कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यसपटकको विश्वकप मेरो अन्तिम हुनेछ : मेसी

कान्तिपुर संवाददाता

काठमाडौँ — लियोनल मेसीले नोभेम्बरमा कतारमा हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने बताएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ३५ वर्षीय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलेका छन् । त्यसमा उनले ६ गोल गरेका छन् भने पाँच गोलमा सहयोगी भूमिका खेलेका छन् । यस क्रममा उनले विश्वकपका १९ खेल खेले ।

यसपटकको विश्वकप मेरो अन्तिम हुनेछ : मेसी

ईएसपीएनसँग शुक्रबार भएको विशेष अन्तर्वार्तामा उनले भनेका छन्, ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो ।’ सन् २०१४ को विश्वकपमा उप-विजेतामै चित्त बुझाएका मेसीले सन् २०२१ मा आफ्नै नेतृत्वमा कोपा अमेरिका जितेका थिए । उनको सफल फुटबल खेल जीवनमा भने अहिलेसम्म विश्वकप उपाधि चुम्न सकेका छैनन् ।

मेसीले भनेका छन्, ‘म अहिले विश्वकपको प्रतीक्षामा छु । म केही आँत्तिएको पनि छु र दबाब पनि महसुस गरिरहेको छु । म विश्वकपमा खेल्न चाहन्छु । त्यसमा के हुनेछ, कस्तो हुनेछ, त्यसको पर्खाइमा समेत छु ।’ मेसीले सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए र अहिलेसम्म अर्जेन्टिनाका लागि मात्रै १ सय ६४ खेलमा ९० गोल गरेका छन् ।

पाँचौं विश्वकप खेल्ने क्रममा उनले अर्जेन्टिनाका लागि यसअघि डिएगो म्याराडोना र ज्याभिएर मास्कारानोको नाममा रहेको कीर्तिमान उछिन्ने छन् । फिफा वरीयतामा अर्जेन्टिना अहिले पाँचौं स्थानमा छ र अबको विश्वकपमा उसले समूह ‘सी’ मा साउदी अरेबिया, मेक्सिको र पोल्यान्डको सामना गर्नेछ ।

उनले अन्तर्वार्तामा थपेका छन्, ‘विश्वकपमा सबैखाले सम्भावना हुन्छ । सबै खेल उत्तिकै कठिन पनि हुने गर्छन् । जुन टिम उपाधि जित्नका लागि बलियो दाबेदार हुन्छ, उसकै प्रदर्शन खराब हुन सक्छ । हामी बलियो प्रत्याशी हौं अथवा होइनौं, थाहा छैन । तर अर्जेन्टिना जहिले पनि उपाधिको दाबेदार भने हो । मेरो विचारमा हामीभन्दा अन्य केही टिम माथि छन् ।’

प्रकाशित : आश्विन २१, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?