नवौं राष्ट्रिय खेलकुद

विभागीय वर्चस्वमा आर्मीको ह्याट्रिक

पदक तालिकाको शीर्ष तीन स्थानमा आर्मी, एपीएफ र पुलिस विभागीय टिमलाई मात्रै २९८ स्वर्ण
राजु घिसिङ

पोखरा — भदौरे झरीमा आठ ओभरमा छोट्याइएको टी–२० क्रिकेटको फाइनलमा आर्मीलाई पुलिसले हराएको थियो । कीर्तिपुर मैदान (काठमाडौं) मा सारिएको पुरुष क्रिकेटको यो प्रतिस्पर्धा नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण थियो । त्यसको ३४ दिनपछि बिहीबार पोखरा रंगशालामा सम्पन्न पुरुष फुटबलको फाइनलमा पनि आर्मी चुक्यो । अन्तिम स्वर्णको होडमा उसलाई अर्को विभागीय टिम एपीएफले सिकार बनायो ।

विभागीय वर्चस्वमा आर्मीको ह्याट्रिक

पहिलो र अन्तिम स्वर्णको होडमा चुकेको आर्मीले यसबीचका प्रतिस्पर्धामा भने वर्चस्व कायम गर्‍यो । एकछत्र राज गर्‍यो । आर्मीले ४३.३२ प्रतिशत स्वर्ण कब्जा गर्दै पदक तालिकामा लगातार तेस्रोपल्ट शीर्षस्थान हासिल गर्‍यो । उसले ३ सय ९७ स्वर्णमध्ये १ सय ७२ स्वर्ण जित्यो । आर्मीले १ सय १० रजत र ८९ कांस्यसहित कुल ३ सय ७१ पदक जित्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा यसैपालि निर्माण गरिएको ‘रनिङ ट्रफी’ आर्मीले कब्जा गर्‍यो । राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण जित्दै पदक तालिकामा शीर्षस्थान हासिल गरेको लगातार तेस्रोपल्ट हो यो । तसर्थ उसले सर्वाधिक स्वर्णको हिसाबले राष्ट्रिय खेलकुदमा ह्याट्रिक नै गर्‍यो । उसले आठौं राष्ट्रिय खेलकुद (२०७६ साल) मा १ सय ४० स्वर्ण र सातौं (२०७३) मा १ सय १३ स्वर्ण कब्जा गरेको थियो । माओवादी जनसेनाको पीएलए स्पोर्ट्स क्लबलाई समावेश गरेको भन्दै पाँचौं संस्करण (२०६५) मा केही खेलमात्रै खेलेको आर्मी त्यसैकारण छैटौं (२०६८) मा त सहभागी नै भएन ।

राष्ट्रिय खेलकुदमा चौथो संस्करणबाट प्रवेश गरेको आर्मी स्वर्णको सफलतामा ह्याट्रिक गर्ने तेस्रो टिम हो । अञ्चलका आधारमा आयोजित सुरुका तीन संस्करण (२०३८, ०४० र ०४२ साल) मा वाग्मतीले शीर्षस्थान कब्जा गरेको थियो । त्यसपछि विकास क्षेत्रका आधारमा सञ्चालित राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलले लगातार तीनपल्ट (२०५५, ०६५ र ०६८) सबैभन्दा बढी स्वर्ण जितेको थियो । टिमको स्वरूप परिवर्तन गरेर आठौं संस्करणदेखि प्रादेशिक संरचनामा सञ्चालन गरियो । त्यसैदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पनि प्रवेश दिइयो ।

