कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आर्चरीमा गण्डकीको वर्चस्व

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेश टिम बुधबार नवौं राष्ट्रिय खेलकुदमा आर्चरी टिम च्याम्पियन बनेको छ । कुल १३ स्पर्धामा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित १२ पदक जित्दै च्याम्पियन ट्रफी उचालेको हो । 

आर्चरीमा गण्डकीको वर्चस्व

त्रिभुवन आर्मी क्लब ३ स्वर्ण, १ रजत र ५ कांस्यसहित दोस्रो भयो । एपीएफ क्लबले २ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जितेर तेस्रो स्थान भेट्टायो । पुलिस क्लबले १ स्वर्ण, २ रजत र १ कांस्यसहित चौथो भयो । प्रदेश १ ले २ रजत, सुदूरपश्चिमले १ रजत र २ कांस्य तथा वाग्मती प्रदेशले १ कांस्य जितेका थिए । । लुम्बिनी र एनआरएनए पदकविहीन रहे ।

बुधबार अन्तिम दिन गण्डकीका गंगाबहादुर कुँवरले पुरुष रिकर्भ व्यक्तिगततर्फ स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले हराए । तिलकले रजत जित्दा एपीएफका विराट थापा तेस्रो भए । गंगा र तिलक वरीयतामा शिर्ष दुई स्थानमै छन् ।

रिकर्भ महिला व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकै ज्ञानु अवाले कांस्यमा सीमित भइन् । वरीयतामा रोजिना दोस्रोमा रहॅदा मञ्जु पहिलो स्थानमा छन् । ज्ञानु तेस्रो वरीयताकी हुन् ।

कम्पाउन्ड व्यक्तिगततर्फ गण्डकीका जागृत गुरुङले आफ्नो टिमका खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । सुदूरपश्चिमका सुरेश गुरुङ तेस्रो भए ।

कम्पाउन्ड व्यक्तिगत महिलातर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरीयताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराएर स्वर्ण जितिन् । तेस्रो वरीयताकी एपीएफकी निर्मला काङवाङ राईले कांस्य जितिन् ।

स्टान्डर्ड व्यक्तिगत पुरुषतर्फ दोस्रो वरीताका नगेन्द्र आचार्य (पुलिस) ले स्वर्ण जिते । र्‍याङकिङ राउन्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले हराए । वाग्मतीका फर्माचन शेरचन तेस्रो भए ।

स्टान्डर्ड व्यक्तिगत महिलातर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता काङवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकी शारदा बिक तेस्रो भइन् ।

१३ विधाको खेलमा ७ स्वर्ण मंगलबार र ६ स्वर्णको बुधबार छिनोफानो भएको हो । आर्चरीमा मधेस र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित ९ टोलीको सहभागिता थियो ।

प्रकाशित : कार्तिक २, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?