ट्वान्टी-२० विश्वकप

पहिलो खेलमा नामिबियासँग श्रीलंका स्तब्ध

एजेन्सी

गेलङ — नामिबियाले ट्वान्टी-२० विश्वकपमा सनसनीपूर्ण सुरुवात गर्ने क्रममा आइतबार श्रीलंकालाई ५५ रनले पराजित गरेको छ । जीतका लागि १ सय ६४ रन पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्र बनाउन सक्यो ।

पहिलो खेलमा नामिबियासँग श्रीलंका स्तब्ध

उसका लागि कप्तान डसुन सनकाले बनाएको २९ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो ।

त्यस्तै भानुका राजपाक्षेले २० रन बनाए । त्यसबाहेक अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । नामिबियाका लागि डेभिड विसे, बर्नान्ड स्चोल्ट्ज, बेन निकोन्गो र जान फ्राइलिन्कले दुई-दुई विकेट लिए । यो जितले प्रारम्भिक चरणको समूह ‘ए’ बाट नामिबियाको ‘सुपर ट्वेल्भ’ को सम्भावना बलियो भएको छ ।

नामिबियालाई विश्व क्रिकेटको नयाँ उदाउँदो शक्ति मानिएको छ । श्रीलंकाले भने अब प्रतियोगिताको अर्को चरण प्रवेशका लागि नेदरल्यान्ड्स र यूएईविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्नेछ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले सात विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । कमजोर सुरुवात गरेको नामिबियाले ३५ रन बनाउँदासम्म तीन विकेट गुमाएको थियो ।

त्यसयता मध्य र तल्लो क्रमका ब्याट्सम्यानले सम्हालेर खेल्न सुरु गरेसँगै टिमले चुनौतीपूर्ण स्कोर खडा गर्न सफल रह्यो । नामिबियाका लागि जान फ्राइलिन्कले सर्वाधिक ४४ रन बनाए । उनले २८ बलको सामना गरेर चार चौका प्रहार गरे । त्यस्तै स्टेफान बार्डले २४ बलमा २६ रन बनाए । आइतबारकै अर्को खेलमा नेदरल्यान्ड्सले यूएईको सामना गर्नेछ ।

प्रकाशित : आश्विन ३०, २०७९ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?