बृहत् खेलकुदमा पौडी र एथलेटिक्समा सबैभन्दा बढी स्पर्धा हुन्छ । यसैमा आर्मी सबैभन्दा बलियो देखियो । आर्मीले पौडीमा २० र एथलेटिक्समा १९ स्वर्ण कब्जा गर्‍यो । डुआना लामा, नासिर हुयहा हुसेनसहित ओलम्पियन गौरिका सिंह, एलेक्स शाहलाई ‘कन्ट्रयाक्ट’ मा राख्नु नै पौडीमा आर्मीको सफलताको आधार रह्यो । उसका खेलाडी उसु, बक्सिङ, ब्याडमिन्टन, शारीरिक सुगठन, चेस, साहसिक खेल (साइक्लिङ, ट्रायथलन), फेन्सिङ, जिम्न्यास्टिक, आईटीएफ तेक्वान्दो, जुडो, लनटेनिस, सेपाकताक्रो, कुस्तीमा अब्बल रहे ।

कमजोर प्रतिस्पर्धी

टिम अञ्चल वा प्रदेश भए पनि उनीहरूले पछिल्ला तीन संस्करण विभागीय आर्मी, पुलिस र एपीएफलाई पदक तालिकामा चुनौती दिन सकेका छैनन् । पदक जित्ने होडमा मैदानमा प्रतिस्पर्धा हुन्छ नै तर अन्त्यमा स्वर्णको हिसाब गर्दा विभागीय टिमहरू बलिया देखिन्छन् । अञ्चल वा प्रदेशका टिमले पछिल्ला तीन संस्करणमा विभागीय टिमलाई खासै चुनौती दिन सकेनन् । स्वर्णको होडमा आर्मीलाई कुनै पनि टिमले गतिलो चुनौती दिन सकेन । तथ्यांक केलाउँदा आर्मी एक्लै अगाडि बढेजस्तो देखिन्छ । उसको प्रतिस्पर्धी नै छैन जस्तो लाग्न सक्छ ।

सातौं संस्करणमा आर्मीले १ सय १३ स्वर्ण जित्दा एपीएफ (५० स्वर्ण) र पुलिस (४० स्वर्ण) शीर्ष तीनमा रहेका थिए । आठौंमा आर्मीले १ सय ४० स्वर्ण कब्जा गर्दा पुलिस (४२ स्वर्ण) र एपीएफ (५४ स्वर्ण) शीर्ष तीनमा रहे । गण्डकी संस्करणमा आइपुग्दा आर्मीले अझै स्वर्ण बढाएर १ सय ७२ पुर्‍याउँदा एपीएफ (६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी २ सय १९ पदक) र पुलिस (६१ स्वर्ण, ६१ रजत र ७३ रजत गरी १ सय ९५ पदक) शीर्षस्थानमा यथावत् रहे । फरक यतिमात्रै रह्यो कि पुलिसलाई उछिन्दै एपीएफ दोस्रो स्थानमा उक्लियो । प्रतिभावान् खेलाडीको जागिर मोह र विभागीय टिमले प्रतियोगिताअघि दिने सम्झौताले पनि प्रदेशलाई कमजोर बनाएको हो ।

यसपालि प्रदेशको टिममा सबैभन्दा बलियो गण्डकी सावित भयो । उसले आर्चरी, फुलकन्ट्याक्ट कराँते र स्क्वासमा उत्कृष्ट प्रदर्शन गर्दै ३२ स्वर्ण जित्यो । प्रतियोगिताअघि खुबै चर्चा पाएको वाग्मती २४ स्वर्णमा सीमित भयो । प्रदेश १, सुदूरपश्चिम र एनआरएनएले १०–१० स्वर्ण हात पारे भने लुम्बिनीले ६, मधेसले ५ र कर्णालीले ३ स्पर्धामा बाजी मारे ।

कर्णालीलाई ३ हजार मिटर स्टिपलचेजमा भारतीय सेनाका जागिरे दुर्गाबहादुर बुढा र उसुमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता दीपक हमालले स्वर्ण दिलाए । वाग्मतीलाई उछिन्दै चौथो स्थानमा पुगेको गण्डकीको सफलतामा भारतीय सेनाबाट बिदामा स्वदेश फर्किएका लाहुरेहरूको योगदान मुख्य रह्यो ।

