पीएम कप : अंकितको शतकमा प्रदेश १ को जित- खेलकुद - कान्तिपुर समाचार

पीएम कप : अंकितको शतकमा प्रदेश १ को जित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रारम्भिक ब्याटर अंकित सुवेदीको उत्कृष्ट शतकको मद्दतले प्रदेश १ ले पीएम कप वान डे क्रिकेटको समूह ‘बी’मा वाग्मतीलाई ६९ रनले हराएको छ । प्रदेश १ को यो पहिलो जित हो भने वाग्मतीले लगातार दोस्रो खेल गुमाएको छ ।

अंकितको १ सय १० रनको मद्दतले प्रदेश १ ले पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा ३ सय ४ रन बनाएको थियो । त्यसमा कप्तान सिद्धान्त लोहनीले ४० बलमा ७२ रनको योगदान दिए । वाग्मतीका लागि रामनरेश गिरीले ४२ बलमा ५ विकेट लिए । जितका लागि ३ सय ५ रनको विशाल लक्ष्य पाएको वाग्मतीले ४५.५ ओभरमा अलआउट हुन अगाडि २ सय ३५ रनमात्र बनाउन सक्यो । नन्दन यादवले बनाएको ४३ रन नै वाग्मतीका लागि उच्च व्यक्तिगत स्कोर रह्यो ।

समूह ‘ए’मा पुलिस २ खेलमा २ जितसहित ४ अंकमा शीर्ष स्थानमा छ भने त्यसपछि प्रदेश १ को दुई अंक भएको छ । वाग्मती भने अंकविहीन स्थितिमा छ ।

प्रकाशित : कार्तिक १५, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

तीन जनाको मृत्यु हुने गरी ठक्कर दिने कारसहित चालक पक्राउ

माधव ढुंगाना

भैरहवा — एकैघरका तीन जनाको मृत्यु हुने गरी ठक्कर दिएका कार चालकलाई रुपन्देही प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । छठ पूजाका लागि नदी किनारतर्फ जाँदै गरेका पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालक रुपन्देही रोहिणी गाउँपालिका–३ धकधईका २३ वर्षीय अजयकुमार चौधरी र घटनामा प्रयोग भएको कारलाई प्रहरीले सिद्धार्थनगर नरपालिका पिपरैया भन्ने स्थानबाट पक्राउ गरेको हो ।

सोमबार बिहान करिब ५ बजे रुपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीस्थित भैरहवा–लुम्बिनी सडक खण्डमा कारको ठक्करबाट ३ जनाको मृत्यु भएको थियो । दुईजना घाइते भएका थिए । घाइतेमध्ये अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले तीव्र गतिका कारण उक्त कारले स्थानीयलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । चौधरीले चलाएको बा ८ च ६५३२ नम्बरको कारले ठक्कर दिँदा दुई महिनाका बालक श्रीराम कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीय सीमा कुर्मीको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरु एकै परिवारका हुन् ।

घटनामा २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका थिए । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । बन्दनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले यात्रुलाई ठक्कर दिएको कारको अगाडिको बम्परको भागको टुक्रा, वाइपरको भाँचिएको टुक्रा र लुकिङ ग्लासको टुक्रा बरामद गरेको थियो । बरामद सामानको आधारबाट अनुसन्धान गर्दा र स्थानीयको सहयोगबाट घटनामा संलग्न कार र चालकलाई पक्राउ गर्न सफल भइएको एसपी रेग्मीले बताए । उनीविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान र सवारी ज्यान मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको रेग्मीले बताए ।

प्रकाशित : कार्तिक १५, २०७९ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×