कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

कोन्ज्योसोममा सुवासलाई घर

नेपाल गल्फ संघले सागमा दुई स्वर्ण जितेवापत सुवास तामाङलाई एक तलाको पक्की घर निर्माण गरिदिएको छ
विनोद पाण्डे

ललितपुर — बुुद्ध धर्ममा कोन्ज्योसोमको अर्थ हुन्छ बुद्धका तीन रूपका भगवान् । हिन्दु धर्ममा ब्रह्मा, विष्णु र महेश्वर । दुवै धर्मको सार एउटै हो भगवान् । रिङरोडबाट २२ किलोमिटर दक्षिण लागेपछि दुर्गममा छ ललितपुरको कोन्ज्योसोम गाउँपालिका । पहिला यसलाई भारदेउ गाविस भनिन्थ्यो ।

कोन्ज्योसोममा सुवासलाई घर

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेको भनाइ मान्ने हो भने कोन्ज्योसोम गाउँपालिकामा साक्षात्कार भगवान् छन्, सुवास तामाङको रूपमा । सुवासका ‘गड फादर’ हुन घले । सुवासकै आडमा गल्फले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण नजिते अध्यक्ष पदबाटै राजीनामा दिने घोषणा घलेले प्रतियोगिता हुनुअघि गरेका थिए ।

सुवासले तीन वर्षअघि नेपालमा भएको १३ औं सागमा व्यक्तिगत र टिममा गरी दुई स्वर्ण पदक जितेर इतिहास रचिदिए । त्यही भएर सुवासलाई नेपाली गल्फकै भगवान् मान्छन् घले । यो गल्फ संघकै मात्र नभएर नेपाली खेलकुदकै ठूलो सफलता थियो । सुवास जुन परिवेशबाट गल्फ खेल्न आए त्यो नै आफैंमा साहसको कथा थियो । यही साहसिलो सफलताका लागि नेपाल गल्फ संघले सुवासलाई कोन्ज्योसोममा एक तलाको पक्की घर निर्माण गरिदिएको छ । जसलाई शनिबारमात्र हस्तान्तरण गरेको छ ।

तीन महिनाअघि सुवासको घर बनाउने अभियानमा एउटा च्यारिटी इभेन्ट भएको थियो । गोकर्ण गल्फ क्लबले कुनै पैसा नलिई यो अभियानमा सहयोग गरेको थियो । च्यारिटीमा ५ हजारदेखि सुरु भएको थियो । सबैभन्दा बढी सुहृद घिमिरेले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए । कुल १५ लाख उठेको थियो । गल्फ संघका कोषाध्यक्ष किसन अग्रवालका अनुसार घर निर्माणमा २४ लाख खर्च भएको छ । फर्निचर हाल्न थप दुई लाख लाग्ने अनुमान छ । अपुग बजेट संघले व्यवस्थापन गर्ने अग्रवाल बताउँछन् ।

सुवासले आमाबुवासँगै बस्न एउटा पक्की घर बनोस् र भाइलाई बोर्डिङ स्कुल पढाउने चाहना राखेका थिए । गल्फ संघका महासचिव सीबी भण्डारीको बाफलमा अवस्थित साइरस इंग्लिस स्कुलमा सुवासका १३ वर्षे भाइ अर्जुन तामाङ ५० प्रतिशत छात्रवृत्ति लिएर पढ्छन् । सुवासले गल्फमा पाइला टेकेदेखि उनको व्यववारमा आमूल परिवर्तन आएको छ ।

ललितपुरको कोन्ज्योसोमस्थित आफ्नो पुरानो घरमा परिवारका साथ नेपालका नम्बर वान एमेच्योर गल्फर सुवास तामाङ ।
पुरानो घरभन्दा दुई कान्लामात्र माथि बनेको छ नयाँ घर । जस्तापाताले छाएको त्यो पुरानो घर धेरै पटक पानी छिर्दा ओसिलो बन्थ्यो । जाडोमा कहिल्यै न्यानो हुन सकेन त्यो घर । त्यतिमात्र होइन दर्जन खसीबाख्रा, ओछ्यान, भातभान्सा सबै एकै ठाउँमा छन् । यो माहोलमा जन्मिएर हुर्किंदा सुवासले सुख कहिल्यै देख्नै पाएन । सुवासका बुवा उत्तम ज्यालादारी गर्छन् भने आमा सानुमाया तामाङ जन्मँदै अपाङ्ग छिन् । एउटा खुट्टा खोच्याएर हिँड्छिन् ।

