१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वाइवाइ यू–१९ क्रिकेट आजदेखि

काठमाडौँ — वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ । पहिलो दिन वाग्मती र गण्डकी प्रदेशबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रतिस्पर्धा हुनेछ । सबै सात प्रदेशले एकअर्काको सामना गरेपछि शीर्ष दुई टोलीले मंसिर १९ मा फाइनल खेल्नेछन् ।

वाइवाइ यू–१९ क्रिकेट आजदेखि

फाइनलसहित कीर्तिपुरमा १२ र मूलपानी क्रिकेट मैदानमा १० खेल हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानले चौधरी ग्रुपको वाइवाइसँग दुई वर्षअघि वार्षिक ७० लाख रुपैयाँको सम्झौता गरेको थियो, त्यसअनुरुप क्यानले यू–१९ को राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ ।

यसपालि यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि १ करोड २५ लाख ८० हजार रुपैयाँको अनुमानित बजेट बनाइएको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए । विजेताले २ र उपविजेताले १ लाख पाउनेछन् । उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट ब्याटर र बलरलाई समान १० हजार, प्लेयर अफ द म्याचलाई २ हजार र म्याच फी १ हजार प्रदान गरिने सिंहले मंगलबार पत्रकार सम्मेलनमा बताए ।

चौधरी ग्रुपका नायब महाप्रवन्धक लालबावु प्रसादले वाइवाइले नेपालको यू–१९ लाई विगत १७ वर्षदेखि प्रायोजन गर्दै आएको र सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । क्यानका सचिव प्रशान्तविक्रम मल्लले यसलाई हरेक वर्ष आयोजना गरिने निरन्तर प्रतियोगिताको रूपमा रहेको जनाउँदै भने, ‘नेपाली क्रिकेट आज जहाँ छ, यू–१९ क्रिकेटमा वाइवाइले जसरी लगानी गरेको छ, त्यसअनुरुप यसको धेरै श्रेय चौधरी ग्रुपलाई जान्छ ।’

मंसिर ८ मा सुदूरपश्चिम र कर्णालीबीच कीर्तिपुर तथा गण्डकी र प्रदेश १ बीच मूलपानीमा प्रतिस्पर्धा हुनेछन् । फाइनल मंसिर १९ मा कीर्तिपुरमा हुनेछ । गत वर्ष मंसिरमै भएको प्रतियोगिताको पछिल्लो संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई १ सय १३ रनले हराएर उपाधि जितेको थियो ।

गत वर्ष यू–१९ प्रतियोगिता हुँदै देव खनाल, मोहम्मद आदिल आलम, बसिर अहमद, अर्जुन साउद, लोकेश बमले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । यसपालि प्रतियोगिताबाट पनि अन्य खेलाडी निस्किने आस लिएको मल्लले जनाए । विशालविक्रम केसीको कप्तानीमा रहेको लुम्बिनी प्रदेशबाट देवले यू–१९ राष्ट्रिय खेल्नेछन् ।

राष्ट्रिय टोली दिल्लीतर्फ

नेपाली राष्ट्रिय टोली मंगलबार नै दिल्ली लागेको छ । टोलीले दिल्लीमा दुई दिन अभ्यास गर्नुका साथै दिल्ली क्रिकेट एसोसिएसनका टोलीसँग दुई अभ्यास खेल खेल्नेछ । नेपालले विश्वकप लिग २ को नामिबिया जानुअघि दिल्लीमा तयारी गर्न लागेको हो । डिसेम्बर २ देखि ८ सम्म नामिबियामा हुने लिग २ मा नेपालले नामिबिया र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले डिसेम्बर २ मा घरेलु टोली नामिबियासँग खेलेर यात्रा सुरु गर्नेछ । त्यसपछि डिसेम्बर ४ मा स्टकल्यान्ड, डिसेम्बर ७ मा नामिबिया र डिसेम्बर ८ मा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाली टोलीबाट नियमित खेल्दै आएका देव हुने छैनन् । देवलाई अघिल्लो साता यूएईसँगको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि राखिएको थिएन । क्यान सचिव मल्लले उनी प्रदर्शनको हिसाबमा टिमबाहिर रहेको जनाए । ‘अहिलेको हिसाबमा ज्ञानेन्द्र मल्लले नेपालबाट तेस्रो नम्बरमा ब्याटिङ गर्दै राम्रो खेलिरहेका छन् । पहिला ज्ञानेन्द्र फर्ममा नरहँदा देवलाई ल्याइएको थियो,’ मल्लले भने, ‘प्रशिक्षकले जुन खेलाडी चाहन्छन्, त्यसैले खेल्ने हो ।’

प्रकाशित : मंसिर ७, २०७९ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?