बिक्रीमा रोनाल्डो !

एपी

दोहा — बिक्रीमा छन् ‘क्रिस्टियानो रोनाल्डो’ । तिनै रोनाल्डोले पोर्चुगलका लागि बिहीबार आफ्नो पाँचौं तथा सम्भवतः अन्तिम विश्वकप सुरुआत गर्दैछन् । यी ३७ वर्षीय मंगलबार रातिबाट क्लबविहीन भएका छन् । म्यानचेस्टर युनाइटेडले उनीसँगको अनुबन्ध तोडेको छ ।

बिक्रीमा रोनाल्डो !

कारण स्पष्ट छ, केही दिनअगाडि उनले अन्तर्वार्ता दिने क्रममा म्यानचेस्टरका व्यवस्थापक एरिक टेन हाग, क्लब मालिक र आफ्ना अधिकांश सहकर्मीको अचम्मले खेदो खनेका थिए ।

अहिले तत्कालका लागि उनलाई किन्न सक्ने टिम कोही पनि छैन । हुनसक्छ, यस विश्वकपमा राम्रो प्रदर्शन गर्न सक्यो भने उनका सम्भावित क्रेता पनि अगाडि आउनेछन् । तर, सबैलाई लागिरहेको छ, पाँचपल्टको बालोन डी’अर विजेता रोनाल्डोले आफ्नो खेलजीवनका सबै राम्रा दिन पछाडि छाडिसके । भलै, उनले अहिलेसम्म गोल गर्ने कला भने बिर्सेका छैनन् । क्लब र खेलाडीबीचको आपसी सहमतिमा अनुबन्ध तोड्ने निर्णययता रोनाल्डोले पहिलोपल्ट मिडियासामु बोलेका छन् ।

उनी भन्छन्, म्यानचेस्टरसँगको कचमचले पोर्चुगलका लागि उनको प्रदर्शनमा केही फरक पर्ने छैन । तर त उनी कुनै प्रकारले टिममा व्यवधान पुर्‍याउन चाहन्छन् । पोर्चुगल आफैंले भने स्टेडियम–९७४ मा हुने समूह चरणको खेलमा घानाको सामना गर्दै छ । तय के छ भने यी सबै पृष्ठभूमिमा रोनाल्डो आफ्ना आलोचकलाई शान्त पार्न अझ राम्रो खेल्न प्रेरित रहन सक्छन् । उनी पक्कै पहिलोपल्ट विश्वकप जित्न चाहन्छन् ।

यसले उनको सम्भावित क्रेता पनि तयार पार्नेछ । दोहा झरेयता उनले भनेका छन्, ‘यो पोर्चुगाली टिमलाई केहीले पनि हल्लाउन सक्ने छैन ।’ सायद घानाविरुद्धको खेलमा पोर्चुगल पराजित भए, टिम आफैं नराम्रोसँग हल्लिने छ । विश्वकपमा जति टिम छन्, त्यसमध्ये सबैभन्दा तल्लो वरीयताको टिम हो घाना । त्यसो भनेको ६१ औं नम्बरको टिम । यो समूहका अन्य दुई टिम उरुग्वे र दक्षिण कोरिया कम्तीका छैनन् । अझ बलिया नै छन् ।

घानाका लागि साउदी अरेबियाले बाटो देखाइसकेको छ । साउदी टिमले मंगलबार मात्रै लियोनल मेसीको अर्जेन्टिनालाई अचम्मको तरिकाले हराएको थियो । घाना फेरि कमजोर छैन लुइस स्वारेजले हुँदै झेल्ली नगरेर बल हातले नरोकेको भए सन् २०१० को विश्वकपमा यो टिमले सेमिफाइनल खेलिसक्थ्यो । ‘द ब्ल्याक स्टार्स’ सँग अहिले उत्तिकै लयमा रहेका खेलाडी छन् । आर्सनलका मिडफिल्डर थोमस पार्टे भरपर्दा छन् । उनकै प्रदर्शनको मदतमा आर्सनल लिगमा उकालो लागिरहेको छ ।

घानासँग मोहम्मद कुडोस पनि छ । यी खेलाडीले युरोपेली च्याम्पियन्स लिगमा अयाक्सका लागि मौका पायो कि गोल गरिहाल्ने काम गरिरहेका छन् । खेलअगाडि त पोर्चुगल नै जितका लागि बलियो प्रत्याशी हो । प्रशिक्षक फर्नान्डो सान्तोसका लागि टिम कति गहिरोसँग विकल्प छ भने उनीसामु विकल्प नै विकल्पमात्र छ । उनकै नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरो पनि जितेको थियो । पोर्चुगाली टिम सम्हालेको ८ वर्ष भयो उनी समर्थकमाझ झन् लोकप्रिय छन् ।

उनी कडा निर्णय गर्न माहिर छन् । रोनाल्डोलाई बेन्चमा राखेर खेल सुरु गर्न पनि डराउँदैनन् । किनभने उनले यस्तै काम जुनमा आफ्नो खास प्रतिद्वन्द्वी स्पेनविरुद्ध गरेका थिए । यो नेसन्स लिगको खेल थियो । रोनाल्डोलाई नखेलाउनु पछाडि उनले रणनीतिक कारण देखाएका थिए । सायद घानाविरुद्ध पहिलो खेलमै उनले रोनाल्डोलाई नखेलाउने सम्भावना कम छ । सायद सान्तोस आफैंले पनि म्यानचेस्टर र रोनाल्डोबीच के कस्तो भएको थियो, त्यसमा धेरै ध्यान दिने पक्षमा छैनन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?