२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पार्की दाजुभाइको उल्लास

ध्रुव तुलाधर

पोखरा — पार्की दाजुभाइलाई एकैदिन स्वर्ण जितेर खुसी साट्ने व्यग्रता थियो । नवौं राष्ट्रिय खेलकुदको अन्तिम दिन पोखरा रंगशालाको ट्रयाकमा गोपीचन्द्र र शिवराजले स्वर्ण जित्दै खुसी बाँड्दाको क्षण त्यही व्यग्रताको द्योतक थियो ।

पार्की दाजुभाइको उल्लास

बिहीबार गोपीचन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण जिते भने केहीबेरमै शिवराजले २०० मिटर दौडको स्वर्ण आफ्नो नाममा लेखाए । सुरुमै दाजुभाइ स्वर्ण जितेर खुसी साट्न चाहन्थे । तर, शिवराजले १०० मिटर दौडमा स्वर्ण जिते पनि गोपीले १० हजार मिटरको रजतमा चित्त बुझाएका थिए । दुवै एपीएफका खेलाडी हुन् ।

अन्तिम दिन गोपीको इभेन्टमा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढा कडा प्रतिस्पर्धी थिए । दुर्गाले ३ हजार मिटर स्टिपल चेजमा स्वर्ण जितिसकेका थिए । भारतीय सेनामा रहेका धावक दुर्गाका कारण आफ्नो दाइको इभेन्टप्रति शिवराज ढुक्क बन्न सकेका थिएनन् ।

गोपीले दुर्गालाई उछिन्दै स्वर्ण जितेपछि शिवराजको सपना पूरा भएको थियो । गोपीले १४ मिनेट २९.६७ सेकेन्डबाट स्वर्ण टच गर्दा दुर्गाको समय १४ मिनेट २९.९३ सेकेन्ड थियो । आठौं राष्ट्रियमा पनि गोपी र दुर्गाको प्रतिस्पर्धा थियो । उनले दुर्गालाई पछाडि पार्दै स्वर्ण जितेका थिए । यसपालि पनि त्यसै गरे । आर्मीका धावक मुकेश पालले १४ मिनेट ३६.६० सेकेन्डसाथ कांस्य जिते ।

स्वर्ण जितेपछि शिवराजले भने, ‘आज मेरोभन्दा पनि दाइको स्वर्णप्रति चिन्ता थियो । दाइले जित्दा धेरै खुसी छु ।’ ३३ वर्षीय गोपीचन्द्रले राष्ट्रिय खेलकुदको ५ हजार मिटरमा लगातार तीन स्वर्ण जितेका छन् । उनले सातौं र आठौंको सफलतालाई निरन्तर पारे । ‘हाम्रा लागि बृहत राष्ट्रिय खेलकुद ओलम्पिकसरह हो । यसमा पदक जित्नुको खुसी नै बेग्लै हुन्छ,’ गोपीचन्द्रले भने, ‘१० हजार पनि जित्छु भन्ने थियो तर सकिनँ । ५ हजारमा लगातार तेस्रो स्वर्ण जित्न सकें, यसमै खुसी छु ।’

उनको स्वर्ण जितमा प्रशिक्षक प्रमिला रिजालको खुसी पनि बेग्लै थियो । गोपीको स्वर्ण जितका लागि आफूले प्रार्थना गरिरहेको रिजालले सुनाइन् । गोपीचन्द्रले अब आफू म्याराथनमै केन्द्रित रहने बताए । भने, ‘५ हजार मिटर मेरो वेस्ट इभेन्ट हो । दौडन्न भन्दा पनि मन मान्दैन । त्यसैले दौडिहालें र बृहत राष्ट्रियमा ह्याट्रिक स्वर्ण भयो । अब भने म्याराथनमै केन्द्रित हुन्छु ।’ उनले १३ औं सागमा पनि ५ हजारमै स्वर्ण जितेका थिए ।

