कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुरुष भलिबलमा एपीएफ च्याम्पियन

दीपक परियार

पोखरा — विभागीय डर्बीमा त्रिभुवन आर्मीलाई उछिन्दै एपीएफले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो ।

पुरुष भलिबलमा एपीएफ च्याम्पियन

खचाखच दर्शकबीच प्रतिस्पर्धात्मक सेटमा खेल भए पनि एपीएफले स्वर्ण जित्न सफल भयो । पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा पर्‍यो । दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले बाजी मार्‍यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्तत: एपीएफले तेस्रो सेट पनि २६–२४ टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो ।

राष्ट्रिय टिमका ७ खेलाडी आर्मीमा समावेश थिए । फाइनल खेलमा मानबहादुर श्रेष्ठ र धनबहादुर भट्ट चल्न नसक्नुको फाइदा एपीएफले लियो । सुरुदेखि पावर सर्भिसमा उत्रिएका एपीएफका खेलाडी ब्लक र डिफेन्समा उत्तिकै बलियो देखिए । क्वार्टरफाइनल खेलमा एपीएफका मिडल ब्लकर रुपेन्द्र नेपाली घाइते भए पछि उनको स्थानमा बलिराम चौधरीले उत्कृष्ट खेल प्रदर्शन गरे । महेन्द्र श्रेष्ठको कप्तानीमा कोर्टमा उत्रिएको एपीएफका विजय रानाका स्पाइक सम्झनयोग्य थिए ।

एपीएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभ समेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । ‘हरेकजसो प्रतियोगितामा पुलिस वा आर्मीसँग नै फाइनलमा भिड्थ्यौं । आर्मीको खेल नराम्रो भन्न मिल्दैन,’ उनले भने, ‘यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भएका छौं ।’

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपीएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपीएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको फाइनलमा बिहीबार आर्मी विरुद्ध स्पाइक गर्दै एपीएफका विजय राना । तस्बिर : दीपक परियार/पोखरा

बिहीबार नै कांस्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० मै समेट्यो । पहिलो सेट २६–२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो । पुलिसले दोस्रो र तेस्रो सेट क्रमश: २५–१४ र २५–१८ ले आफ्नो पक्षमा पारेर कांस्य हात पार्‍यो ।

प्रतियोगिताका अधिकांश खेल ३–० मै टुंगिएका थिए । प्रतियोगिताअवधिभर कुनै खेल पनि पाँच सेटसम्म पुगेन । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।

प्रकाशित : कार्तिक ३, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?