विश्वकपले ईपीएल ६ साता विश्राम- खेलकुद - कान्तिपुर समाचार

विश्वकपले ईपीएल ६ साता विश्राम

द गार्डियन

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) ले अहिलेसम्म कहिल्यै नभएको ६ साताको विश्राम लिँदै छ । कारण हो, कतारमा हुने विश्वकप । यो सप्ताहन्तका खेल सबै सकिएका छन् । अब फेरि डिसेम्बर २६ देखि मात्र खेल सुरु हुनेछ । विश्वकप आफैं नोभेम्बर २० मा सुरु भएर डिसेम्बर १८ मा सकिनेछ । यस्तोमा प्रश्न हो, विश्वकप विश्रामअघि ईपीएलको वास्तविक स्थिति कस्तो छ त ? यो प्रश्न किन महत्त्वपूर्ण छ भने यो लिग नै त्यस्तो प्रतियोगिता हो, जसबाट सबैभन्दा बढी खेलाडीले विश्वकप खेल्नेछन् ।

आर्सनल लिगको शीर्षस्थानमा छ । टोलीलाई दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीमाथि ५ अंकको अग्रता प्राप्त छ । सन् २००७–०८ को सिजनयता आर्सनल क्रिसमसअघि लिग तालिकाको शीर्षस्थानमा रहेको पहिलोपल्ट हो । आर्सनलको १४ खेलबाट ३७ अंक छ । उसले आफ्नो इतिहासकै सबैभन्दा राम्रो सुरुआत पाएको छ । महत्त्वपूर्ण तथ्य के छ भने सुरुआती १४ खेलमध्ये १२ मा विजयी रहने सबै टिमले अहिलेसम्म अन्त्यमा लिग जितेको छ ।

त्यतिमात्र होइन, पछिल्लो १३ सिजनमा क्रिसमसका बेला शीर्ष रहने टिममध्ये १० ले अन्ततः लिग उपाधि पनि जितेको छ । यसले आर्सनललाई उत्साहित बनाउने नै छ । तर निराश हुनुपर्ने तथ्य पनि छ । डिसेम्बर २५ मा शीर्षस्थानमा रहेर आर्सनल पाँचपल्ट लिग अन्त्यमा विजेता नरहेको इतिहास छ । न्युकासल युनाइटेड भने तेस्रो स्थानमा छ र यो टोलीका लागि एक प्रकारले अनेक्षित हो । न्युकासल आर्सनलभन्दा ७ अंकले पछाडि छ ।

सन् २००१–०२ यता पहिलोपल्ट न्युकासल यो स्थितिमा पुगेको हो । टोटेनहम थप एक अंक पछाडि छ न्युकासलभन्दा । यसरी लिगको शीर्ष चारको स्थिति छ भने त्यस पछाडि म्यानचेस्टर युनाइटेड र लिभरपुल छन् । म्यानेस्टर लयमा फर्कन प्रयासमा छ भने लिभरपुलको प्रदर्शन कहिले राम्रो त कहिले खराब भइरहेको छ । चेल्सीले लिगका पछिल्ला ५ खेलमध्ये कुनैमा पनि जित निकाल्न सकेको छैन । टोली आठौं स्थानमा छ । यो चेल्सीका लागि निकै गाह्रो समय छ ।

वास्तवमै निकै रमाइलो स्थिति के छ भने चेल्सी पछाडिका सबै टिमले आफूलाई रेलिगेसन दबाब महसुस गर्नेछ । अझ भनौं, रेलिगेसन क्षेत्रमै छन् । नवौंमा रहेको फुलहम र १८ औं स्थानमा रहेको नटिङ्घम फरेस्टबीच जम्माजम्मी ६ अंकको मात्र भिन्नता छ । उल्भस सबैभन्दा पछाडि छ, सुरक्षात्मक स्थितिबाट ४ अंक पछाडि । त्यसैले सायद भन्न सकिन्छ, यस सिजन रेलिगेसन पर्ने कुनै टिम पहिलो हुनेछ भने त्यो उल्भस नै हुनेछ, अरू होइन ।

