सुदूरपश्चिमसँग कर्णाली पराजित- खेलकुद - कान्तिपुर समाचार

सुदूरपश्चिमसँग कर्णाली पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — साबिक उपविजेता सुदूरपश्चिम प्रदेशले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सुदूरले बिहीबार कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो । अर्को खेलमा प्रदेश १ ले गण्डकीमाथि २१ रनको जित पायो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णाली ३२.३ ओभरमा १ सय २७ रनमै अलआउट भयो । दिनेश अधिकारीले ३५, सुवास ऐरले ३०, कप्तान विपिन रावलले १९, आवास शाहले १५ र सन्दीप शाहीले १० रन बनाए । सुदूरका मिलन बोहराले ७.३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ३, नरेन साउदले २ तथा हेमन्त धामी र कैलाश ऐरले १–१ विकेट लिए ।

मिलनले अलराउन्ड प्रदर्शन गर्नेक्रममा ४२ रन बनाएपछि सुदूरपश्चिमले २७ ओभरभित्रै लक्ष्य पूरा गर्‍यो । उनले ४७ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । दुई दीपक बोहराले समान २० र कप्तान अनुराग सिंहले १० रन बनाए । कर्णालीका अनुज चुनाराले ३ तथा सन्दीप शाही र मोहन बिकले १–१ विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा गण्डकीले लगातार दोस्रो हार बेहोर्‍यो । टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले १ सय ८३ रन बनाउनुअघि ४९.३ ओभर खेलेको थियो । ओपनर सोनु अन्सारीले ६४ रन बनाए । उनले ९४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । कप्तान दीपेश कँडेलले ७५ बलमा दुई छक्कासहित ३६, फैजल रहमानले २६ र शुभन गहतराजले १२ रन बनाए । गण्डकीका शिशिर भुसालले ७.४ ओभरमा २८ रन खर्चेर ४, निर्तेश गिरीले ३, सुवास भण्डारीले २ र सुदीप अर्यालले १ विकेट लिए ।

जवाफमा गण्डकी ४८.३ ओभरमा १ सय ६२ रनमा अलआउट भयो । करण पंगेनीले ८६ बलमा ४ चौकासहित ४८, दीपक डुम्रेले २५, अर्जुन कुमालले २२, सुवासले १८ र शिशिरले १० रन बनाए । प्रदेश १ का दीपेश र अश्विन महताले ३–३, सोनु र विपिन महतोले २–२ विकेट लिए ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

विवाह महोत्सवमा राम–सीता मिलन

कान्तिपुर संवाददाता

जनकपुर — राम–जानकी विवाह महोत्सवको दोस्रो दिन बिहीबार फूलबारी लिला सम्पन्न भएको छ । सातदिवसीय विवाह महोत्सवको क्रममा फूलबारी लीला विशेषरुपले मनाउने चलन छ ।

राम र सीताबीच पहिलो मिलन फूलबारीमै भएको वर्णन विभिन्न धर्मग्रन्थमा उल्लेख छ । सोही जनविश्वासका आधारमा जानकी मन्दिरको उत्तरमा रहेको विवाह मण्डपअगाडिको फूलबारीमा उक्त लिला सम्पन्न गरिएको हो । ‘सिया–पिया मिलन’ नाम दिइएको लीला हेर्न सयौंको सहभागिता थियो ।

फूलबारीमा आफ्ना सहेलीहरूसँग फूल टिपिरहेकी सीता र अनुज लक्ष्मणसँग फूलबारी घुम्न आएका रामबीच पहिलो मिलन भएको लिला देखाइएको थियो । त्यस क्रममा मुख्य गायक (व्यास) महेन्द्र दास सुरिलो स्वरमा गाइरहेका थिए– ‘लागल जनकपुरमे मेला, देखेला मोरा मनमा करेला ।’ सीताको पिताको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव भावुक बनेका थिए, ‘छोरीको विवाह हुने भएपछि पिता भावुक भइहाल्छ नि !’

मंसिर ७ देखि सुरु भएको विवाह महोत्सव मंसिर १३ मा रामकलेवासँगै सम्पन्न हुनेछ ।

प्रकाशित : मंसिर ९, २०७९ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×