कीर्तिमान र विवाद

विश्व खेलकुदकै महाकुम्भ ओलम्पिकमा फुटबलको स्वर्णलाई निकै महत्त्वपूर्ण मानिन्छ । त्यसैगरी हाम्रो राष्ट्रिय खेलकुदमा फुटबलको स्वर्ण उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले हुन सक्छ एनआरएनएले आफ्ना खेलाडीलाई बेलायतमा तयारी गरेर पनि उतै छाडेर नेपाली राष्ट्रिय टिमका चर्चित खेलाडीहरूलाई गोस्तेघाट मैदानमा उतार्‍यो । तर, उनीहरूलाई एनआरएनए भएको प्रमाण देखाउन सकेन र उजुरीपछि आयोजकले पहिलो खेलको नतिजा पनि उल्ट्याउँदै एनआरएनएलाई फुटबल प्रतियोगिताको बीचमै बिदाइ गरिदियो ।

चेसमा पनि उस्तै विवाद निस्कियो । पुरुषतर्फ क्लासिकल स्पर्धाबाट एनआरएनका खेलाडीलाई हटाइएपछि स्वर्ण विजेताको घोषणा अझै गरिएको छैन । स्थापित स्वदेशी धावकहरूलाई सहजै पन्छाएर भारतीय सेनाका अनिश थापा मगरले म्याराथनमा गण्डकीलाई स्वर्ण दिलाए । विश्व एथलेटिक्समा भारतीय खेलाडीका रूपमा एसियन च्याम्पियनसिप खेलेका कर्णालीका दुर्गाबहादुरको उपस्थिति पनि विवादास्पद रह्यो । बक्सिङमा नराम्रोसँग कुटाइ खाने खेलाडीको जित सामान्यजस्तै रह्यो ।

आर्मीकी जयरानी थारू व्यक्तिगत तीन स्पर्धामा तीनै कीर्तिमानसहित र रिले (टिम स्पर्धा) मा दुई गरी ५ स्वर्ण जित्दै ‘ट्र्याक एन्ड फिल्ड’ की सर्वाधिक सफल बनिन् । शिवराज पार्की तीन स्वर्ण र एक रजत जितेर स्प्रिन्टमा पुरुषतर्फ सबभन्दा सफल बने । १३ औं सागकी स्वर्णधारी सन्तोषी श्रेष्ठको ५ हजार र १० हजार मिटरमा सफलता, उसुमा एलिना चौधरीको लगातार पाँच स्वर्ण पनि रोचक रह्यो । भारोत्तोलनमा तारादेवी पुनले २४ वर्षमा भएका ६ वटै संस्करणमा हात पारेको स्वर्णले धेरै अर्थ राख्छ ।

यो संस्करणमा डुआना लामाले सर्वाधिक नौ स्वर्ण र एक रजत जितिन् । पौडीकै नासिर र जिम्न्यास्टिक खेलाडी राजु राईले ७–७ स्वर्ण जिते । नासिरले एक स्पर्धामा एलेक्सलाई पनि उछिने । आठ वर्षयता पौडीमा सनसनीपूर्ण प्रदर्शन गरिरहेकी गौरिकाले पहिलोपल्ट हार बेहोरिन् । अमेरिकाबाट आएकी एस्ली डंगोल सापकोटाले ६ स्वर्ण जितेर नेपाली खेलाडीलाई चुनौती दिइन् । उनका १३ वर्षे भाई आशिषले पनि तहल्का मच्चाए ।

