प्याराग्लाइडिङमा निसिमलाई मानार्थ स्वर्ण

दीपक परियार

पोखरा — प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा निधन भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई मानार्थ स्वर्ण पदकबाट सम्मान गरेको छ । प्याराग्लाइडिङ दुर्घटनामा असोज ३० मा उनको निधन भएपछि प्रतियोगिता रोकिएकोमा राखेपले अभ्यास खेललाई नै आधिकारिक मान्दै बिहीबार पदकसमेत वितरण गरेको छ ।

प्याराग्लाइडिङमा निसिमलाई मानार्थ स्वर्ण

राखेपले एक्युरेसीतर्फ असोज २८ मा सञ्चालन गरेको अभ्यास खेल र क्रसकन्ट्रीतर्फ असोज २९ मा भएको पहिलो टास्कलाई आधार मानेर पदक छिनोफानो गरेको हो । पोखरा रंगशालामा निसिमको सम्मानमा प्रदान गरिएको स्वर्ण पदक उनका काका भेनिस थापाले बुझे । बिहीबार नै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, प्रधानसेनापति प्रभुराम शर्मा पोखरा–१० स्थित निसिमको घरमा पुगेर परिवारसँग भेटघाट गरेका थिए ।

बिमाको रकमबाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री गहतराजले बताए । सेनाका तर्फबाट निसिमको परिवारलाई ५ लाख रुपैयाँ प्रदान गरिने शर्माले घोषणा गरे । राखेपको बोर्ड बैठकले थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

प्रतियोगिता संयोजक एवं नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले पूरा खेल हुन नसकेको अवस्थामा भएका खेललाई आधार मानेर पदक दिने अन्तर्राष्ट्रिय अभ्यास नै भएको बताए । ‘अन्तर्राष्ट्रिय अभ्यास नै के हुन्छ भने दुर्घटना वा मौसमका कारण गेम भएन भने अभ्यास वा जुन खेल भएको हुन्छ त्यहीअनुसार नै नतिजा दिनुपर्ने हुन्छ,’ उनले भने ।

क्रसकन्ट्री, टिम क्रसकन्ट्री र एक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र नेपाल आर्मीले समान ३/३ स्वर्ण जितेका छन् । जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । निसिम आबद्ध विभागीय टिम आर्मीले क्रसकन्ट्रीमा रजत पदक जितेको छ । वाग्मती प्रदेशले क्रसकन्ट्रीमा कांस्य हात पार्‍यो । क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ आर्मीका सुरुज थापाले स्वर्ण जिते । उक्त स्पर्धामा गण्डकी प्रदेशका विजय गौतमले रजत र वाग्मतीका कृष्णबहादुर सुनुवारले कांस्य जिते ।

टिम एक्युरेसी पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक प्राप्त गर्‍यो । एपीएफले रजत र प्रदेश १ ले कांस्य पाउन सफल भए । एक्युरेसी व्यक्तिगत पुरुषतर्फ गण्डकीका सुमन थापाले स्वर्ण, एपीएफका अञ्जन कुँवरले रजत र आर्मीका विष्णु तिमिल्सिनाले कांस्य जिते । उक्त विधामा गण्डकीका थापा र आर्मीका कुँवरले समान ३/३ अंक ल्याए पनि गोलाप्रथाबाट विजेता घोषणा गरिएको हो ।

महिला टिम एक्युरेसीतर्फ आर्मीले स्वर्ण, गण्डकीले रजत र प्रदेश १ ले कांस्य जिते । महिला एक्युरेसी व्यक्तिगततर्फ आर्मीका मुनामाया जीटीले स्वर्ण, दुर्गामाया गुरुङले रजत र स्वस्तिका गुरुङले कांस्य जिते ।

क्रसकन्ट्रीअन्तर्गत प्रतिस्पर्धा भइरहेको बेला सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएको थियो । प्रतियोगिताका क्रममा दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणले देशैभरि प्याराग्लाइडिङ उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?