एमबाप्पे सर्वाधिक कमाउने फुटबलर- खेलकुद - कान्तिपुर समाचार

एमबाप्पे सर्वाधिक कमाउने फुटबलर

बीबीसी

लन्डन — फोर्ब्सको सूचीमा केलियन एमबाप्पे सर्वाधिक कमाइ गर्ने फुटबलरमा पहिलो नम्बरमा आएका छन् । पछिल्ला ९ वर्षमा लियानेल मेसी र क्रिस्टियानो रोनाल्डोबाहेकका खेलाडी यो सूचीमा पहिलो पटक शीर्षस्थानमा आएका हुन् । 

फोर्ब्सले अनुमान गरेअनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी) का २३ वर्षे फरवार्डले यो सिजनमा १२ करोड ८० लाख डलर कमाइ गर्नेछन् । मेसी दोस्रो र रोनाल्डो तेस्रो स्थानमा छन् । एमबाप्पेसँगै पीएसजीबाट खेलिरहेका अर्जेन्टिनी स्टार मेसीको कमाइ यो सिजन १२ करोड र म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोले १० करोड कमाउने आँकलन फोर्ब्सले गरेको छ ।

यो सिजनमा सर्वाधिक कमाइ गर्ने शीर्ष पाँचको सूचीमा पीएसजीकै नेयमर र लिभरपुलका मोहम्मद सलाह रहेका छन । ब्राजिली स्ट्राइकर नेयमरले ७ करोड ८४ लाख र इजिप्टका सलाहले ५ करोड ३० लाख डलर कमाइ गर्ने देखिएको छ । रोनाल्डो र मेसीलाई उछिन्ने पछिल्लो खेलाडी इंग्ल्यान्डका कप्तान डेविड बेकह्याम थिए । बेकह्याम सन् २०१३ मा सर्वाधिक कमाइ गर्ने फुटबलरमा थिए ।

मे महिनामा पीएसजीसँग तीन वर्षको सम्झौता नवीकरण गर्दा एमबाप्पे मूल्यवान खेलाडी बनेका थिए । यसले त्यतिखेर उनको रियल म्याड्रिड जाने सम्भावना पनि सकिएको थियो । फ्रान्सका विश्वकप विजयी खेलाडी एमबाप्पे २०१७ मा मोनाकोबाट आएयता पीएसजीले ११ उपाधि जितिसकेको छ, त्यसमा चार लिग उपाधि छ ।

एर्लिङ हल्यान्ड यो सिजनमा सर्वाधिक कमाइ गर्ने सूचीमा छैटौं स्थानमा आएका छन् । बोरुसिया डर्टमन्डबाट यस सिजनमा म्यानचेस्टर सिटी आएयता हल्यान्डले १३ खेलमा २० गोल गरिसकेका छन् । प्रिमियर लिग खेल्ने चार खेलाडी शीर्ष १० मा अटाएका छन् । रोनाल्डो, सलाह र हल्यान्डसँगै म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन प्रिमियर लिगमा खेल्ने खेलाडी हुन् । यो सूचीका हल्यान्ड र एमबाप्पेमात्र ३० वर्षमुनिका खेलाडी हुन् ।

बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की (३ करोड ५० लाख) सातौं, रियल म्याड्रिडबाट खेल्ने बेल्जियमका इडेन हाजार्ड (३ करोड १० लाख) आठौं, जापानको भिसेल कोबेबाट खेलिरहेका स्पेनका एन्ड्रेज इनिस्टा (३ करोड) नवौं स्थानमा छन् ।

प्रकाशित : आश्विन २३, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्

न्युकासल युनाइटेडको प्रस्ताव इमरेद्वारा अस्वीकार

बीबीसी

लन्डन — प्रशिक्षक उनाइ इमरेले प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको प्रस्ताव अस्वीकार गर्दै भिल्लारियलमै बस्ने निर्णय गरेका छन् ।

आर्सनलका पूर्वव्यवस्थापक इमरेलाई न्युकासलले मंगलबार स्टिभ ब्रुसको स्थानमा पहिलो रोजाइमा राख्दै नयाँ प्रशिक्षक बन्ने प्रस्ताव राखेको थियो । न्युकासलले एक साताभित्रै स्पेनी प्रशिक्षकलाई पाउने आस गरेको थियो । तर, इमरेको निर्णयपछि न्युकासलले फेरि व्यवस्थापक खोजीलाई निरन्तरता दिनुपर्ने भएको छ । अब उनको विकल्पमा एडी होवे र पाउलो फोन्सेका हुन सक्छन् ।

स्पेनी फुटबल विज्ञ बलागका अनुसार इमरेले क्लबको अनिश्चित रणनीति र कमजोर योजनाका कारण प्रस्तव अस्वीकार गरेका हुन् । इमरेको टिमले निकै दबाबका बाबजुद मंगलबार च्याम्पियन्स लिगको प्रतिस्पर्धामा योङ ब्वाइजलाई २–० ले हराएको थियो । यसअघि टोटेनहमका नयाँ प्रशिक्षक एन्टोनियो कोन्टे, बार्सिलोनाका लिजेन्ड जाभी र जर्मनीका पूर्वव्यवस्थापक जोचिम लोले पनि न्युकासलको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

इमरेको नेतृत्वमा गत सिजन भिलारियलले फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै युरोपा लिग उपाधि जितेको थियो । भिल्लारियल पुग्नुअघि उनले १८ महिना आर्सनल सम्हालेका थिए । आर्सनलले उनलाई नोभेम्बर २०१९ मा बर्खास्त गरेको थियो । उनले सेभियामा सन् २०१३–१६ मा रहँदा लगातार तीनपल्ट युरोपा लिग जितेका थिए । त्यसपछि पेरिस सेन्ट जर्मेन पुगेका उनले त्यहाँ लिग वान र फ्रेन्च कप (२ पल्ट) को उपाधि हात पारेका थिए ।

यो सिजनको ला लिगामा भिल्लारियल ११ खेलमा २ जितमात्रै निकालेर १३ औं स्थानमा छ । तर, योङ ब्वाइजमाथिको जितले च्याम्पियन्स लिगको समूह ‘एफ’ को शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेपछि उसलाई उत्साहित बनाउने अपेक्षा गरिएको छ । योसँगै भिल्लारियलले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

प्रकाशित : कार्तिक १७, २०७८ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×