विश्वकप सुरु हुन ठ्याक्कै अगाडि दुई टिमले व्यवस्थापक फेरेका छन् । उल्भसका स्टिभ डेविसको स्थानमा जुलेन लोपेटेगुइ आएका छन् भने साउथह्याम्पटनले नयाँ प्रशिक्षक पाएको छ नथान जोन्सका रूपमा । साउथह्याम्पटन पुछारबाट दोस्रोमा छ । सट्टेबाजका लागि अब बर्खास्त हुने प्रशिक्षकका रूपमा मानिएका छन् एभरटनका फ्रान्क लाम्पार्ड । रेलिगेसन क्षेत्रबाट एक अंक माथि रहेको एभरटनले पछिल्लो ३ खेलमा हार बेहोरेको छ ।

डिफेन्डिङ च्याम्पियन सिटीका १६ खेलाडीले विश्वकप खेल्नेछन् । यो कुनै पनि क्लबका लागि कीर्तिमान हो । ब्रेन्टफोर्डविरुद्ध हालै पराजित खेलमा १६ मध्ये १० खेलाडीले सुरुदेखि खेले । त्यसमध्ये एक खेलाडीले विश्वकप खेल्ने छैनन् । उनी हुन् नर्वेका इर्लिङ हल्यान्ड । नर्वे छनोट नै हुन सकेनन् । म्यानचेस्टर युनाइटेडका १५ खेलाडी कतार जानेछन् । चेल्सीका १२, टोटेनहमका ११ र आर्सनलका १० । अचम्मले न्युकासलका ५ र लिभरपुलका ५ खेलाडीमात्र कतार जानेछन् ।

हुनसक्छ, विश्वकपले लिभरपुललाई धेरै फाइदा गराउन सक्छ । किनभने विश्वकपपछि फेरि लिग सुरु हुँदा उसको टिममा थाकेका खेलाडी धेरै हुने छैनन् । मोहम्मद सलाहको इजिप्ट नै छनोट भएको छैन, त्यसैले उनले यो विश्राममा राम्रै आराम पाउने छन् । साउथ

ह्याम्पटन र बर्नमाउथबाट समान दुई तथा लिड्सबाट तीन खेलाडीले मात्र विश्वकप खेल्नेछन् । यस्तोमा यी टिमले पनि विश्वकपपछि राम्रो प्रदर्शन गर्न सक्नेछन् ।

प्रकाशित : कार्तिक २९, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

अन्ततः स्टोक्सले पाए मुक्ति

पाकिस्तानलाई पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन
द गार्डियन

मेलबर्न — मौसमको भविष्यवाणी पूर्णतः गलत रह्यो । इंग्ल्यान्डका लागि भने सबथोक ठीकठाक रह्यो । आखिरमा पानीले खेल बिथोल्न सकेन र जस बटलरको टिम मेलबर्नमा बन्यो, नयाँ ट्वान्टी–२० विश्वकप च्याम्पियन । खेलका खास नायक भने बेन स्टोक्स रहे । उनको बानी नै छ, ठूलो महत्त्वको खेलमा ठूलै खेल्ने । उनकै निर्णायक इनिङ्सको मद्दतले इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो र दोस्रोपल्ट ट्वान्टी–२० विश्व च्याम्पियन बन्यो ।

इंग्ल्यान्डले पछिल्लोपटक सन् २०१६ मा यस विश्वकपको फाइनल खेलेको थियो । त्यसमा स्टोक्सकै अन्तिम ओभरमा इंग्ल्यान्ड पराजित रह्यो । निकै महँगो ओभर थियो, त्यो । उनी खलनायक सावित भए । उनी आफैं स्तब्ध भएका थिए । त्यसको ६ वर्षपछि उनैले इंग्ल्यान्डलाई उपाधि दिलाएका छन्, त्यो पनि एक ओभरको खेल बाँकी छँदै । इंग्लिस टेस्ट टिमका कप्तान आफैंमा नाटकबाज हुन्, उनले आफ्नो पहिलो ट्वान्टी–२० अर्धशतकका लागि ठूलै अवसर खोजे । पाकिस्तानले सुरुमा कमजोर ब्याटिङ गरेको थियो ।

