१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सिटी र हल्यान्डको वर्चस्व

बोरूसिया डर्टमन्डबाट सिटी आएका हल्यान्डको लगातार १० खेलमा गोल
एएफपी

लन्डन — म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ४–० ले पराजित गर्दै प्रिमियर लिगको शीर्षस्थानमा उक्लिँदा एर्लिङ हल्यान्डले लगातार १० खेलमा गोल गरेका छन् । चेल्सीले शनिबारै अर्को खेलमा उल्भसलाई ३–० ले पराजित गर्दै शीर्ष चारमा आएको छ । 

सिटी र हल्यान्डको वर्चस्व

जाओ कान्सेलो, फिल फोडेन र रियाद महारेजपछि पेप ग्वार्डिओलाको टोलीबाट हल्यान्डले नियमित जस्तै गोल गरेका थिए । जसका कारण सिटीले इतिहादमा अर्को एकतर्फी हिसाबले खेल आफ्नो पक्षमा पार्‍यो । बोरुसिया डर्टमन्डबाट यसै सिजन ५ करोड ६० लाख डलरमा आएयता हल्यान्डले १२ खेलमा २० गोल गरिसकेका छन् ।

हल्यान्डसँगै सिटीको गोल यात्रा निरन्तर छ । सिटीले यस सिजनको प्रिमियर लिगका ९ खेलमा कम्तीमा एक खेलमा ३ गोल गरेको छ । सन् १९५९ मा उल्भसयता यो कीर्तिमान बनाउने सिटी पहिलो टोली हो । सिटीले यस विजयसँगै आर्सनललाई २ अंकले पछाडि पारेको छ । आर्सनलले आइतबार लिभरपुलसँग खेल्नेछ ।

पछिल्ला ६ सिजनमा पाँचौं पटक लिग उपाधि जित्न अग्रसर ग्वार्डिओलाको सिटीले पछिल्ला ३७ लिग खेलमा एकमात्र पराजय भोगेको छ । पछिल्ला ६ खेलमा सिटीले २४ गोल गरेको छ । पछिल्ला ९ सबैखाले खेलमा सिटीले ८ खेल जितेको छ । त्यसको विपरित साउथह्याम्पटनको यो लगातार पाँचौं हार हो । यसले टोलीका व्यवस्थापक राल्फ हसेनहुटललाई ठूलो दबाबमा ल्याएको छ ।

स्टामफोर्ड ब्रिजमा चेल्सीले पनि उल्भससँगको खेलमा पूर्ण हाबी थियो । थोमस टचेललाई बर्खास्त गरेयता ग्राहम पोटरको व्यवस्थापनमा चेल्सीले ४ खेलमा तेस्रो जित हात पारेको हो । मध्यसातामा एसी मिलानविरुद्ध च्याम्पियन्स लिगमा जित हात पारेको खेलबाट चेल्सीले रिस जेम्स, रहिम स्टर्लिङ, पिइरे एमेरिक अबामेयाङसहित ७ खेलाडी परिवर्तन गरेको थियो ।

मेसन माउन्टको सटिक क्रसमा काइ हाभेर्टजले गोल गर्दै चेल्सीलाई पहिलो हाफको इन्ज्युरी टाइममा अग्रता दिलाए । माउन्टकै क्रसममा क्रिस्टियन पुलिसिकले ५४ औं मिनेटमा दोस्रो गोल गरे । अर्मान्डो ब्रोजाले ९० औं मिनेटमा २० यार्ड टाढाबाट तेस्रो गोल गरे । ब्रुनो लेगलाई बर्खास्त गरेपछि व्यवस्थापकविहीन बनेको उल्भस लगातार तेस्रो हारपछि रेलिगेसन क्षेत्रमा छ ।

बर्नमाउथले २–१ को जित निकालेपछि लेस्टरका व्यवस्थापक ब्रेन्डन रोजर्समाथि पनि ठूलो दबाब परेको छ । डिन कोर्टमा पेटसन डाकाको गोलमार्फत लेस्टरले १० औं मिनेटमा अग्रता लिएको थियो । बर्नमाउथबाट फिलिप बिलिङले ६७ औं मिनेटमा बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै डोमिनिक सोलान्कीको फ्लिकमा रायन क्रिस्टीले गोल गरे । सोमबारमात्र यस सिजनको पहिलो जित हात पारेको लेस्टरले ८ मध्ये ७ खेल हारेको छ ।

ब्रेन्टफोर्डलाई ५–१ ले पराजित गर्दै न्युकासल पाँचौं स्थानमा उक्लेको छ । सेन्ट जेम्स पार्कमा ब्रुनो गुइमारेजको हेड गोलमा न्युकासलले २२ औं मिनेटमा अग्रता लिएको थियो । ६ मिनेटपछि कालुम विल्सनले दोस्रो गोल गरे । इभान टोनीले पेनाल्टीमा गोल गर्दै केही आस देखाए पनि त्यसको दुई मिनेटपछि नै गुइमारेजले लामो दुरीको प्रहारबाट न्युकासलका लागि तेस्रो गोल गरे । मिगुइल अल्मिरोनले ८१ औं मिनेटमा चौथो गोल गरे भने इथान पिनोकले ९० औं मिनेटमा आत्मघाती गोल गरेपछि न्युकासलले ठूलो विजय हात पार्‍यो ।

प्रकाशित : आश्विन २३, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?