३४ औं झरना रनिङ शिल्डको उपाधि जनज्योतिलाई- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३४ औं झरना रनिङ शिल्डको उपाधि जनज्योतिलाई

सन्जु पौडेल

तिलोत्तमा — ३४ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि जनज्योती क्लब डिंगरनरले जितेको छ । झरना स्पोर्टस् क्लब, तिलोत्तमा, ६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेलमैदानमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा जनज्योतिले भूपू सैनिक जोवाई स्पोर्टिङ क्लबलाई १ गोलले पछि पार्दै उपाधि सुरक्षित गरेको हो ।

कोरोना महामारीले रोकिएको यस क्षेत्रकै सबैभन्दा ठूलो धन राशिको फुटबल प्रतियोगिता झरना कपमा १६ टिमको प्रतिस्पर्धामा आफूलाई अब्बल गराउँदै फाइनलमा पुगेर जनाज्योतिले खेल जित्यो ।

दुवै टिम खेलको समयावधिभर १/१ गोलको बराबरीमा खेलेका थिए । ट्राइब्रेकरमा धकेलिएको खेलमा भूपू सैनिक जोवाई स्पोर्टिङ क्लब १ गोलले पछि पाऱ्यो । सेमिफाइनल प्रतिस्पर्धामा भूपू सैनिक ले फूलबारी गाइज बुटवललाई पछि पारेको थियो भने जनज्योति क्लबले आयोजक झरना स्पोर्ट्स क्लबसँग सेममिफाइनल जितेको थियो ।

विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसीले पुरस्कार हस्तानतरण गरे । उनले झरना स्पोर्ट्स क्लबले ३४ औं वर्षसम्म फुटबल खेललाई अघि बढाउन पुऱ्याएको योगदानको प्रशंसा गरे । उनले यस्ता खेलबाट अघि बढेका खेलाडी राष्ट्रिय टिमका उदयमान खेलाडी बनेको देख्दा खुसी लागेको बताए । खेल क्षेत्रको विकासमा राज्य मात्र नभई नागरिक समेतको चासो र प्रयासले नेपाली खेलकुदको विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान उत्कृष्ट बन्दै जाने उनको भनाइ छ ।

प्रतियोगितामा रुपन्देहीसहित छिमेकी जिल्ला कपिलवस्तु, परासी साथै पोखराको समेत गरी १६ वटा टीमको सहभागिता रहेको थियो । खेलमा विजेता बनेको जनज्योतिले ३ लाख ११ हजार रुपैयाँ, शिल्ड, मेडल र ट्रफी प्राप्त गऱ्यो भने उपविजेता भूपू सैनिकले १ लाख ७५ हजारसहित शिल्ड, मेडल, ट्रफी प्राप्त गरेको थियो । त्यस्तै, सेमिफाइनल पुग्न सफले २ टीमले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट डिफेन्सर जनज्योति क्लबका सुमन अर्याल बने । साथै बेस्ट प्लेयर जनज्योतिकै एलन थापा, हाई स्कोरर बाणगंगा क्लब कपिलवस्तुका अरुण थारु बने । उनले एउटै खेलमा ४ गोल हानेका थिए । त्यस्तै, बेस्ट गोल किपरको उपाधि भूपू सैनिक जोवाईका जनक श्रेष्ठले हात पारे ।

प्रकाशित : आश्विन १६, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

‘विराटनगरले कसैलाई खाली हात पठाउँदैन’

पवन शारडा

म विराटनगर आएको ३२–३५ साल भएको छ । विराटनगरमा मेरो जन्म भएको होइन । सिरहाको लहानबाट यहाँ आएर व्यापार सुरु गरेको हुँ । यो ३० सालमा विराटनगरले ठूलो फड्को मारेको छ । पहिले विराटनगर ऐतिहासिक नगरी हो । 


विराटनगरमा सबैभन्दा पहिले नेपालको जुटमिलको स्थापना भयो । जुटमिलको पहिचान दिएको विराटनगरले हो । एक समयमा विराटनगर टेक्सटाइल र जुटमिलको हब थियो । तर, नेपालमा काठमाडौंदेखि सबै पश्चिमका प्रदेशमा खाद्यान्नदेखि सबै वस्तु उत्पादन भएर जान्थ्यो । यो पहिचान औद्योगिक नगरीका रूपमा विराटनगरको थियो र अहिले पनि केही हदसम्म छ ।

एउटा समय यस्तो थियो काठमाडौंपछिको दोस्रो सहर विराटनगर भनिन्थ्यो । अहिले हेर्दा चौथो–पाँचौं स्थानमा खस्केर गएको स्थिति पनि हो । यो हाम्रो लागि दुःखको कुरा हो । संघीयता आएपछि स्थानीय सरकार आयो । स्थानीय सरकारपछि विराटनगरमा भौतिक पूर्वाधार विकास र सडक निर्माण अरु स्थानीय तहभन्दा धेरै राम्रो छ । विगत ५–६ सालमा धेरै काम भएको छ । आउने समयमा जनसंख्याको चापका हिसाबले सडकमा अकासे पुलहरू बनाउने सोच लिएर अगाडि बढिरहेका छौं । यहाँ उद्योगी होस् कि नगरप्रमुख, वडाका नेता वा सर्वदलीय मान्छेहरू पनि हामी छलफल गरेर आफ्नो सहरको विकासको लागि कुरा गर्छौं । विकासमा यहाँ कुनै पनि विभेद मान्दैनौं । स्वीकार्य छैन । यो कुरा सबै राजनीतिक पार्टीले राम्ररी बुझेको छ ।

