प्रथम दारिम्बा गोल्डकपको उपाधि चाक्सिबोटेलाई- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रथम दारिम्बा गोल्डकपको उपाधि चाक्सिबोटेलाई

लक्ष्मी गौतम

काठमाडौँ — पाँचथरको याङवरक– ५, दारिम्बामा सम्पन्न प्रथम दारिम्बा गोल्डकपको उपाधि चाक्सिबोटे स्पोर्टिङ क्लब ताप्लेजुङले जितेको छ । मंगलबार साँझ सम्पन्न फाइनल खेलमा आयोजक दारिम्बा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

जितसँगै चाक्सिबोटेले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो । उप-विजेता डीएफसी दारिम्बाले ट्रफी र मेडलसँगै प्रमाणपत्र र ३५ हजार रुपैयाँमा चित्त बुझायो ।

त्यस्तै, एनएफसी थर्पू–७(बी)ले महिलातर्फको उपाधि चुमेको छ । सोमबार नै सम्पन्न फाइनल खेलमा एनएफसी थर्पू–७ (बी)ले एनएफसी थर्पू–७(ए) विरुद्ध कठिन जित निकाल्दै उपाधि चुमेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । पेनाल्टी सुटआउटमा 'बी'ले 'ए' लाई पराजित गरेको हो । विजेता एनएफसी (बी)ले नगद १५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो भने उपविजेता एनएफसी (ए)ले ट्रफी, मेडल, प्रमाणपत्र र नगद ७ हजारमा चित्त बुझायो ।

पुरुषतर्फ बेस्ट डिफेन्डरमा रोशन लिम्बू घोषित भए भने बेस्ट किपिङमा सन्तोष तामाङ, बेस्ट प्लेयरमा दिनेश लिम्बू तथा हाई स्कोररमा सुमन लिम्बू घोषित भए । त्यस्तै महिलातर्फ बेस्ट डिफेन्डरमा सोनी लिम्बू, बेस्ट किपिङमा अस्मिता लिम्बू, बेस्ट प्लेयरमा नुमा लिम्बू, हाइस्कोररमा सोनम राई घोषित भए । २१ टीमको सहभागिता रहेको उक्त प्रतियोगिताको समापन कार्यक्रम याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया(शुबास)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित : आश्विन १९, २०७९ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्वपीडितको वेदना : 'चाडपर्वमा आफन्तको सम्झनाले झनै सताउँछ'

रुपा गहतराज

नेपालगन्ज — चौध वर्षको उमेरमा विवाह गरेकी बैजनाथ गाउँपालिका ४ की ५६ वर्षीया पवित्रा सुनारका पति सशस्त्र द्वन्द्वको समयमा मारिए । त्यति बेला उनी चियानास्ताको होटल चलाउँथिन् । पति टाँगा चलाउँथे ।

परिवारको गर्जो चलिरहेको थियो । पति मारिँदा पवित्रा २२ वर्षकी मात्र थिइन् । साना छोराछोरीलाई उनले एक्लै हुर्काइन् । छोराछोरीको भविष्यका लागि वैदेशिक रोजगारीका लागि विदेश पनि पुगिन् । समाज उनको कुरा काटे । तर उनी छोराछोरीको भविष्यका लागि भन्दै नेपाल फर्किन् । अरुको घरको जुठो भाँडा माझ्दै छोराछोरी हुर्काइन् ।

चार सन्तानलाई हुर्काएर बसेकी पवित्रालाई अझै पतिको सम्झनाले छाडेको छैन । ‘याद नगरुँ भने पनि आउँछ ,के गर्नु,’ उनले भनिन्,‘पापी मन; नभएको मान्छेलाई कसरी पाउनु ?’

२०६१ सालमा बाजेलाई घर पुर्‍याउन भनि हिँडेका पतिलाई विद्रोही पक्षले मारिदिएको थियो । 'किन मारे, केका लागि मारे अझै थाहा छैन । घरमा मिठो मसीनो पाक्दा पतिको यादले सताउँछ,’ सम्झिँदै उनले भनिन्, ‘ चाडपर्व आउँदा त झन् मन रुन्छ । मासु खान धेरै रुचाउनुहुन्थ्यो ।’

यस्तै बाकेको कोहलपुर नगरपालिका वडा न ५ बस्ने ६८ वर्षीया चन्द्रकला अधिकारीलाई छोराको यादले सधैं सताउँछ । सशस्त्र द्वन्द्वका बेलामा बेपत्ता पारिएका २९ वर्षीया माइला छोरा अझै पनि फर्केर आउँछ कि भन्ने आशा उनले मारेकी छैनन् । २०५९ साल वैशाख १४ गते शनिबारका दिन उनका माइला छोरालाई सेनाले लिएर गए । उनी छोरालाई खोज्न चारैतिर भौतारिइरहिन्; प्रहरीकहाँ गइन्; राझा चिसापानी ब्यारेक सम्म पुगीन् तर छोरो फेला पारिनन् ।

