तानसेन कुन्सरेमा सुविधासम्पन्न खेलमैदान निर्माण सुरु

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका-६, कुन्सरेमा सुविधासम्पन्न फुटबल (खेलकुद) मैदान निर्माण सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको ‘एक स्थानीय तह, एक खेलकुद पूर्वाधार’ कार्यक्रमअन्तर्गत यहाँ खेलकुद मैदान निर्माण सुरु भएको हो । 

तानसेन कुन्सरेमा सुविधासम्पन्न खेलमैदान निर्माण सुरु

तानसेन नगरपालिकाले कुन्सरेस्थित बगालेमा खेलमैदान निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तावना पेश गरेको थियो । सोहीअनुसार मन्त्रालयबाट बजेट व्यवस्थापन भएको छ । मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्काअनुसार काम अघि बढाउन बजेट पठाइएको हो ।

तानसेन नगरपालिकाको ६० प्रतिशत र युवा तथा खेलकुद मन्त्रालयको ४० प्रतिशत लगानीमा खेलमैदान निर्माण गर्ने योजना अघि बढेको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताए । उनका अनुसार युवा तथा खेलकुद मन्त्रालयबाट अउनुपर्ने बजेट ९० लाख नगरपालिकामा आइसकेको छ । सोही अनुसार ३ करोड ७० लाख ८५ हजारको लागत इष्टिमेट अनुसार टेण्डर गरेर काम अघि बढेको छ ।

नगरपालिकाले गरेको टेन्डरमा भगवती कन्स्ट्रक्सनले ६५ लाख घटेर ठेक्का पारेको छ । बाँकी बजेटको पनि ठेक्का गरिने इन्जिनियर श्रेष्ठले बताए । उनका अनुसार अहिले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर स्टेडियम नै निर्माण गर्ने योजना बनेको छ । ‘अहिले भएको बजेटबाट जग्गालाई सम्याउने काम भएको छ,’ उनले भने, ‘अब यसलाई तत्काल के काम गर्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ ।’

वडाध्यक्ष सागरमान महर्जनका अनुसार ट्रयाक रुट सहितको फुटबल मैदान बन्नेछ । यसमा स्विमिङ पुल, इन्डोर खेल खेल्न मिल्ने खेलकुद पूर्वाधार निर्माण गर्ने गरी काम अघि बढेको उनले बताए । ‘हामीले यसलाई सुविधासम्पन्न खेलमैदान बनाउने भन्ने योजना बनाएका छौं,’ उनले भने, ‘बजार क्षेत्रमा जग्गा अभाव हुने भएकाले केही टाढा खेल मैदान बनाउने सोंच बनेको हो ।’ नजिकको क्षेत्रमा खेलमैदान नभएर खेलाडीले अभ्यास गर्नसमेत नपाएको अवस्था छ ।

तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बजेट व्यवस्थापन गरेर सुरुवात गरेको कामलाई पूर्णता दिइने बताए । उनले युवाका लागि आवश्यक खेलमैदान र प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर रंगशाला, स्विमिङ पुलसमेत निर्माण गर्न सकिने बताए । तानसेन नजिकमा खेलमैदान नहुँदा खेलाडीले अभ्यास गर्न समेत पाएका छैनन् । तीन वर्षदेखि टुँडिखेल स्तरोन्नतिको नाममा भत्काएर राखेका थिए ।

जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीरजंग राणाले कुन्सरेमा स्टेडियम स्तरको खेलमैदान बन्ने सुन्दा खेलाडीका लागि खुसीको खबर हुने बताए । ‘लामो समयदेखि खेलाडीले अभ्यास गर्न पाएका थिएनन्,’ उनले भने, ‘खेल खेलाउन पनि दमकडा, सराईलगायत स्थानमा लैजानुपर्ने बाध्यता थियो ।’

नजिकका कुन्सरे, दमकडा, सराईमा खेलमैदान हुँदा माडी र यस वरपरका बस्तीका युवाले फाइदा पाउने उनले बताए । युवाहरू खेलकुदमा लाग्न खोजेपनि पूर्वाधार नहुँदा भने समस्या भोग्दै आउको उनले बताए । सुविधासम्पन्न खेल मैदानका लागि अघिल्लो आर्थिक वर्षमा ९० लाख रुपैयाँ मन्त्रालयले पठाएको उनले बताए । कुन्सरे खेलमैदान तयार भएपछि माडीफाँट र यस वरपरका ग्रामीण भेगबाटसमेत खेल खेलाउन सकिने उनले बताए । नजिकमा दमकडा खेलमैदान रहेको छ । दमकडा खेलमैदानका लागि पनि स्थानीय, प्रदेश र संघीय कार्यालयबाट बजेट विनियोजन भइरहेको छ । युवा तथा खेलकुद मन्त्रालयलेसमेत अघिल्ला वर्ष बजेट विनियोजन गरेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा रानीमहलमा हुने बीच भलिबलका लागि १५ लाख, रम्भा गाउँपालिकामा खेलमैदान स्तरोन्नतिका लागि १६ लाख, अन्य स्थानीय तहमा ५ लाखका दरले बजेट विनियोजन गरेको छ ।

यसअघि जिल्लाकै रैनादेवी छहराले समपूरक बजेटबाट कटौजेपानी खेलमैदानलाई रंगशाला बनाउने गरी काम अघि बढाएको छ । रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, माथागढी, तिनाउ गाउँपालिकाले पनि खेलमैदानका लागि वार्षिक २० लाख बढी खर्च गर्दै आएका छन् । तर अहिलेसम्म गतिलो खेलमैदान निर्माण हुन नसकेको खेलाडीको गुनासो छ ।

प्रकाशित : आश्विन १९, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?