२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आर्सनलमा केही ठोस हुँदै

फिल म्याकनल्टी

लन्डन — पछिल्लो इतिहासले त खासमा चेतावनी नै दिन्छ, आर्सनललाई केही जितमा बढी भावनात्मक नहुनु भनेर । तर अहिले भने केही लाग्न थालेको छ, आर्सन वेन्गरको समयपछि आर्सनलमा पहिलोपल्ट केही ठोस हुँदै छ ।

आर्सनलमा केही ठोस हुँदै

यो पनि धेरै धेरै लामो समयपछि । अहिले त दाबी गर्न भने हतार हुन सक्छ, आर्सनल इंग्लिस प्रिमियर लिगको उपाधिका लागि बलियो दाबेदार हो । अथवा यो पनि झूट हुन सक्छ, आर्सनल टिम खुबै गज्जबको छ भन्न ।

यस्तो किन भन्दा व्यवस्थापकमा मिखेल आर्टेटा आएयता अथवा यसअघि उनाइ इमरी हुँदा पनि आर्सनलमाथि बेलाबेलामा धेरै विश्वास गरियो । तर दुवैले निर्णायक मोडमा माथ खाए । तर शनिबार उत्तरी लन्डन डर्बीमा टोटेनहमलाई ३–१ ले हराएयता कम्तीमा एउटा प्रमाण भने साँच्चै तयार भएको छ, आर्सनलमा आफ्नो पुरानो छवि र परिचय फर्केको छ । एन्टोनियो कोन्टेको टिम टोटेनहम पनि अंक तालिकाको माथि माथि छ र उसले आर्सनललाई बलियो चुनौती पेस गर्ने सजिलै अनुमान गरिएको थियो ।

त्यसो त पछिल्लो १२ वर्षमा इमिरेट्समा आर्सनलमाथि कुनै प्रिमियर लिगका खेल जितेको छैन । लिगका पछिल्ला २९ खेलमै पनि आर्सनलले टोटेनहमविरुद्ध घरमा एकै खेल मात्र गुमाएको छ । त्यस अर्थमा अहिलेको पछिल्लो जितमा कुनै घोर आश्चर्य मान्नुपर्ने केही पनि छैन । तर जसरी आर्सनलले जितेको छ, त्यसमा ध्यान दिन पनि आवश्यक छ नै । आर्सनलको यो जित वास्तवमै सटीक रह्यो, खेलमाथि आर्सनलको प्रभुत्व मज्जाले थियो र यसले दिएको सन्देश हो, आर्सनल अगाडि बढ्दै छ ।

पोहोर सिजन आर्सनललाई उछिनेर टोटेनहम युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएपछि त्यसलाई ठूलै धक्का मानिएको थियो, त्यो पनि लिगको अन्तिम दिन । त्यति बेला टोटेनहममा व्यवस्थापक कोन्टेको पनि खुबै प्रसंसा गरिएको थियो, कसरी उनले टिमलाई अगाडि बढाए भनेर । उनले टोटेनहम सम्हालेको पनि केही महिना मात्र भएको थियो । आर्सनललाई पनि यस्तै सुखद परिवर्तनको आवश्यकता थियो, जसलाई आर्टेटाले बुझेका पनि थिए ।

त्यसैले उनले दुई राम्रा खेलाडी भित्र्याए, ग्याब्रिएल जेसस र ओलेक्जान्डर जिनचेन्कोलाई । आर्टेटाले यी दुवै खेलाडीसँग काम पनि गरिसकेका थिए, म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओलाको सहायक हुँदा । त्यति मात्र होइन, उनले लोनमा बाहिर गएका डिफेन्डर विलियम सलिबालाई पनि फेरि फिर्ता बोलाए । यसको प्रभाव आखिरमा देखियो नै । जेससले सुरुमै टिमलाई लय दिए, केही गोल गर्दै । जिनचेन्कोले पनि टिमलई चाहिने स्तर, सिर्जना र संयमितता फर्काए ।

आर्सनललाई सबैभन्दा बढी चाहिएको भने कुनै न कुनै उपाधि जित्ने भोक र त्यसलाई सुहाउँदो मानसिक स्थिति नै हो । नत्र इतिहाद स्टेडियममा वर्ष दिन बिराएर उपाधि त भित्रिरहेकै थियो । ग्वार्डिओला आफैं पनि जेससका राम्रै प्रशंसक हुन्, तर सिटीमा इर्लिङ हल्यान्ड आएपछि यी ब्राजिली खेलाडीलाई बेच्नु नै ठीक माने । फेरि जेससलाई अबको विश्वकप खेल्न पनि आफूलाई प्रमाणित गर्नु थियो । उनले काम पनि यस्तै गरेका छन् ।

फ्रान्सेली २१ वर्षीय डिफेन्डर सलिबाट सेस्ट इस्टेन, निस र मार्सेमा समय बिताए यता परिपक्व हुँदै आर्सनल फर्केका छन् । उनको प्रदर्शन पनि उम्दा रहेको छ । आर्टेटाले यिनै सम्मिश्रणको मद्दतले टिममा युवा र अनुभवीको बलियो तालमेल बसालेका छन् । टोटेनहमविरुद्धको एक खेल छाडेर अझै पनि आर्सनलमाथि उही प्रश्न बाँकी छ, जति बेला उसले ठूला प्रमुख प्रतिद्वन्द्वीको सामना गर्दा कसरी खेल्नेछ ? अनि जति बेला निर्णायक मोड आउँछ, त्यति बेला फेरि डगमगाउने त होइन ?

म्यानचेस्टर युनाइटेडविरुद्ध पराजित खेलमा पनि आर्सनल खासै खराब भने देखिएको थिएन । अहिले टोटेनहमविरुद्ध त आर्सनल पक्कै पनि प्रभावशाली देखिएकै हो । टोटेनहम आफैं यस सिजन खुबै राम्रो रहेको छैन, उसको सबैभन्दा ठूलो र बलियो पक्ष भन्नु नै तिनै कोन्टे हुन् । यही टिममाथि प्राप्त जितमा आर्सनलका समर्थकमाझ पक्कै पनि खुसी छाएको देखियो । इमिरेट्स स्टेडियममा जताततै प्रसन्नता छाएको छ, अहिले । विश्वास गरौं, आर्सनलमा यसपल्ट पक्कै केही ठोस हुँदै छ । –बीबीसी

प्रकाशित : आश्विन १७, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?