म्यानचेस्टरबाट रोनाल्डो अलग्गिने

लन्डन — पोर्चुगाली फरवार्ड क्रिस्टियानो रोनाल्डोले तत्काल लागू हुने गरेर मंगलबारबाट इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् । विवादास्पद अन्तर्वार्तामा क्लब र प्रशिक्षक एरिक टेन हागको चर्को आलोचना आएपछि यो स्थिति बनेको हो ।

क्लब र खेलाडीले आपसी सहमतीमा अलग्गिने निर्णय गरेको बताएका छन् । युनाइटेडले प्रेस विज्ञप्तिमा भनेको छ, ‘दुई फरक समय क्लबमा पुर्याएको योगदानका लागि हामी धन्यवाद दिन चाहन्छौं ।’
विश्वकपका लागि अहिले प्रिमियर लिग विश्राममा छ र त्यस अगाडि टेन हागको नेतृत्वमा पहिलो सिजन खेल्दै म्यानचेस्टर अंक तालिकाको पाँचौं स्थानमा छ । टिमले सुधारिएको प्रदर्शन गरिरहेको छ ।
खराब प्रदर्शनका कारण प्रशिक्षक टेन हागले रोनाल्डोलाई नियमित खेलाइरहेका थिएनन् । रोनाल्डो भने पोर्चुगाली टिमसँगै कतारमा छन् ।
प्रकाशित : मंसिर ७, २०७९ ०६:३९