३० वर्षीय शिवराज नवौं राष्ट्रियमा स्प्रिन्टका नयाँ स्टार भएर निस्किए । १०० मिटर दौड र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेका उनले अन्तिम दिन एक स्वर्ण र एक रजत थपे । उनले २०० मिटर दौडमा स्वर्ण र ४ गुणा ४०० मिटर रिलेमा रजत जितेका हुन् । शिवराजले २१.९१ सेकेन्डबाट स्वर्णको दूरी तय गरे । उनका निकट रहेका एपीएफकै आशिष चौधरीले २२.०५ सेकेन्डबाट रजत जिते । आशिष प्रतियोगिताका साबिक च्याम्पियन हुन् । आर्मीका युवराज विकले कांस्य जित्न २२.५० सेकेन्ड लगाए ।

शिवराजले आफूले जितेपछि भने, ‘स्प्रिन्टमा राम्रो गर्छु भनेर मिहिनेत गरिरहेको छु । स्प्रिन्टमा इतिहास बनाउँछु । राष्ट्रियमा सफलता पाए‘ । एकदमै खुसी छु ।’ साग र एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको उनले सुनाए ।

निशाको पुनरागमन

महिला २०० मिटरको स्वर्ण लुुम्बिनीकी निशा चौधरीले जितिन् । अनुभवको कमी हुँदा १०० मिटरको स्वर्ण गुमाएकी उनले बिहीबार २५.२४ सेकेन्डबाट स्वर्ण जितेकी हुन् । प्रतियोगिता उनको यो पहिलो स्वर्ण हो । एपीएफकी रमिताकुमारी थारूले २५.९५ सेकेन्डबाट रजत जितिन् । पुलिसकी लक्ष्मी साउदले २७.५२ सेकेन्डले कांस्य जितिन् । १०० मिटरको हिट चरणमा निशाले कीर्तिमानी प्रदर्शन गरे पनि फाइनलमा ओलम्पियन सरस्वती चौधरीले स्वर्णमा कब्जा जमाएकी थिइन् ।

असारमा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमै सिनियरका कीर्तिमानसमेत उछिन्ने प्रदर्शन गरेकी निशाले आफ्नो जित प्रशिक्षक पद्मा चौधरीप्रति समर्पित गरिन् । प्रशिक्षक चौधरीले निशा एकदमै क्षमतावान र अनुशासित खेलाडी भएकाले उसको भविष्य राम्रो रहेको बताइन् । पद्मा पनि पूर्वकीर्तिमानी खेलाडी हुन् । लुम्बिनीका लागि निशाको स्वर्ण दोस्रो हो । यसअघि संगीता अधिकारीले डिस्कस थ्रोमा स्वर्ण जितेकी थिइन् ।

महिला ट्रिपलजम्पको स्वर्ण एपीएफकी शिला चौधरीले जितिन् । उनले ११.०१ मिटर जम्प गरेर स्वर्ण जितिन् । नवौं राष्ट्रियमा उनको यो पहिलो स्वर्ण हो । डेंगीबाट तंग्रिएकी निशाले आठौंमा पनि स्वर्ण जितेकी थिइन् । पुलिसकी सीमा चौधरीले रजत जितिन् । अघिल्लोपल्ट भन्दा सुधार गरेकी सीमाले १०.७६ मिटर जम्प गरिन् । आठौंमा उनको नाममा कांस्य थियो । यसपालि कांस्य जित्दा एपीएफकी रन्जिता राईले ९.९१ मिटरको प्रदर्शन गरिन् ।

पुरुष ट्रिपलजम्पमा आर्मीका डिल्ली खत्रीले स्वर्ण जितेका छन् । उनले १३.५५ मिटर जम्प गर्दै स्वर्ण जिते । उनले लङजम्पमा रजत जितेका थिए । पुलिसका चन्द्रदेव जोशी (१३.५५ मिटर) र वाग्मतीका सुदीप महतो (१३.४४ मिटर) रजत र कांस्य जित्न सफल भए ।

रिलेको रौनक

४ गुणा ४०० मिटरको रिलेमा महिला र पुरुष दुवैको स्वर्ण आर्मीले जितेको छ । महिला रिलेमा एपीएफका खेलाडीले पहिलो स्थानमा रहेर दूरी पार गरेका थिए । तर ५०० मिटर दूरीभन्दा अगाडि नै एपीएफका खेलाडीले ट्रयाक परिवर्तन गरेर दौडेकाले डिस्क्वालिफाइ घोषित गरिएपछि आर्मी स्वर्णको हकदार भएको थियो । आर्मीका लागि भाग्यशाली बनेको यो स्वर्णले जयरानीको गलामा व्यक्तिगत ५ स्वर्ण पदक झुन्ड्याएको छ । एथलेटिक्समा ५ स्वर्ण जित्ने उनी एक्ली खेलाडी हुन् ।