पौडीको ‘सर्ट–कोर्स’ का १८ स्पर्धामा राष्ट्रिय कीर्तिमान बन्यो । तर, २५ मिटर लम्बाइको स्वीमिङ पुल १४ सेन्टिमिटर छोटो भएको पाइएपछि पौडी संघ विवादमा तानिएको छ । विश्व पौडी महासंघको नियम मान्ने हो भने खेलाडीहरूले फिस्टेल एकेडेमीमा मिहिनेतपूर्वक बनाइएका कीर्तिमान अमान्य हुने देखिएको छ । एथलेटिक्समा १० राष्ट्रिय कीर्तिमान बन्यो, जसलाई निकै राम्रो प्रदर्शन मानिएको छ । भारोत्तोलनमा पनि १७ वटा कीर्तिमान बने । भलिबलमा टिकट किनेका दर्शकको ओइरो लाग्यो । बक्सिङ, बास्केटबल र पौडीमा चहलपहल व्यापक रह्यो । फुटबलको आकर्षण यथावत् रह्यो ।

निसिम निधनको पीडा

कीर्तिमान बनाउने लक्ष्यमा रहेका भारोत्तोलनका प्रकाश केसी बुबाको मृत्यु भएपछि प्रतियोगितामा ओर्लनुअघि नै घर फर्किए । प्याराग्लाइडिङका निसिम थापा सराङकोटबाट ‘टेक अफ’ गरेको केही बेरमै निर्माणस्थलमा बजारिए, जसले २६ वर्षीय आर्मीका खेलाडीको ज्यान नै लियो । उनको सालिक पोखरा रंगशालामा बनाउने राखेपले निर्णय गरेको छ । उनलाई सम्मानस्वरूप मरणोपरान्त स्वर्णपदक दिइएको छ । उनको मृत्युपछि रोकिएको प्याराग्लाइडिङको प्रतिस्पर्धामा अभ्यासको नतिजाकै आधारमा पदक वितरण गरियो ।

हलभित्र हुनुपर्ने भलिबल, बास्केटबल ‘आउटडोर’ खेलका रूपमा सञ्चालन गरिए । पुरानै पूर्वाधारमा केही थपथाप गर्दै ३६ खेलमा ११ टिमका ६ हजार १ सय २७ खेलाडीले प्रतिस्पर्धा गरे । यसमा सात वर्षकी रितिका बुमी (सुदूरपश्चिम/पौडी) देखि ६१ वर्षका धनबहादुर घले (प्रदेश १/स्क्वास) रहे । खेलाडी उत्पादनसँगै पूर्वाधार विकासको लक्ष्यसहित २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु भएको थियो । प्रत्येक दुई वर्षमा सञ्चालन गर्ने योजनामा थालिएको प्रतियोगिताको इतिहास ४१ वर्ष हुँदा बल्ल नवौं संस्करणमा पूरा भयो ।

घोषणा गरिएको तीन वर्षपछि नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको हो । गत जेठमा सञ्चालन गर्ने मिति तोकिए पनि असोज २८ देखि कात्तिक ३ लाई सारिएको थियो । सरकारले मंसिर ४ मा संसदीय निर्वाचन गर्ने घोषणा गरेपछि फेरि राष्ट्रिय खेलकुदको आयोजनामा आशंका बढेको थियो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको दुई साताअघिसम्म राष्ट्रिय खेलकुद तोकिएको समयमै हुन्छ भनेर प्रस्टीकरण दिइरहेका थिए ।

सरकारी ढिलासुस्ती, व्यवस्थापकीय कमजोरी र खेलकुदका स्थानीय नेतृत्वका ‘अघोषित विरोध’ लाई चिर्दै खेलाडीले कोभिड–१९ को महामारीपछि पहिलोपल्ट बृहत् खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर पाए । त्यो नै सबैभन्दा महत्त्वपूर्ण हो । अब दुई वर्षपछि आयोजना गर्ने पालो कर्णालीले पाएको छ । अहिल्यैदेखि तयारी थालेमा पूर्वाधार निर्माण र व्यवस्थापनमा प्रश्न नउठ्न सक्छ । प्रदेशका टिमहरूले पनि खेलाडीलाई अहिल्यैदेखि तयारी गरे विभागीय टिमलाई चुनौती दिन सक्छन् ।

प्रकाशित : कार्तिक ४, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?