शनिबारको माहोलपछि अब सुवासको परिवार अब नयाँ घरमा सर्नेछ । पुराना घरमा दर्जन खसीबाख्रा रहेकामा अझै थप्ने योजना छ । आमा सानुमायालाई सुवासले के गर्छ केही थाहा छैन, घर कसरी बनेको पनि उनी ठम्याउन सक्दिनन् । उनकी बहिनी पनि मेरुदण्डका कारण जन्मिँदै अपाङ्ग थिइन् । त्यही मेरुदण्डको केही समयअघि अप्रेसन गर्दा उनको मृत्यु भएको थियो ।

सुवास १० वर्ष जतिका हुँदा एकपल्ट मामा घर पुगेका थिए । मामाका छोरा उनका भाइ विनोद तामाङ रोयल नेपाल गल्फ क्लबमा बल व्वाइ थिए । उनी आफ्ना भाइलाई खाना पुर्‍याउन एक पटक एयरपोर्ट छेउ पुगे । त्यही काम गर्ने श्याम तामाङले गल्फ कोर्समा काम गर्ने हो भनेर प्रस्ताव राखेपछि सुरु भयो सुवासको बल टिप्ने कार्य । उनले ५ वर्ष काम गर्दैगर्दा गल्फ खेल्न सिके । उनी रेन्जमा गएर बल हानिरहँदा अध्यक्ष घलेले देखेका थिए । घलेले सुवासभित्रको गल्फ प्रतिभा चिनिहाले । यहींबाट सुरु भयो सुवास र नेपाली गल्फको यू–टर्न ।

नेपाल गल्फ संघले सहयोग उठाएर उनका लागि बनाइदिएको घर शनिबार हस्तान्तरण गरिएपछि । तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

‘१३ औं सागमा स्वर्ण जित्नुअघि उनी एयरपोर्टतिर गल्फ खेल्छन् भन्ने हामी कसैलाई थाहा थिएन । त्यसैले यसको सबै श्रेय गल्फ संघलाई दिनुपर्छ । उनको परिवार निकै विपन्न स्थितिमा छ,’ कोन्ज्योसोम गाउँपालिका वडा नं. ५ का अध्यक्ष विजयुकमार स्याङतान शनिबार सुवासलाई गल्फ संघले घर हस्तान्तरण गर्दा निकै उत्साही देखिए । सुवासको घर निर्माण योजनामा ठूलो सहयोगी बनेका उनले भने, ‘नाताले सुवास मेरो भान्जा हो, उसले गल्फ खेल्छ भन्ने हामीलाई थाहा थिएन । सागमा स्वर्ण जितेपछि पत्रिकामा फोटो देखेरमात्र थाहा पायौं । अहिले गाउँपालिकाका धेरैले सुवासलाई चिन्छ ।’

स्वर्ण जितेपछि कोन्ज्योसोम गाउँपालिकाले पनि सुवासलाई सम्मान गर्दै १ लाख नगद प्रदान गरेको थियो । ‘भारदेउमा बस्दा गुम्सिएर बसेको अवस्थामा सुवासले यो ठाउँको पहिचान दिएका छन्,’ वडाध्यक्ष स्याङतनले भने, ‘बाउ विपन्न परिवारको, आमा अपाङ्गता भएका कारण सुवासले चाहेर पनि पढ्न सकेनन् । उनले ४–५ कक्षामात्र पढेका छन् । तर गल्फ खेलमार्फत उनले ठूलो परिवर्तन ल्याएर यो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाएका छन् ।’

सुवास अर्को महिना एसियन एमेच्योर गल्फ च्याम्पियनसिप खेल्न जाँदै छन् । यो एमेच्योर गल्फमा एसियाको सबैभन्दा ठूलो प्रतियोगिता हो । गल्फ संघ एसियन एमेच्योर खेल्न जानुअघि नै सुवासलाई घर हस्तान्तरण गरेर उनको मनोबल उच्च पार्न लागेको थियो । जसका कारण मनसुनको प्रतिकूलताको समयमा दुई महिना अघिमात्र घर बनाउन सुरु गरेको थियो ।

