कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्टार’ पथमा अञ्जन

नेपाली राष्ट्रिय फुटबल टिममा ८ वर्ष बिताइसकेपछि अञ्जन विष्टसामु एउटा यस्तो गन्तव्य तयार भएको छ, जसले उनलाई उचाइमा पुर्‍याउने पक्का छ
सन् २०१४ मा फिलिपिन्सविरूद्ध दोहामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अञ्जनले ‘डेब्यु’ को अवसर पाएका थिए, जतिबेला उनलाई प्रशिक्षक ज्याक स्टेफानोस्कीको मन जिते
हिमेश, तस्बिर : केशव थापा

काठमाडौं — फरक प्रसंग । तर सुहाउँदो । श्याम थापा चाहन्थे, कोही नेपालीले दक्षिण एसियाली फुटबलमा तहल्का मच्चाओस् । अझ भनौं, कोही नेपाली यस क्षेत्रको सबैभन्दा ठूलो स्टार बनोस् । केही हदसम्म उनी आफैं ठूला नाम रहे । गणेश थापा पनि यसको छेउछाउ पुगे । तर उनको त्यो सपना पछिल्लो समय अधुरै रहेको छ । केही नाम टुप्लुक्क ननिस्केका होइनन्, तर तिनले आफूलाई साँच्चै स्थापित गर्न सकेनन् । अब नसक्नेको किन नाम लिने ?

‘स्टार’ पथमा अञ्जन

बरू, यस्तो काम गर्नसक्ने एउटा नाममाथि भने आस पलाएको छ । ती हुन्, अञ्जन विष्ट । बंगलादेशविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गरेपछि उनी बाक्लै चर्चामा छन् । फेरि नहोस् किन ? उनले कामै यस्तो गरेका छन् । दुर्लभ उपलब्धिको काम । नेपाली राष्ट्रिय टिममा ८ वर्ष बिताइसकेपछि उनीसामु एउटा यस्तो गन्तव्य तयार भएको छ, जहाँ उनी सजिलै नेपाली फुटबलकै सबैभन्दा ठूलो नाम (स्टार) हुन सक्छन् । तर त्यत्तिकैमा उनी महान् भने हुने छैनन् ।

अञ्जनले आफूलाई दक्षिण एसियाली वृत्तमै प्रमाणित गर्नुपर्नेछ । अहिले नै नेपाली घरेलु फुटबलको सबैभन्दा ठूलो स्टार रहेको स्थितिमा उनको काँधमा टेकेर के श्याम थापाको सपना अरू कसैले पनि सोच्न सक्छन् त ? यसका लागि धेरथोक उनमै निर्भर हुनेछ । उनमा प्रतिभा छ, यसमा कहाँ शंका छ र ? डर हो, कतै उनले यो प्रतिभा फुस्स बेकाममा उडाउने त होइनन् ? उनी आफैं कतै अल्मलिने त होइनन् ? सायद यस्तो हुने छैन ।

एकै वर्ष भयो आहा–रारा गोल्डकपका क्रममा उनलाई पोखरामा भेट भएको । भेट त अरू बेला पनि भएको हो । तर, त्यतिबेला उनी गम्भीर थिए । सहाराले उनलाई सम्मान गरेको अवसर थियो । अञ्जन केही भावुक पनि बने । कुरा गर्दा सुस्केरा हाल्थे अनि गम्भीर देखिन्थे । भन्थे, ‘जीवनले मलाई धेरै सिकायो ।’ बीचतिर हल्का केही ‘एटिच्युड’ देखाउन रुचाएका अञ्जन अचेल नापेर तौलेर बोल्ने गम्भीर अञ्जन भइसकेका छन् ।

मुखमा हाँसो नल्याएर अनुहारमा खुसी नदेखाएर बोल्ने प्रयास गर्छन् । त्यो पनि जितको व्याख्या गर्न । अचम्म छ । बंगलादेशविरुद्धको त्यही जित र ह्याट्रिक पछि उनले पुराना दिन सम्झन चाहेनन् । वास्तवमै धेरै उतारचढाव थियो । बरू, यही उतारचढावको बोझले उनी केही थिचिएको देखिए तर सकारात्मक ढंगले । लाग्छ, उनी अचेल आफ्नै खुसीमा खेल्न चाहन्छन्, नेपालका लागि खेल्न चाहन्छन् । यो त्यही बाटो त हो, जसले उनलाई केही वर्षभित्र वास्तवमै ठूलै खेलाडी बनाउन सक्छ ।

