नाटकीय ‘टाइ’ ले मधेस सेमिफाइनलमा

पुलिस र मधेसबीचको अन्तिम लिग खेलले समूह विजेता छान्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — हारले मधेस प्रदेश प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिने सक्थ्यो । मधेस र वाग्मती प्रदेशबीच खेलको अन्तिम ओभरहरू निकै रोचक स्थितिमा पुगेको थियो । यो स्थितिमा मधेसले उत्कृष्ट पुनरागमन गर्दै ‘टाइ’ नतिजासाथ सेमिफाइनल पुगेको छ ।

नाटकीय ‘टाइ’ ले मधेस सेमिफाइनलमा

टस जितेको मधेसले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९० रन जोडेर अलआउट हुनुअघि ४६.२ ओभर खेलेको थियो । अघिल्लो दुई खेल जिते पनि मधेसले समूह चरण पार गर्ने पूर्ण स्थिति बनिसकेको थिएन । मंगलबार समूह चरणको अन्तिम खेलमा बलियो मानिएको नेपाल पुलिस क्लबविरुद्ध खेल्नुपर्ने पृष्ठभूमिमा वाग्मतीविरुद्धको खेल मधेसका लागि निकै महत्त्वपूर्ण थियो ।

मधेसले सूर्य तामाङ र रिजन ढकाललाई २ रनको अन्तरमा आउट गरेपछि जवाफमा आएको वाग्मती ४९.२ ओभरमा १ सय ९० रनमा अलआउट हुन पुग्यो । प्रदीप पासवानलाई सूर्यले ४८ ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दा वाग्मतीलाई विजयनिम्ति ३ रन आवश्यक थियो । चौथो बलमा सूर्यले क्याच थमाउन पुगे । वाग्मतीले ४९ औं ओभरमा २ रन जोडेको थियो । तर ५० औं ओभरको दोस्रो बलमा रिजनलाई एलबीडब्लू आउट गरी राजेश यादवले खेललाई ‘टाइ’ बनाए ।

मधेस प्रदेश पहिलो पटक प्रादेशिक ढाँचामा प्रतियोगिताको सेमिफाइनल पुगेको हो । २०७७ मा प्रधानमन्त्री कपको पछिल्लो एकदिवसीय संस्करणमा मधेसले सबै चार खेलमा हार बेहोरेको थियो । पहिलो तीन खेल हारिसकेकाले वाग्मतीलाई यस खेलको जित–हारले सेमिफाइनल समीकरणका लागि कुनै अर्थ राख्दैनथ्यो । तर ‘टाइ’ मार्फत आएको १ अंकले मधेसलाई सेमिफाइनल पुर्‍याएको हो ।

मधेसको ५ अंक पुगेको छ । लुम्बिनी ४ अंकसहित सेमिफाइनल दौडमा कायम थियो । तर नाटकीय ‘टाइ’ खेलले लुम्बिनी औपचारिक रूपमै प्रतियोगिताबाट बाहिरिएको छ । पुलिस यसअघि नै तीन खेल जितेर सेमिफाइनल पुगिसकेको थियो । पुलिस र मधेसबीचको खेलले समूह विजेता छान्नेछ ।

मधेसबाट ओपनरद्वय सन्तोष कार्की २३ र कप्तान हरिशंकर शाह १३ रनमा आउट भए । रोहन बिकले सर्वाधिक ६३ रन बनाए । ९४ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । अनिल शाह १०, विशाल सुस्लिङ ११, विवेक यादव ७, मोहम्मद आदिल अलाम ६, दब्लु मलिक ४ र रुपेश सिंह २ रन बनाउन सफल भए । प्लेयर अफ द म्याच राजेशले २१ बल खेल्दै २ चौकासहित १६ रन बनाए । वाग्मतीका नन्दन यादव र सूर्यले ३–३ तथा रामनरेश गिरीले २ विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै २७ र सूर्यले १० ओभरमा १ मेडन राख्दै २० रन खर्चे ।

इशान पाण्डे र रित गौतमले १४ ओभरमा ६५ रन जोडेर वाग्मतीलाई राम्रो सुरुआत दिलाए । इशानले ३४ बल खेल्दै ३ चौकासहित ३१ रन बनाए । विकेटकिपर दुर्गेश थापा घाइते भएपछि मधेसको ब्याटिङमा रितले ग्लोभ्स समातेका थिए । तर लेगसाइडमा गएको बल नियन्त्रण गर्दा रित पनि घाइते हुन पुगे । मैदानमा प्राथमिक उपचारपछि अस्पताल पुगेर ओठमा दुई टाँका लगाएर उनी ओपनिङमा ब्याटिङ गर्न आए । उनले ८३ बल खेली ४ चौकासहित ३२ रन बनाए ।

पृथु बाँस्कोटाले वाग्मतीबाट सर्वाधिक ४० रन बनाए । उनले ५२ बलमा २ चौका र १ छक्का प्रहार गरे । विवेक रानामगरले ५१ बलमा २५ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल २, दुर्गेश शून्य, नन्दन ३, प्रतिश ८ रनमा आउट भए । सूर्यले ३२ बल खेली २ चौका र १ छक्कासहित २८ रन बनाए । मधेसका राजेश र प्रदीप पासवानले ३–३ विकेट लिए । राजेशले ६.३ ओभरमा २२ र प्रदीपले ९ ओभरमा ३४ रन खर्चे । रुपेश सिंहले २ र हरिशंकरले १ विकेट लिए ।

सुदूरको पहिलो जित

सुदूरपश्चिमले पहिलो जितका साथ प्रतियोगिता टुंग्याएको छ । मूलपानी क्रिकेट मैदानमा सुदूरले कर्णालीलाई ५ विकेटले पराजित गर्‍यो । कप्तान राजु रिजाल र शेर मल्लले अविजित ५५ रनको साझेदारी गरी सुदूरपश्चिमलाई विजय दिलाए । ३० औं ओभरमा शेरले दीपेन्द्र रावतलाई दुई छक्का र एक चौका प्रहार गरेपछि सुदूरपश्चिमले विजयी रन जोडेको थियो ।

शेर ३३ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ३४ तथा राजु २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २४ रनमा अविजित रहे । गजेन्द्र बोहराले ५१ बलमा ५ चौका र १ छक्कासहित ४१ रन जोडे । वीरेन्द्र नाथ र दीपक टमाटा समान ९ तथा वसन्त खत्री ६ रनमा आउट भए । कर्णालीका कप्तान रवीन्द्र शाहीले १० ओभरमा १ मेडन राख्दै ५९ रन खर्चेर ३ र दीवान पुनले २ विकेट लिए ।

अर्जुन घर्तीले ७० रन बनाए पनि पहिला ब्याटिङ गरेको कर्णाली ३८.१ ओभरमा १ सय ५० रनमा अलआउट भयो । हिमांशु शाहीले १२ र सुवास ऐरले २२ बलमा ५ चौकासहित २४ रन बनाए । नारायण जोशी ४ विकेट लिँदै प्लेयर अफ द म्याच बने । उनले ५.१ ओभरमा १६ रन खर्चे । हेमन्त धामीले ३, गजेन्द्र बोहराले २ र मिलन बोहराले १ विकेट लिए ।

आजका खेल

  • मधेसविरुद्ध पुलिस, कीर्तिपुर
  • आर्मीविरुद्ध कर्णाली, मूलपानी

प्रकाशित : कार्तिक २२, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?