१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

छोरीको प्रार्थना, आमाको स्वर्ण

ध्रुव तुलाधर

पोखरा — बिहान सबेरै छोरीले फोन गरेर ‘आमा मैले प्रार्थना गरेको छु, तपाईले जित्नुहुनेछ । अब हामी मन्दिर पनि जान्छौं ।’ सााच्चै छोरीको त्यो प्रार्थना साकार भयो । आमा विन्द्राधन्के श्रेष्ठले मंगलबार पोखरामा नवौं राष्ट्रिय खेलकुदमा म्याराथन दौडको स्वर्ण जितेकी छन् ।

छोरीको प्रार्थना, आमाको स्वर्ण

आमाको सफलताका लागि प्रार्थना गर्न बुवासँगै मन्दिर जाने कुरा सुनाउन आठ वर्षीया छोरी लुजाले ललितपुर वज्रबाराहीबाट फोन गरेकी थिइन् । छोरीले भनेको कुरा सुनाइरहँदा भावुक देखिएकी विन्द्राले भनिन्, ‘छोरीले मेरो स्वर्ण कुरिरहेकी हुनेछ ।’

विन्द्रा एथलेटिक्स करिअरको उत्तरार्धमा थिइन् । उमेरले ३७ वर्षमा कुद्दै छिन् । मध्यम दुरी र हाफ म्याराथन दौडिँदै आए पनि उनले म्याराथन दौडिएकी थिइनन् । लाग्यो एकचोटि म्याराथन पनि दौडिन्छु । तर सफलता पाउँछु भन्नेमा उनी आफैंलाई विश्वास थिएन ।

आफैंले विश्वास गर्न नसके पनि पहिलो सहभागितामै म्याराथनको स्वर्ण यतिबेला विन्द्राको गलामा झुन्डिएको छ । भन्छिन्, ‘जित्छु भन्ने त एक मन पनि थिएन । अरूले पनि दोस्रो या तेस्रोसम्म हुन्छ होला भन्थे । तर स्वर्ण नै जितें । छोरीको प्रार्थना लाग्यो कि !’

माछापुच्छ्रे हिमाली आँगनका बाटाहरूमा पसिना चुहाउँदै स्वर्ण जित्न उनले २ घन्टा ५७ मिनेट २३ सेकेन्ड खर्चिइन् । नेपालको महिला म्याराथन इतिहासमा सबैभन्दा बढी उमेरमा सफलता पाउने विन्द्रा पहिलो खेलाडी हुन् ।

उनका प्रतिस्पर्धीमा पुष्पा भण्डारी, विश्वरुपा बुढास्ता चिरपरिचित म्याराथन अनुहार थिए । जसले धेरै सफलता बटुलिसकेका छन् । पुष्पाले १३ औं सागमा रजत र ढाका म्याराथनमा स्वर्ण नै जितेकी छन् । त्यसैले विन्द्रालाई पदक जित्न गाह्रो होला भन्ने लागिरहेथ्यो ।

अन्तिम राष्ट्रिय प्रतियोगता खेल्छु भनेर पोखरा आएकी थिइन् उनी । दबाबरहित थिइन् । त्यसैले माछापुच्छ्रेको काखमा सफलतामा भेट्टाइन् । यसले विन्द्राको हौसला थपिएको छ अनि जिम्मेवारी बढेको छ । भन्छिन्, ‘जे भए नि अन्तिम प्रतियोगिता खेल्नु भन्ने थियो । तर सफलताले अझै म्याराथन दौड्न हौसला बढाएको छ । जिम्मेवारी बढेको महसुस गरेछु ।’


विन्द्रा सशस्त्र प्रहरी बलकी जवान हुन् । १४ वर्ष भयो सशस्त्रमा उनको जागिर । एपीएफ क्लबबाट खेल्ने विन्द्राले दौड्दा थुप्रै चुनौती र अप्ठ्याराहरू सामना गर्दै आइन् । तर मिहिनेत गर्न कहिल्यै छाडिनन् । जागिर, घरधन्दा र छोरीलाई स्याहार्दै भए पनि कुदिरहिन् ।

