र सिद्धान्त जुनले अविजित १३ रन बनाएर दिल्लीलाई जिताए ।

नेपालबाट कुशलले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । नन्दन यादवले ८ ओभरमा ६५ रन खर्चेर २ तथा सोमपाल, ललित राजवंशी र हरिशंकरले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?