विराटनगरको पहिचान राजनीतिक पनि थियो । यहाँ कोइराराला, रिजाललगायत मनमोहन अधिकारीलगायतको राजनीतिको थलो थियो । राजनीतिको विषय उठ्दा, राजनीतिको पहिचान पनि बोकेर विराटनगर भएको हो । सबै नेता विराटनगरमा बसेर हुन्छ भन्ने काठमाडौंको सोच छ । त्यो हिसाबको पनि एउटा सोच थियो । तर अहिले विराटनगर मेडिकल र शिक्षाको हब भएको छ । यी क्षेत्रमा अहिले धेरै सुधार भएको छ । यहाँका मान्छेहरूलाई उपचारको लागि भारतका पूर्णिया, दरभंगा जानुपथ्र्याे । अहिले धेरै उपचार यहाँ भएको छ । यो प्रदेश १ को मात्रै होइन छिमेकी मधेस प्रदेशबाट पनि उपचार र शिक्षाको पहिलो प्राथमिकता विराटनगर हुन्छ । किनभने यहाँ आवासीय व्यवस्था राम्रो छ । होटलहरूको सुविधा राम्रो छ ।

विराटनगर एउटा सहर मात्रै होइन । यो तीन वटा चिजले जोडिएको छ । यो आर्थिक नगरी हो । यो सामाजिक नगरी हो । र, यो धार्मिक नगरी हो । यहाँ समाजका हरेक वर्गलाई, अझ निःशुल्क बस्न खोज्यो भने कम लगतमा धार्मिक संस्थाहरूमा बस्न आयो भने धेरै धर्मशालाहरू यहाँ छन् । कोभिडको बेलामा दुनियाँमा के उपचार गर्ने भन्ने सोचिरहेको थियो, विराटनगर समाजले तुरुन्तै २ सय सैय्याको आम जनतालाई हुने गरी निःशुल्क अस्पताल २ महिनामा तयार ग¥यो । यो नगरीमा सामाजिक उत्तरदायित्व पनि लिएको छ । धार्मिक पहिचानलाई जोगाइराखेको छ । र आर्थिक क्रियाकलापबिना कुनै पनि सहर हुँदैन ।

विराटनगरमा बाहिरबाट आएर पनि मान्छेले आफ्नो जीवनयापन गर्न चाहन्छ भने रोजगार पनि पाउँछ । विराटनगरले हरेक किसिमको रोजगारीको अवसर पनि दिन्छ । यहाँ त्यस्तो भेदभाव छैन । पुष्पलाल चोकको कुरा गर्नुभयो भने त्यहाँ बसिरहेका मान्छेहरू कोही विराटनगरबासी छ ? सबै बाहिरबाट आएका हुनुहुन्छ । हामीले सबैलाई अपनत्व दिएका छौं । मलाई पनि विराटनगरले अपनत्व दिएको हो, म पनि लहानबाट आएको हो । यो सहर कस्तो छ भने सबैलाई समेटेर अगाडि बढ्ने हो ।

आज दिल्ली, मुम्बई, सांघाई सहरको कुरा गर्नुहुन्छ भने त्यो हिसाबले अहिले हामीसँग त्यति स्रोत साधन छैन । तर नेपालको सन्दर्भमा भन्नुभयो भने विराटनगर बाहेकका औद्योगिक नगरी चाहे भैरहवा, नेपालगन्ज पकड्नुस् चाहे वीरगन्जमा । त्यहाँ अलिकति पनि ठूला उद्योग भए भने तिनीहरू काठमाडौं बसाइँसराइ गर्न चाहन्छ । त्यहाँ बसेर व्यापार गर्दैन । तर अहिले पनि विराटनगरमा यहाँका उद्योगीहरू यहीँ बसेर व्यापार गर्न रुचाउछन् ।

विराटनगर सबैका लागि उपयुक्त सहर हो । रंगेली, इटहरी र अरु छिमेकीका मेयर जनप्रतिनिधिलाई पनि विराटनरले स्वागत गर्छ । आर्थिक कुरा हो चुनावको बेलामा मान्छेले सहयोग खोज्छ । यो मात्रै होइन अर्को प्रदेशबाट पनि आउँछ । यहाँको बानी के छ भने, कसैलाई पनि खाली हात नपठाउने ।

- मोरङ व्यापार संघका पूर्वअध्यक्ष शारडाले विराटनगरमा आयोजित ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमको ‘बदलिँदा सहर’ सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १६, २०७९ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×