कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘ब्याटले बोल्छ’

विनोद पाण्डे

काठमाडौं — नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संकटका सारथि बनेका छन्, आरिफ शेख । प्रायः खेलमा नेपालको माथिल्लो ब्याटिङ धराशायी हुन्छ अनि मध्यक्रममा आएर आरिफले संकटमोचनको भूमिका निभाउँछन् । यस्ता केही खेलमा आरिफको आडमा नेपाल विजयी हुन्छ भने केहीमा आफैंले तानेको इनिङ्समा उनी फिनिसिङ गर्न चुक्छन् ।

‘ब्याटले बोल्छ’

यूएईविरुद्ध बुधबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियको दृश्य पनि यसअघिको जस्तै रह्यो । अर्थात मध्यम स्कोर पछ्याउने क्रममा नेपालको माथिल्लोक्रमको ब्याटिङ धर्मराइसकेको थियो । १ सय ९२ रनको लक्ष्यतर्फ अगाडि बढेको नेपालले १८ ओभरभित्र ५४ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । २५ ओभरमा दीपेन्द्रसिंह ऐरी (१५) आउट भएपछि नेपाल ८९–५ को अवस्थामा पुगेको थियो ।

यहींबाट आरिफले आफ्नो पहिचानअनुरुप इनिङ्स खेल्दै गुलशन झासँग मिलेर नेपाललाई ३ विकेटले विजयी बनाए । गुलशनले म्याच विजयी ३७ रन बनाएर आउट भए पनि आरिफ ३३ रन बनाएर अविजित रहे । सोमपाल कामीले ४८ औं ओभरमा विजयी चौका प्रहार गरेपछिको दृश्य भने अलि फरक थियो । आरिफले पेभेलियनतर्फ हेर्दै एक हातको ग्लोभ्स फुकालेर ब्याटमा मुक्का बजाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो सेलिब्रेसनलाई ‘ब्याटले बोल्छ’ का रूपमा चित्रित गरिन्छ ।

अगस्ट–सेप्टेम्बरमा केन्या भ्रमणमा गएदेखि नेपाली टोलीभित्रका खटपटको घटनासँग जोडेर आरिफको सेलिब्रेसनलाई हेरिएको छ । आरिफ, उनका भाइ आसिफ शेखसहित केही अरू खेलाडीको प्रशिक्षक मनोज प्रभाकरसँग भनाभन भएको नेपाली टोलीभित्रको स्रोत बताउँछ । दुवै पक्ष एकअर्का नेपाली टोलीमा भए आफूलाई असहज हुने स्थितिमा पुगिसकेको बताइरहेका थिए ।

नैरोबीमा नेपालले केन्यासँग ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र ३ एकदिवसीय खेलेको थियो । सन् २०२२ को सत्रमा आरिफले चार अर्धशतक बनाएका छन्, त्यसमा दुई अविजित इनिङ्स छ । एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा एकरुपको प्रदर्शन गर्दै आएका आरिफलाई केन्यासँगको तीनवटै एकदिवसीयमा खेलाइएन । यद्यपि नेपालले शृंखला ‘क्लिन स्विप’ गरेको थियो ।

यूएईसँगको अहिले शृंखलामा आरिफबिनाको नेपाल पहिलो खेलमा ८४ रनले पराजित भयो । प्रशिक्षक प्रभाकरले आरिफको आवश्यकता महसुस गरेनन् । यूएईसँगको खेलमा खेलेका ५ ब्याटर यस्ता थिए, जो ओपनिङ भूमिकामा खेल्दै आएका थिए । तर मध्यक्रमका खम्बा आरिफले यूएईसँगको खेलमा पनि मौका पाएनन् । पछिल्लो समय उपयोगी प्रर्दशन गर्दै आएका मोहम्मद आदिल आलमलाई पनि यूएईसँगको पहिलो दुई खेलमा प्लेयिङ ११ मा राखिएको छैन । केन्यादेखिको शृंखलाबद्ध घटनाक्रममा प्रशिक्षकसँग केही खेलाडीको मनमुटावमा आदिल पनि जोडिएको देखिन्छन् ।

धेरै खेलाडी असहज परिस्थितिमा आक्रोश पोख्छन् । आरिफको भने ब्याट बोलेको थियो । आरिफले भने आफ्नो सेलिब्रेसनसँग अरू कुनै सम्बन्ध नभएको जनाउँछन् । उनले भने, ‘म जहिले पनि मेरो ब्याटसँग कुराकानी गरिरहेको हुन्छु । आफैंसँग कुरा गरिरहने यो एउटा माध्यम हो । अघिल्लो खेलमा टिममा नराखिएकामा मलाई दुखेसो छैन । कप्तान, प्रशिक्षक र व्यवस्थापनको टिम संयोजन मिलाउने एउटा भूमिका हुन्छ । म खाली आफ्नो पालो पर्खिरहेको थिएँ ।’

५–६ नम्बरमा ब्याटिङ गर्ने आरिफले सातौं नम्बरमा ब्याटिङ गर्दै नेपाललाई शृंखलामा जीवित राखेका थिए । ‘ब्याटिङक्रम मात्र अलिक परिवर्तन थियो मेरो, भूमिका परिवर्तन थिएन,’ अघिल्लो खेलमा नखेले पनि कुनै दबाब नरहेको जनाउँदै आरिफले भने, ‘मैले लामो समयदेखि नेपाली टोलीबाट खेल्दै आएको छु, हामीले हरेक दिन प्रमाणित गर्नुपर्ने हुन्छ । तर दबाबचाहिँ थिएन ।’

प्रकाशित : मंसिर १, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?