पछि इंग्ल्यान्डले ब्याटिङ गर्दा सुरुमै केही विकेट लिए । त्यसैले खेल तनावपूर्ण अन्त्यतिर अग्रसर देखिएको थियो । तर पाकिस्तानको जितको सम्भावना यसरी एकाएक गायब भयो कि कसैले चालै पाएनन् । कुनै–कुनै खेलमा कति बेला निर्णायक मोड आयो भनेर भन्नै गाह्रो छ । तर फाइनल यस्तो थिएन । अपेक्षाभन्दा कम १ सय ३७ रनमै समेटिएपछि पाकिस्तानका लागि नसिम शाहले फास्ट बलिङको राम्रो नमुना पेस गरे तर पुरस्कार भने पाएनन् ।

खेलको १३ औं ओभरको मध्य भागमा ह्यारी ब्रोकले लङ–अफतिर बल माथि उठाएर प्रहार गरे । त्यसमा साहिद अफ्रिदीले मीठो क्याच लिए । तर खुसीयाली मनाउनुको स्थानमा २२ वर्षीय अफ्रिदीले आफू चोट बोकेको संकेत गरे र सहयोग मागे । खुट्टा खुम्च्याउँदै उनले मैदान छाडे । तर आश्चर्यजनक रूपमा फेरि एक ओभर बलिङ गर्न मैदानमा फर्के । उनी एकै बल मात्र टिक्न सके । त्यसपछि उनले फेरि मैदान छाडे र फर्नेनन् । त्यो ओभर सकाउने जिम्मेवारी इफ्टिखर अहमदले पाए ।

स्टोक्स यही मौका त कुरिरहेका थिए । उनले त्यसमा एक चौका र एक छक्का प्रहार गरे । मोहम्मद वासिमको अर्को ओभरमा मोइन अलिले सुरुमै दुई चौका प्रहार गरे । इंग्ल्यान्डले चार बलमा १८ रन बटुलेको थियो र खेल एकाएक पूर्णतः इंग्ल्यान्डको पक्षमा मोडियो । अली सात रन चाहिएको बेला आउट भए, १९ जबरदस्त रन बनाए । तर स्टोक्स मैदानमा डटिरहे । उनले ५२ रन बनाई अविजित पनि रहे । अनि १९ औं ओभरमा अन्तिम बलमा विजयी रन बनाए ।

पूरा इनिङ्सका क्रममा स्टोक्स शान्त र संयमित रहे । तर बलिङमा उनको सुरुआत कहाँ राम्रो थियो र ? उनको पहिलो बल नो–बल थियो अनि लगत्तै वाइड फ्याले । लगत्तै क्रिस वक्सले पनि वाइडसँगै आफ्नो ओभर सुरु गरे । त्यति बेला लागिरहेको थियो, ठूलो अवसरको दबाबले उनीहरू पिसिएका छन् । तर बलबाटै आदिल रसिद र साम करन भने सटीक रहे । विशेषतः करनको बलिङ खुबै धारिलो रह्यो । उनका चार ओभरमा दुई अन्त्यमा थिए ।

यसबीच उनले जम्माजम्मी १२ रन खर्चे र तीन विकेट लिए । रसिदले भने २२ रनमा दुई विकेट लिए । त्यसमध्ये १२ औं ओभरमा उनले एक विकेट मात्र लिएनन्, त्यो मेडन पनि रह्यो, त्यो पनि विश्वकप फाइनलमा । पाकिस्तानी इनिङ्समा खालि एक ओभर उल्लेखनीय रह्यो । लियाम लिभिङस्टोनको एक मात्र ओभरमा सन मसुदले आक्रामक भएर रन बटुले । त्यसबाहेक पाकिस्तानको बलिङ आफैंमा सटीक हुन सकेन, जति अपेक्षा गरिएको थियो ।

पाकिस्तानलाई कोही न कोही बलरमाथि आक्रामक गर्नु नै थियो, त्यही दबाबमा उसले लगातार विकेट पनि गुमाएको थियो । फेरि इंग्ल्यान्डको ब्याटिङ क्रम कति बलियो थियो भने त्यस अगाडि पाकिस्तानको त्यो स्कोर चुनौतीको पहाड सावित भएन । पाकिस्तानको त्यो स्कोर रक्षा गर्नका लागि पाकिस्तानसँग योभन्दा अझ उम्दा बलिङ आक्रामक चाहिन्थ्यो । अन्त्यमा इंग्ल्यान्ड जित मात्र होइन, उपाधिकै हकदार देखियो । अनि यससँगै स्टोक्सले मुक्ति पनि पाएका छन् ।

प्रकाशित : कार्तिक २८, २०७९ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×