घरमा कुखुरा भैंसी पालेर खेती किसानी गर्ने छोरालाई लगेर बेपत्ता बनाए । ६८ वर्षीया चन्द्रकला अधिकारीले अझै मनको गाठो फुकाउन सकेकी छैनन् । ‘छोराछोरीको दुःखजस्तो कुनै दुःख हुदो रहेनछ,’ चन्द्रकलाले भनिन्, ‘घरमा मिठो खाना पाक्दा मुटु फुट्लाझै गरेर रुन आउँछ ।’ २० वर्षदेखि हराएको छोरोको अभावमा उनको आँसु अझै रोकिएको छैन ।

एउटा छोरा बेपत्ता, अर्काे छोरा घाइते छन् । गाउँघरमै खेतीकिसानी गरिरहेको छोरा बेपत्ता भए भने जेठो छोरालाई समेत कुटपिट गरेर अझैसम्म घाइते छन् । अहिले उनी औषधी खाएर जीवन कटाइरहेका छन् ।

कोहलपुर सुकुम्बासी टोलमा बस्ने कली दमाईको पीडा पनि उस्तै छ । २०६१ सालमा पति बेपत्ता भएको घटना सुनेदेखि बग्न थालेका पीडाका आँसु अझै रोकिएका छैनन् । बेपत्ता पारिएका पति अवस्थाबारे उनी अहिले पनि बेखबर छन् । पति बेपत्ता भएको १९ वर्ष भइसक्दा समेत आफूले थाहा नपाउँदा झनै पीडा अनुभूति हुने उनले बताइन् । पति बेपत्ताको पीडासँगै उनी पतिको मृत्युपछि थला परिन् । आफूसमेत घाइते भएकी उनी बाँच्न त सफल भइन् । तर औषधिको बलमा बाँचेकी छन् । एक छोरा एक छोरीलाई हुर्काउन उनले निकै सकस गर्नुपर्‍यो । अहिले उनको हातमा न कुनै रोजगारी छ न कुनै सीप ।

अहिले उनी नसाको बिरामी भएकाले नियमित रुपमा औषधि खान्छिन् ।‘औषधि खाने पैसा छैन । घरमा कमाउने मान्छे छैनन्,’ कलीले भनिन्,‘पतिको सम्झनाबाहेक केहि छैन ।’ उनीसँग अहिले औषधि किनेर खाने पैसासमेत छैन ।

द्वन्द्वको समयमा बेपत्ता पारिएका तथा अंगभंग भएकाहरूको पीडा अहिले पनि उस्तै छ । नेपालको संविधान २०७२ अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो । बेपत्ता पार्नेसम्बन्धी घटनाहरूको छानबिन गरी वास्तविक सत्यतथ्य जनतासमक्ष ल्याउन, घटनाबाट पीडित व्यक्तिलाई परिचयपत्र प्रदान गरी परिपुरणको व्यवस्था गर्न र त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि सिफारिस उद्देश्यका लागि ऐन जारी गरिएको भएता पनि हालसम्म द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन सकिरहेको छैन ।

सशस्त्र द्वन्द्वकालको समयमा दुवै पक्षका महिलाहरू विशेष गरी पीडित भएको द्वन्द्वपीडित तथा एकल महिला सञ्जालकी अध्यक्ष जयन्ती खत्रीले बताइन् ।

द्वन्द्वको मारमा परेका महिलाहरू परिवारबाट समाजबाटै अवहेलना र तिरस्कार सहेर बस्न बाध्य छन् । चाडबाड आउँदा नआएकै राम्रो लाग्छ । एक्लै घरमा बस्नुपर्दा आफन्तको सम्झनाले भने सताउछ ।

बाँकेमा ६२ जना बेपत्ता र ३५० जना सहिद परिवार छन् भने एक हजार द्वन्द्वपीडित छन् । एडभोकसी फोरमका बसन्त गौतम द्वन्द्व पीडितको सवालमा राज्य अझै ठोस रुपमा न्याय दिन नसकेको बताए । उनले धेरै आफन्त गुमाएका परिवारले अझै पनि न्याय पाउन नसकेको बताए । सत्य निरुपण आयोग बेपत्ता छानबिन आयोगले द्वन्द्वपीडितको सवालमा काम गर्न नसकेको उनको भनाइ छ ।

द्वन्द्वकालमा पीडित उजुरी अनुसन्धान तथा अनुगमनबाट हालसम्म पनि न्याय तथा परिपूरण पाउन सकेका छैनन् । यसले गरिब तथा सीमान्तकृत समुदायका महिलाहरुको दैनिक जीवन कष्टकर बनेको छ । गौतमले भने, ‘सशस्त्र द्वन्द्वकालको समयमा पीडित भएका परिवारलाई न्यायको अनुभूति गराउने काममा राज्य जवाफेही हुनुपर्छ,' उनले भने, ‘तीनै तहको सरकाले द्वन्द्वकालको समयमा पीडित भएका परिवारका लागि परिपूरणका कार्यक्रम ल्याउन जरुरी छ ।’

प्रकाशित : आश्विन १९, २०७९ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×