नेपालगन्ज म्याराथन रुटको प्रशंसा

कान्तिपुर संवाददाता

काठमाडौँ — एसोसियसन अफ इन्टरनेसल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले आधिकारिक मान्यता दिएयता पहिलोपल्ट नेपालगन्ज म्याराथन मंसिर २४ मा हुने भएको छ । हरेक वर्षको मंसिर महिनाको पहिलो शनिबार हुने दौड यसपल्ट चुनावका कारण तीन साता पछाडि सारिएको हो ।

नेपालगन्ज म्याराथन रुटको प्रशंसा

एम्सले आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गरेपछि दौड आधिकारिक र प्रतिष्ठित भएको हो । एम्स प्रतिनिधिले नेपालका तीन म्याराथन रुट काठमाडौं, पोखरा र नेपालगन्जलाई आधिकारिकता प्रदान गरेको थियो । एम्सको वार्षिक क्यालेन्डरमै स्थान पाउने नेपालगन्ज म्याराथन नेपालको पहिलो र एकमात्र हो ।

प्रतियोगिताबारे शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व विजेताले दौडको रुटबारे प्रशंसा पनि गरे । छैटौं संस्करणका म्याराथन विजेता गोपीचन्द्र पार्कीले नेपालमा सबैभन्दा सजिलो रुटका रूपमा आफूले नेपालगन्ज म्याराथन पाएको बताए । यस्तै गत संस्करण हाफ म्याराथन जितेकी सन्तोषी श्रेष्ठले पनि प्रदर्शन सुधार्न नेपालगन्जको रुट उत्कृष्ट रहेको बताइन् । गोपी र सन्तोषी दुवैले १३ औं सागमा मध्यम दुरीमा स्वर्ण पदक जितेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अभिनेता राजेश हमालले नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यलाई एम्सको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

गत वर्ष म्याराथनमा सहभागी हमालले नेपालगन्ज म्याराथनलाई नगरवासीले अपनत्वबोध गरेको आफ्नो अनुभव रहेको बताए । उनले यस्ता प्रतियोगितालाई सहर र देशको अन्तर्राष्ट्रिय स्तरमा चिनारी दिने माध्यमका रूपमा लिनुपर्ने बताए ।

नेपालगन्ज उपमहानगरका मेयर विष्टले नेपालगन्ज उपमहानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताएका थिए । कोहलपुर नगरपालिकाका मेयर आचार्यले म्याराथनलाई स्थानीय सरकारबाट गर्नसक्ने सहयोगका लागि आफूहरू तयार रहेको प्रतिबद्धता जनाए ।

नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपालगन्ज म्याराथन सफल पार्न सबैको साथ आवश्यक रहेको बताउँदै आयोजकको हैसियतमा गर्नुपर्ने कार्यका लागि सधैं तत्पर रहने प्रतिवद्धता जनाए ।

उनले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुग्नु सबै खेलकर्मीका लागि खुसीको पक्ष भएको बताए ।

यस वर्ष हुने नेपालगन्ज म्याराथनमा ४२.१९५ किमि, २१ किमि, १० किमि र ५ किमि गरी चार रेसलाई एम्सले प्रमाणीकरण गरेको हो ।

गत वर्ष झैं यसपालि पनि विभिन्न ११ विधामा प्रतिस्पर्धा हुने र कर्पोरेटतर्फ महिलाको विधा थप गरिएको आयोजक क्रिएटिभ ह्यान्डसले जनाएको छ ।

प्रकाशित : कार्तिक २५, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?