विन्द्राले पाँचौं संस्करणदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न थालेकी हुन् । मध्यम दुरीमा दौडने उनले छैटौं र आठौं संस्करण पनि खेलिन् । २०६८ सालको छैटौं संस्करणमा तीन स्वर्ण (४००, ८०० र ४ गुणा १०० मिटर रिले) र एक कांस्य (१० हजार मिटर) जितिन् । २०७३ सालको पूर्वाञ्चलमा भएको सातौं संस्करणमा छोरी सानै भएकाले भाग लिइनन् । आठौं राष्ट्रियमा पुनरागमन गर्दा ५ हजार मिटरमा कांस्य जितेकी थिइन् ।

बढ्दो उमेरमा पेस (गति) कम हुने हुँदा दौडका खेलाडीले आफ्नो विधा पनि परिवर्तन गर्दै जान्छन् । मध्यम दुरी अनि हाफ म्याराथन खेलिरहेकी विन्द्रालाई पनि एकचोटि म्याराथन खेलेर करिअर टुंग्याउँछु भन्ने लाग्यो । गुरुहरूले पनि हाफ म्याराथन खेलिरहेकाले म्याराथन सक्छौं भनेर हौसला दिएपछि एकचोटि खेल्छु भन्ने आँट बढेको थियो । ६ महिनाअघि उनले म्याराथनको छनोट दौडिएकी थिइन् ।


पोखरामा उनलाई भाग्यले पनि साथ दियो । उनकै एपीएफ टिमकी पुष्पा पनि सागै दौडिरहेकी थिइन् । पुष्पा, विश्वरुपा दाबेदार थिए । १ घण्टाभन्दा बढी पुष्पासँगै दौडिइन् विन्द्रा । त्यसपछि पुष्पाले ‘दिदी तपाई अगाडि बढ्नुस्’ भनेपछि विन्द्राले विश्वरुपालाई पछ्याउन थालिन् । अन्ततः ३३–३४ किमिबाट उनले विश्वरुपालाई नै पछाडि पार्न सकिन् । पहिलो दिन १० मिटर दौडिएर कांस्य जितेकी पुष्पाले खुट्टामा समस्या आएपछि बीचमै म्याराथन त्यागेकी थिइन् ।

डेढ दशक लामो करियरमा विन्द्राले एउटै मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएकी छन् । त्यो पनि भुटानमा भएको क्रसकन्ट्री प्रतियोगिता जहाँ उनले तेस्रो स्थान भेट्टाएकी थिइन् । सिंगापुरमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन् तर वच्चा पेटमा भएकाले त्यो पनि त्याग्नुपरेको थियो । त्यसैले देशको प्रतिनिधित्व गर्ने भोक नै छ ।

दौड सकिएपछि विन्द्राले प्यारापिटमा बसिरहेका आफ्ना पूर्व गुरु सुशील नरसिंह राणालाई देखिने । सामुन्ने गई गुरुलाई नमन गरिन् । गुरुले पनि ‘स्याबास चेली, राम्रो गरेकी छौं, अझै मिहिनेत गर,’ भनेर हौसला बढाइदिए । अहिले भने विन्द्राले प्रशिक्षक प्रमिला रिजाल, सन्तोष श्रेष्ठसँग प्रशिक्षण गरिरहेकी छन् । उनले आफ्नो सफलता परिवार, गुरुहरू र एपीएफ टिमप्रति बाँड्न चाहिन् ।

पूर्व च्याम्पियन विश्वरुपाले भने रजत जित्दा ३ घन्टा ३५ सेकेन्डको समय लिएकी थिइन् । उनकै निकट रहेकी पुलिसकी रेखा विष्टको टाइमिङ ३ घन्टा १ मिनेट ३५ सेकेन्ड थियो ।

प्रकाशित : कार्तिक २, २०७९ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?