१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कतारलाई विश्वकप दिनु भुल : ब्लाटर

एपी

लन्डन — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटरले आसन्न विश्वकप २०२२ को आयोजना अधिकार कतारलाई दिनु भुल भएको मंगलबार बताएका छन् ।सन् २०१० मा कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा ब्लाटर फिफाका अध्यक्ष थिए । समलिंगी सम्बन्ध, मानव अधिकार र आप्रवासी कामदारप्रतिको दृष्टिकोणलाई लिएर खाडी देश कतारको चर्को आलोचना हुँदै आएको छ । 

कतारलाई विश्वकप दिनु भुल : ब्लाटर

अहिले ८६ वर्षका ब्लाटरले स्विस पत्रिका टागेस एनजेगरलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘कतार निकै सानो देश हो, फुटबल र विश्वकप योभन्दा निकै ठूलो छ ।’ विश्वकपको ९२ वर्ष लामो इतिहासमा यो प्रतियोगिताको आयोजना गर्ने कतार पहिलो मध्यपूर्वको देश हो । यस्तै विश्वकप पहिलोपल्ट नोभेम्बर–डिसेम्बर महिनामा हुँदै छ ।

फिफाको कार्यकारी कमिटीमा भएको मतदान कतारको पक्षमा १४–८ रहेको थियो । कतारले १२ वर्षअगाडिको त्यस मतदानमा अमेरिकालाई पछाडि पारेको थियो ।

त्यही बेला सन् २०१८ को विश्वकप रुसमा गर्ने निर्णय पनि भएको थियो । आफूले अमेरिकाको पक्षमा मतदान गरेको दाबी गर्दै ब्लाटरले कतार विजयी रहनु पछाडि युरोपेली फुटबल महासंघका तत्कालीन अध्यक्ष मिचेल प्लाटिनी जिम्मेवार रहेको आरोप पनि लगाए ।

ब्लाटरले भनेका छन्, ‘यो निकै खराब निर्णय थियो र तत्कालीन अध्यक्षको आधारमा म यसको जिम्मेवारी भने लिन्छु । अमेरिकाको स्थानमा कतारमा विश्वकप आयोजनाको अधिकार जानु पछाडि प्लाटिनी र उनको टिमको भूमिका थियो । यो सत्य हो ।’ ब्लाटरका अनुसार यही कारणले सन् २०१२ मा फिफाले विश्वकप आयोजक देशको छनोटका लागि फरक मापदण्ड बनाएको थियो ।

कतारमा विश्वकप आयोजनाका लागि निर्माण गरिएका रंगशालामा काम गरेका विदेशी कामदारप्रतिको व्यवहारलाई लिएर चारैतर्फबाट प्रश्न उठेपछि फिफाले यस्तो निर्णय गरेको थियो । ब्लाटरले थपेका छन्, ‘त्यसपछि सामाजिक उत्तरदायित्व र मानवअधिकारको मापदण्ड पनि आवश्यक मानिए ।’ ब्लाटरले १७ वर्ष फिफा अध्यक्षका रूपमा बिताएका थिए ।

सन् २०१५ मा भने आर्थिक अनियमितताको आरोप लागेपछि उनी पद छाड्न बाध्य भए । उनले प्लाटिनीलाई २१ लाख ९० हजार डलर बराबरको रकम प्रदान गर्न सहयोग गरेको आरोप लागेको थियो । यही मुद्दामा प्लाटिनीले पनि फिफाको पदबाट राजीनामा दिएका थिए । यसै काण्डमा ब्लाटरलाई ८ वर्षको प्रतिबन्ध लगाइएकामा पछि त्यसलाई ६ वर्षमा झारिएको थियो ।

प्रकाशित : कार्तिक २३, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?