भंग गर्नैपर्ने एउटा कीर्तिमान

हरि खड्का र नीराजन रायमाझीको नामको एउटा कीर्तिमानले अचेल नेपाली फुटबललाई नमज्जाले जिस्क्याउने गर्छ । दुवैको नाममा नेपालका लागि समान १३ गोल गरेको कीर्तिमान छ । नेपाली फुटबलका लागि यो यस्तो मानक भएको छ, जसलाई छुन र भंग गर्न नसक्दा लाग्छ अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि गोल गर्ने खेलाडी नै छैन कि के हो ? पक्कै पनि हरि र नीराजन दुवै खुसी हुनेछन्, यदि तिनलाई पनि उछिनेर बढी गोल गर्ने खेलाडी निस्किए भने ।

हो, अब अञ्जनबाट बेस्सरी यही अपेक्षा गर्न सकिन्छ । बंगलादेशविरुद्धको ह्याट्रिक पछि उनले नेपालबाट गरेको गोलसंख्या पुगेको छ १० । नेपालका लागि दोहोरो संख्यामा गोल गर्ने खेलाडी कमै छन्, जम्मा ५ जना । हरि र नीराजन भइहाले, त्यसपछि पछिल्लो अञ्जन नै । त्यसबीच जुमनु राई र भरत खवासले यो उपलब्धि चुमे । जुमनुले ११ गोल गरेका छन् भने भरतले १० । जुमनुले फुटबल खेल्नै छाडेको स्थिति छ ।संन्यास मात्र नलिएको अवस्था हो ।

भरत अचेल राष्ट्रिय टिममा पर्न छाडेका छन् । समस्या यहीं छ । त्यसैले आस अञ्जनबाटै मात्र छ । ठ्याक्कै एक वर्षअगाडि मालेमा साफ च्याम्पियनसिप चलिरहँदा उनी एक अवसरमा प्रेससामु आए । प्रश्न थियो, त्यो १३ गोलको कीर्तिमानमाथि कत्तिको नजर छ ? उनी भन्थे, ‘त्यो कीर्तिमान छुने र भंग गर्ने सपना त छ नि । किन नहुनु । धेरै भयो, यो कीर्तिमान त्यसै कायम बसेको ।’ फेरि यही प्रश्न बंगलादेशविरुद्धको खेलपछि पनि गरियो ।

उनको भाषा भने फेरिएको छ । अब त उनी त्यो कीर्तिमानभन्दा पनि नेपालका लागि राम्रो प्रदर्शनमा जोड दिने भइसके । आफूले गोल गर्नुभन्दा टिमले जितोस् भनेर भन्छन् । ठीकै हो । यो नै त हो, अञ्जन परिपक्व भएको चिन्ह । तर मज्जाले दाबी गर्न सकिन्छ, उनको मनमा त्यो १३ गोल छुने र त्यसभन्दा अगाडि बढ्ने इच्छा छ नै । खाली भन्दैनन् तर मनमा छ नै । यस्तो इच्छा हुनुपर्छ । नहुने हो त के को खेलाडी ?

आठ वर्षअघिको डेब्यु

संयोग मान्नुपर्छ, बंगलादेशविरुद्ध उनले नेपालका लागि खेलेको ५० औं खेल रह्यो । यो व्यक्तिगत रूपमा राम्रै कोसेढुंगा उपलब्धि हो । बीचबीचमा अनुशासनको कारबाही नभएको भए, मुख्य प्रशिक्षकसँग विद्रोह गर्नुपर्ने स्थिति नै नआएको भए, यसअघि नै उनले नेपालका लागि ५० औं खेल खेलिसक्थे । मन केमा चित्त बुझाउन बाध्य हुनुपर्छ भने अञ्जन साँच्चै राम्रा खेलाडी हुन् भने यस्तै खेलाडीले त हो उतारचढाव बेहोर्ने ।

सन् २०१४ अक्टोबर ३१ । यो त्यही दिन हो, जुन दिन अञ्जनले फिलिपिन्सविरुद्ध दोहामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ‘डेब्यु’ को अवसर पाए । त्यतिबेला प्रशिक्षक थिए, ज्याक स्टेफानोस्की । नेपाल उक्त खेलमा ३–० ले पराजित रह्यो । त्यो नेपालले खेलेको १ सय ७२ औं खेल थियो । बंगलादेशविरुद्धको पछिल्लो खेल भने २ सय २८ औं रह्यो । यसबीच ५६ खेल भए । त्यस अर्थमा अञ्जनले बीचका ६ खेल गुमाइसकेका छन्, लगभग बेकारको कारणमा ।

