कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

प्याराग्लाइडिङमा अभ्यास खेललाई मान्यता, निसिमको सालिक बनाइने

कान्तिपुर संवाददाता

पोखरा — नवौं राष्ट्रिय खेलकुदका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ ।

प्याराग्लाइडिङमा अभ्यास खेललाई मान्यता, निसिमको सालिक बनाइने

असोज २८ मा गरिएको अभ्यास खेलको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जनाएको छ ।

क्रसकन्ट्री, टिम क्रसकन्ट्री र एक्युरेसी विधामा भएको खेलमा टिम र एकलतर्फ गण्डकी र आर्मीले ३–३ स्वर्ण जितेका छन् । क्रमकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण जितेको छ । खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङसम्मिलित गण्डकीले कुल २७५० अंकसहित स्वर्ण हात पारेको छ ।

आर्मीले क्रस कन्ट्रीमा रजत जितेको छ । कुल २५५५.९ अंकसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । सोही टिमका निसिम थापाको दुर्घटनाका कारण असोज ३० गते मृत्यु भएको थियो ।

वाग्मती प्रदेश क्रसकन्ट्रीमा कांस्य पदक जितेको छ । कांस्य जितेको वाग्मतीबाट कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए । उनीहरुले कुल २१४८.३ अंक प्राप्त गरेका थिए ।

आर्मीलाई स्वर्ण

क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ आर्मीका सुरुज थापाले कुल १ सय अंकसहित स्वर्ण जितेका छन् । गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पारे । उनले कुल ९४८.६ अंक बटुले । वाग्मतीका कृष्णबहादुर सुनुवारले कांस्य पदक जिते । उनले कुल ९२५.६ अंक प्राप्त गरे ।

एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण जितेको छ । गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुमन थापा, सागर नेपाली, रिखी पोडे र नुरन थापाको टिमले कुल २३ अंकसहित स्वर्ण हात पारे ।

विभागीय टिम एपीएफले रजत एक्युरेसी टिम पुरुषतर्फ रजत पदक हात पारेको छ । पूर्वतयारी खेलमा अञ्जन कुँवर, रवीन्द्र ढकाल, विष्णु कार्की र अमन थापाको समूहले कुल ४० अंक बटुेका थिए ।

सोही स्पर्धामा प्रदेश १ ले कांस्य पदक जितेको छ । प्रदेश १ का रोशन बस्नेत, युवराज सुनुवार, दिलकुमार सुनुवार र विश्वास गुरुङको समूहले सामूहिक ४९ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन् ।

एक्युरेसी व्यक्तिगतमा गण्डकीका खेलाडी सुमन थापालाई स्वर्ण, एपीएफका अञ्जन कुँवरलाई रजत र आर्मीका विष्णु तिमिल्सिनालाई कांस्य प्रदान गरियो ।

महिला टिम एक्युरेसीतर्फ आर्मीले स्वर्ण जितेको छ । आर्मीका मुनामाया जिटी, दुर्गामाया गुरुङ र स्वस्तिका गुरुङले ४० अंकसहित राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको छ ।

रजत जितेको गण्डकी टिमले कुल ११३ अंक ल्याएको थियो । गण्डकीबाट ऋतु श्रेष्ठ, कृष्णा पौडेल र शर्मिला शर्मा सहभागी थिए ।

सोही स्पर्धामा रजत जित्ने प्रदेश १ बाट देवकी सुनुवार, अनुष्का सुनुवार, इस्का राईले ८९० अंक पाए ।

एक्युरेसी व्यक्तिगततर्फ आर्मीका मुनामायाले २० अंकसहित स्वर्ण, दुर्गामाया गुरुङ २१ अंकसहित रजत, स्वस्तिका गुरुङले कांस्य ५४ अंक जितेका छन् ।

क्रसकन्ट्री प्रतिस्पर्धा भइरहेका बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा आर्मीका २५ वर्षीय निसिम थापाको मृत्यु भएको हो । उडानका क्रममा दुर्घटनापछि नेपाल हवाई खेलकुद संस्थानले देशैभरको प्याराग्लाइडिङ उडान स्थगित गरेको छ ।

निसिमको सालिक राखिने

दुर्घटनामा परेका प्याराग्लाइडिङका खेलाडी निसिम थापाको पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ । बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले निसिमको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

प्याराग्लाइडिङ प्रतियोगिताका मुख्य निरीक्षक योगेश भट्टराईका अनुसार खेलकै क्रममा दुर्घटनामा मृत्यु भएका थापाको सम्मानमा मानार्थ स्वर्णपदक दिइने भएको छ । गोरखाका स्थायी घर भई हाल पोखरा–१० मा बस्दै आएका थापाको घरमै पुगेर पदक हस्तान्तरण गरिने उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक ३, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?