‘धेरै खेलाडीलाई प्रयास गरे पनि सुवास निकै मिहिनेती र भाग्यमानी भएर निस्किए । सुवासले छोटो समयमा जुन नतिजा दिलाए त्यो नै महत्त्वपूर्ण हो । एसियाली खेलकुदमा पदक र ओलम्पिक सहभागितामात्र नभएर व्यवसायिक इभेन्ट पनि उनले खेल्न सक्ने सपना हामीले देखेका छौं । गल्फ संघ त्यही अनुसार अगाडि बढिरहेको छ,’ घलेले भने । सुवासले दोहोरो स्वर्ण पदक जितेपछि पाएको पैसा कसैले निकाल्न नपाउने गरेर बैंकमा फिक्स डिपोजिट गरिदिएका छौं । नगद सम्मानबाट २३ लाख जम्मा भएको छ । त्यसको ब्याजको पैसाले भाइको पढाइमा लाग्ने अन्य खर्च बेहोर्दै आएका छन् ।

गल्फ संघका युवा तथा खेल विकास निर्देशक दीपक आचार्य उनले क्रमिक रूपमा आफ्नो खेल सुधार गर्दै माथिल्लो स्तरमा ल्याएकै कारण सुवासले सागमा दुई स्वर्ण जित्न सकेको बताउँछन् । आचार्यले भने, ‘त्यसपछि हामीले धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएर सुवासको खेल अझ तिखार्नतिर लाग्यौं ।’

उनले भारतको प्रतिष्ठित तरुण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् । त्यसका लागि वार्षिक झन्डै ४० लाख रुपैयाँ लाग्छ । गल्फ संघले सबै त्यसको बन्दोबस्त गरिदिएको छ । ‘अहिलेभन्दा उनको प्रदर्शन निकै माथिल्लो स्तरमा जाओस भनेर हामीले यो व्यवस्थापन गरेका हौं,’ आचार्यले भने, ‘भोलिका दिनमा उनले एउटा एसियाली खेलकुद र साग खेलकुदमा खेलिसकेपछि उसलाई व्यावसायिक खेलाडी बनाउने योजना छ । सुवासको पनि आफ्नै व्यावसायिक इभेन्टमा खेल्ने उद्देश्य छ ।’

गल्फमा एउटा नियम परिवर्तन आएको छ, एमेच्योरले केही हजार डलर पुरस्कार पाउने व्यवस्था गरेको छ । यस परिवर्तित नियमले सुवासलाई केही राहत प्रदान गरेको छ । एमेच्योर नम्बर एक गल्फर सुवासले २०१९ मा सूर्य नेपाल च्यालेन्ज तथा यस वर्ष सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गरी तीन वटा व्यावसायिक प्रतियोगिता जितिसकेका छन् । तर एमेच्योर खेलाडी भएका कारण सुवासले उपाधि जित्दा कुनै नगद पाउँदैनन् ।

सुवास व्यावसायिक खेलाडी बन्ने दौडमा छन् । गल्फ संघ उनलाई एक पटक एसियाली खेलकुद र ओलम्पिक खेलाएपछि मात्र उनलाई व्यवसायिक खेलाडीको रूपमा उतार्न चाहान्छ । उनी हाल ओलम्पिक छात्रवृत्ति लिएर खेलिरहेका खेलाडी हुन् । उनले त्यसवापत मासिक ९० हजार पाइरहेका छन् । त्यो सबै खेल्ने र गल्फका सामानमा खर्च गर्नुपर्छ ।

सुवास विश्व एमेच्योर वरीयतामा १ सय ३० औं स्थानमा छन् । गल्फ संघले यसै साता आयोजना गरेको नेपाल टुरिजम एमेच्योर च्याम्पियनसिप जितेका थिए । विश्व वरीयताको यो प्रतियोगिता जितेकाले सुवास यो साता वरीयतामा १ सयभन्दा मुनि आउने अपेक्षा आचार्यको छ । यसअघि उनी १ सय १३ स्थानसम्म पुगिसकेका थिए ।

प्रकाशित : आश्विन १६, २०७९ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?