सन्दीप राईको स्थानमा ६१ औं मिनेटमा उनी सब्स्टिच्युट खेलाडीका रूपमा पहिलोपल्ट नेपालबाट खेले । उनका ५० खेलमध्ये ३९ मा उनले सुरुदेखि खेलेका छन् भने ११ खेलमा सब्स्टिच्युट भएर मैदान छिरेका छन् । उनले सुरुआती तीन खेल लगातार सब्स्टिच्युट भई खेले । त्यसपछि त अधिकांश समय उनी पहिलो रोजाइकै खेलाडी छन् । बढीभन्दा बढी समय प्रशिक्षक बालगोपाल महर्जनको नजिक रहेर अञ्जनले फुटबलमा हुर्कने अवसर पाए ।

बालगोपालका उनी प्रिय खेलाडी थिए । उनकै नेतृत्वमा अञ्जनले एकपछि अर्को उमेर समूहका प्रतियोगिता खेले । अञ्जनको खेलाडी जीवनको एउटा ठूलै विशेषता के उनले उमेर समूहको फुटबलको एकपछि अर्को खुड्किलो पार गर्ने अवसर पाए । उपाधि जिते । यसबीच उनी सधैं केही सिक्ने चाहने खेलाडी रहे । मिहिनेती उत्तिकै रहे । केही न केही प्रयोग गरिरहने खालका पनि थिए । घरेलु फुटबलमा नेतृत्व परिवर्तन ताका केही समय उनी खेलभन्दा अन्यत्र भौंतारिए । जसलाई उनी आफैं भन्छन्, ती सबै भुल थिए ।

पहिलो गोललाई लामै प्रतीक्षा

अञ्जन बहुउपयोगी खेलाडी हुन्, अगाडि खेलाउने परिस्थितिमा । सबैभन्दा पहिले उनी ‘विंगर’ का रूपमा खेल्न सक्षम छन् । उनमा पक्का नम्बर ९ खेलाडीको गुण छ । त्यतिमात्र होइन, अगाडि एक्लो स्ट्राइकर उतार्ने हो भने उनी सबैभन्दा राम्रो विकल्प हुने गर्छन् । ठ्याक्कैभन्दा प्रतिद्वन्द्वी टिम हेरेर उनको भूमिका परिवर्तन गर्न सकिन्छ । अझ छोटकरीमा भन्दा उनी अग्रपंक्तिमा फरक–फरक भूमिका दिन मिल्ने र एकै खेलमा पनि भूमिका फेरेर खेलाउन सकिने खालका छन् ।

अगाडि खेल्ने भएपछि गोल त गर्नु नै पर्‍यो । अञ्जनले नेपाली टिमबाट डेब्युको अवसर पाएयता पहिलो गोलका लागि लामै प्रतीक्षा गर्नुपर्‍यो, लगभग ५ वर्ष । उनले २९ औं क्याप जित्ने क्रममा विश्वकप छनोटको खेलमा चाइनिज ताइपेईविरुद्ध एकैपल्ट दुई गोल गरे । यसअघिका २८ खेलमा उनले किन गोल गर्न सकेनन् त्यो विश्लेषण गर्न योग्य तथ्य हो । सायद ठीक भूमिका पाएका थिएनन्, वा उनी आफैंमा आफूप्रति विश्वास थिएन । जेहोस्, पहिलो गोल गरेपछि भने थप अर्को गोललाई लामो प्रतीक्षा गर्नुपरेन ।

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा उनले आफ्नो तेस्रो गोल गरे । विश्वकप छनोटमै चाइनिज ताइपेईविरुद्ध फेरि दोहोर्‍याएर गोल गरे, जुन उनको चौथो गोल रह्यो । भारतविरुद्ध दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेल शृंखलाको पहिलो प्रतिस्पर्धामा उनले पाँचौं गोल गरे । पछिल्लो साफ च्याम्पियनसिपमा उनले दुई गोल गरे । पहिलो श्रीलंकाविरुद्ध थियो भने दोस्रो बंगलादेशविरुद्ध । यसमध्ये पेनाल्टीमा उनले बंगलादेशविरुद्ध गरेको गोल धेरै अर्थमा नेपाली फुटबल इतिहासकै सबैभन्दा दबाबमा गरिएको महत्त्वपूर्ण गोल हो ।

यससँगै उनको गोलसंख्याले ७ छोएको थियो । अहिले उनको गोलसंख्या ह्याट्रिकपछि १० पुगेको हो । यसले उनी आफ्नो १० गोल पछिल्ला २२ खेलमा गर्न सफल भएका हुन् । यो औसत भने गजब छ । त्यस अर्थमा लाग्छ १३ गोलको लक्ष्य अब धेरै टाढा छैन । ठीक यही बेला उनको नजर बाहिर व्यावसायिक फुटबल खेल्नुमा पनि हुनुपर्नेछ । विश्वास गरौं, उनीबारे राम्रो समाचार चाँडै सुन्न पाइने छ । अहिले सुन्न पाइएको के हो भने केही विदेशी क्लबको नजर उनीमाथि छ ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?