कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गाउँले थेगेको इलामको फुटबल

विप्लव भट्टराई

इलाम — ०७६ देखि रोकिएको जिल्लाकै ठूलो फुटबल प्रतियोगिता फाल्गुनानन्द गोल्डकप इलामको माङसेबुङस्थित लारुम्बामा मंसिर ९ देखि हुने भएको छ । २०६५ मा धर्मगुरु आत्मानन्द लिङदेनको ५५ औं जन्मोत्सवमा २० हजार ५५ रुपैयाँ प्रथम पुरस्कार राशीबाट थालनी गरिएको माइभ्याली गोल्डकप प्रतियोगिताको विजेताले यो वर्ष ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ प्राप्त गर्नेछन् । यहाँ हरेक वर्ष पुरस्कार राशि थप गर्दै लगिएको छ । 

गाउँले थेगेको इलामको फुटबल

न कुनै ठूलो प्रायोजक न अरू भरपर्दो स्रोत । तर फुटबल मोहका कारण हरेक वर्ष यहाँ ठूलो प्रतियोगिता हुने गरेको हो । धर्म अनुयायीहरूको सहयोगको भरमा निरन्तर यो प्रतियोगिता हुँदै आएको छ । प्रतिष्ठित माइभ्याली गोल्डकप ०७६ देखि हुन सकेको छैन । जिल्लाभर बाक्लै फुटबल प्रतियोगिता आयोजना भइरहेको अवस्थामा यो नै ठूलो प्रतियोगिता बनेको हो ।

सदरमुकाममा रहेको टुँडिखेल पनि जीर्ण बनेकाले ठूलो प्रतियोगिता आयोजना गर्न समस्या देखिएको छ । बजारबाट १२ किलोमिटर पूर्व गोदकको राजदुवालीमा स्टेडियम निर्माण सुरु भए पनि न्युन बजेटका कारण ठोस काम हुन सकेको छैन । मंसिर ९ देखि १७ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टिमले प्रतिखेल २५ हजार रुपैयाँ म्याच फी र खानेबस्ने सुविधा पाउँछन् । आयोजक कमिटीका अध्यक्ष मनप्रसाद आङ्वुहाङले प्रतियोगितामा इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने बताए । उपविजेताले २ लाख ५ हजार प्राप्त गर्नेछ ।

राष्ट्रिय टिमबाट डिफेन्सको भूमिकामा खेलेका सन्दकपुर–५ जमुनाका छिरिङ गुरुङ यति बेला गाउँले फुटबलको रमाइलोमा छन् । गाउँमा नै आयोजित प्रतियोगितामा उनी जमुनाको टिमबाट भिडेका देखिन्थे । आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याउन सफल उनी आसपासका क्षेत्रमा हुने प्रतियोगितामा पनि पुग्छन् ।

उनीजस्तै यसअघि राष्ट्रिय टिममा अनुभव साटेका तथा ए डिभिजनमा आबद्ध खेलाडी पनि गाउँको प्रतियोगितामा सहभागी हुने गरेका छन् । लामो समयसम्म कोभिड मारमा परेको फुटबलले यतिबेला हरेकजसो गाउँमा उत्साह थपिरहेको छ । दसैं, तिहार र त्यसपछि पनि गाउँमा आर्कषक पुरस्कार राशिका साथ प्रतियोगिता भइरहेका छन् । अधिकांश प्रतियोगितामा विजेताले ५० हजारभन्दा धेरै पुरस्कार प्राप्त गर्ने भएपछि राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीसमेत आउने गरेका छन् । जसका कारण प्रतियोगितामा रौनक थपिने गरेको छ ।

खेलमैदानको विकास भएसँगै एन्फा मान्यताप्राप्त रेफ्री ल्याएर प्रतियोगिता सञ्चालन गरिने हुँदा स्तर पनि बढ्दै गएको छ । हरेक जसो वडामा इलेभेन इ साइडका खेल मैदान निर्माण हुनेक्रममा छन् । जमुनामा खेल मैदान निर्माणका लागि समाजसेवी तोयानाथ भट्टराईले आमाबुवा गजाधर र धनमायाको नाममा १४ रोपनी जग्गा निःशुल्क दिएपछि रंगशाला बनाउने परिकल्पनामा मैदान निर्माण भइरहेको छ । जिल्लामा पर्यटकीय गतिविधि बढेसँगै फुटबललाई पर्यटनसँग जोडेर हेर्ने गरिएको छ । स्थानीय तहहरूले पनि कार्यक्रम नै राखेर खेलकुदका गतिविधिलाई प्राथमिकता दिएपछि प्रतियोगिता आयोजना हुनेक्रम बढेको हो । परम्परागत शैली छोड्दै आधुनिक फुटबल खेलाउने अभ्यास बढेकाले पनि यस्ता प्रतियोगताप्रति आकर्षण बढेको बताउँछन् माइजोगमाई–६ प्याङका पुराना खेलाडी केशव थेवे ।

तिहारको अवसर पारेर नगरपालिका–४ को जस्बिरे, फाकफोकथुम गाउँपालिका–३ आमचोक, फाकफोकथुमकै वडा नं. ७ दोकानडाँडालगायतमा पनि फुटबल प्रतियोगिता भए । दसैंको अवसरमा इलाम नगरपालिका–५ विब्ल्याँटेमा प्रतियोगिता भएको थियो । फाकफोकथुम गाउँपालिकाले मात्र स्तरीय खेलकुद प्रतियोगिताका लागि यो वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

राष्ट्रपति रनिङ सिल्डमा ३ लाख र विद्यालयस्तरीय खेलकुदका लागि ५ लाख बजेट विनियोजन भएको छ । ‘व्यवस्थित प्रतियोगिता आयोजनाले व्यावसायिक खेलकुदको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले खेल क्षेत्रमा लगानी गरिएको हो,’ प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले भने । हरेकजसो पालिकाले मैदान निर्माण, प्रतियोगिता आयोजना र विद्यालय खेलकुदका लागि बजेट राख्नेक्रम बढेको छ ।

प्रकाशित : मंसिर ३, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?