जयरानीले यसअघि नै १०० मिटर हर्डल्स, ४०० मिटर हर्डल्स, ४ गुणा १०० मिटर रिलेसहित लङजम्प स्वर्ण जितिसकेकी थिइन् । चार वर्षयता आर्मीबाट खेल्दै आएकी जयरानीको गलमा ४ गुणा ४०० मिटर रिलेको स्वर्ण थपियो । रिलेको उनको टिमबाट ओलम्पियन सरस्वती भट्टराई, निर्मला थापा र कलेशी चौधरीले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले ४ मिनेट ०२.७८ सेकेन्डको समय लिए ।

रजत लुम्बिनी र कांस्य वाग्मतीको भागमा परेको थियो । लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डबाट रजत जित्दा निशा थारू, सम्झना थारू, अरुणा रिजाल र रामकुमारी थारूले प्रतिस्पर्धा गरेका थिए । दुई स्वर्णधारी सन्तोषी श्रेष्ठको वाग्मतीले कांस्य जित्दा ४ मिनेट २२.७९ सेकेन्ड लियो । वाग्मतीमा सन्तोषीसहित अञ्जु खड्का, रजिना दुलाल र स्वागता खाइजु थिए । १० हजार र ५ हजारमा स्वर्ण जितेकी सागकी स्वर्णधारी सन्तोषीको खातामा कांस्य थपिएको हो ।

सोमको तेस्रो स्वर्ण

पुरुष ४०० मिटर रिलेमा आर्मीले जितेको स्वर्णले सोमबहादुर कुमालको व्यक्तिगत तीन स्वर्ण पुगेको छ । उनको टिम (रामप्रसाद थारू, जीवन चौधरी र प्रकाश दनुवार) ले ३ मिनेट १८.३६ सेकेन्डबाट स्वर्ण जितेको हो । सोमबहादुरले ४०० र ८०० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका थिए ।

एपीएफका नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपालीको टिमले ३ मिनेट २५.८२ सेकेन्डबाट रजत तथा पुलिसका विकेश घिमिरे, विश्वराम कु‘वर, राजमान नगरकोटी र टीकाराम लोप्चनको टिमले ३ मिनेट २९.३५ सेकेन्डले कांस्य जितेको थियो ।

आर्मी टिम च्याम्पियन

नवौं राष्ट्रियको एथलेटिक्समा आर्मीले १९ स्वर्ण, १३ रजत र १३ कांस्य जितेर टिम च्याम्पियनको ट्रफी उचाल्यो । आर्मी आठौंमा २१ स्वर्ण जितेको थियो । एपीएफले यसपालि दुई स्वर्ण थप्दै १० स्वर्णसहित ३० पदक जितेर दोस्रो भयो । आठौंमा एपीएफको आठ स्वर्ण थियो । पुलिसले २ स्वर्ण, ७ रजत र ६ कांस्य जित्दै तेस्रो हु‘दा वाग्मती र लुम्बिनीले समान २ स्वर्ण तथा गण्डकी र कर्णालीले समान एक स्वर्णमा नाम लेखाए ।

शिवराज र जयरानी उत्कृष्ट

जयरानी र शिवराज प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । जयरानीले ५ स्वर्ण र शिवराजले ३ स्वर्ण र एक रजत पदक जितेका थिए । दाङमा भएको आठौं राष्ट्रिय खेलकुदमा जयरानीले ४ स्वर्ण र १ कांस्य पदक जितेकी थइन् । शिवराजले पनि दाङमा दुई स्वर्ण र एक रजत जितेका थिए ।

चार वर्षदेखि आर्मी क्लबबाट खेल्दै आएकी जयरानीले आफ्नो लक्ष्य अब अन्तर्राष्ट्रिय स्तरमा पदक जित्नु रहेको बताइन् । उनले भनिन्, ‘यो सफलतालाई जोगाएर साग खेलकुदमा पदक जित्ने गरी मिहिनेत गर्नेछु ।’

प्रकाशित : कार्तिक ४, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?