लिभरपुलको आत्मविश्वास फर्काउने जित
पेरिस — लिभरलपुलले इंग्लिस प्रिमियर लिगमा आफ्नो खराब प्रदर्शन बिर्साउँदै मंगलबार युरोपेली च्याम्पियन्स लिगमा रेन्जर्सलाई सहजै २-० गोलान्तरले हराएको छ ।
एनफिल्डमा प्राप्त यस जितलाई लिभरपुलका लागि आत्मविश्वास फर्काउने खेलको रुपमा हेरिएको छ । अन्य प्रमुख खेलमा बायर्न म्युनिक र नेपोली पनि विजयी रहे ।
योर्गन क्लोपको लिभरपुलले प्रिमियर लिगका ९ खेलमध्ये तीनमा मात्र जित निकालेको छ । तर रेन्जर्समाथि उसको प्रदर्शन उम्दा रह्यो । एलेक्जेन्डर आर्नोल्डको पहिलो गोलपछि मोहम्मद सलाहले पेनाल्टीबाट दोस्रो गोल थपे । यो जितपछि लिभरपुल लगातार छैटौंपल्ट प्रतियोगिताको नकआउट चरण पुग्ने तयजस्तै देखिएको छ ।
समूह ‘ए’ मा लिभरपुल तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । नेपोली नौ अंकमा शीर्ष स्थानमा छ । उसले अर्को खेलमा आयाक्सलाई ६–१ ले पराजित गर्यो । समूह ‘बी’ मा क्लब ब्रुग्सले एथलेटिको म्याड्रिडलाई २–० ले हरायो भने यही समूहमा एफसी पोर्टोले बायर लेभरकुजनलाई २–० ले पन्छायो ।
यस्तै समूह ‘सी’ मा बार्यनले भिक्टोरिया प्लाजेनलाई सजिलै ५-० ले हरायो । यसमा लेरोय सानेले दुई गोल गरे । बायर्नको तीन खेलबाट नौ अंकसहित शीर्ष स्थानमा छ । समूहको अर्को खेलमा इन्टर मिलानले बार्सिलोनालाई १-० ले हरायो । इन्टरको ६ अंक छ । बार्सिलोना भने तीन खेलबाट तीन अंकमा तेस्रो स्थानमा छ ।
समूह ‘डी’ मा मार्सेले स्पोर्टिङलाई ४–१ ले हरायो र नकआउट चरण पुग्ने समीकरणलाई रोमाञ्चक बनायो । मार्सेको यो पहिलो जित हो र समूहका चौथो स्थानमा छ । हारका बाबजुद स्पोर्टिङ ६ अंकका शीर्ष स्थानमै रहेको छ । अर्को खेलमा फ्रायन्कफर्ट र टोटनहमले गोलरहित बराबरी खेले । दुवै टिमको समान चार अंक रहेको छ ।
प्रकाशित : आश्विन १९, २०७९ ०८:५७