सुदूरपश्चिम राजधानी कप : लुम्बिनी र कर्णाली फाइनलमा  - खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम राजधानी कप : लुम्बिनी र कर्णाली फाइनलमा  

कान्तिपुर संवाददाता

धनगढी — गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार धनगढी रंगशालामा भएको सेमिफाइनलमा गण्डकी प्रदेशलाई ४–३ गोलले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो ।

लुम्बिनीको जितमा नीरज चौधरीले २ र फागुराम थारु र विनोद केसीले १–१ गोल गरे । गण्डकीका राजकुमार कुँवरले २ र विजय श्रेष्ठले १ गोल गरे । खेलको ११ औं मिनेटमै लुम्बिनीका नीरजले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि फागुराम थारुले खेलको १५ औं मिनेटमा एक गोल थप्दै लुम्बिनीलाई २–० ले अगाडि बढाए ।

२५ औं मिनेटमा गण्डकीका राजकुमार कुँवरले एक गोल फर्काए । त्यसपछि फेरि लुम्बिनीको तर्फबाट विनोद केसीले ३६ औं मिनेटमा थपेको एक गोलले गण्डकी ३–१ को अवस्थामा पुग्यो ।

दोस्रो हाफलगत्तै गण्डकीका विजय श्रेष्ठले एक गोल थप्दा खेल ३–२ को स्थितिमा अगाडि बढ्यो । गण्डकीकै राजकुमार कुँवरले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै ६१ औं मिनेटमा खेल बराबरीमा पुर्‍याए । लुम्बिनीबाट ७१ औं मिनेटमा नीरजले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोलको योगदान दिएका थिए ।

अब लुम्बिनीले उपाधिका लागि कर्णाली प्रदेशसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाइनल पुगिसकेको छ ।

पीएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : आश्विन १३, २०७९ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्

बालीघरे छाडेपछि ज्यालामा मालामाल

चन्द्र कार्की

तेह्रथुम — पाँच वर्ष अघिसम्म बालीघरमा कृषि औजारका समान बनाउँदै आएका छथर गाउँपालिका–१ आङदिमका इन्द्रबहादुर लाम्गादेले अहिले बालीघर प्रथा छोडेका छन् । वर्षभरि काम गरेबापत लाम्गादेले एक घरबाट ५ देखि १० पाथीसम्म अन्न ल्याउँथे । त्यो पनि एक वर्षपछि मात्र ।

तर अहिले अवस्था त्यस्तो छैन । उनी आरानमा कृषि औजार अर्जाप्ने र धार लगाउने काम सम्पन्न गर्न साथ पैसा लिन्छन् । ‘अहिले त एक हातमा सामान दिने, अर्को हातमा पैसा लिने हो,’ आरानमा दसैंका लागि खुकुरी अर्जाप्दै गरेका लाम्गादेले भने, ‘यसो गर्दा बिष्ट र आफू दुवैलाई फाइदा छ ।’ यहाँका दलित समुदायले आफूसँग सामान बनाउन र अर्जाप्न आउनेहरुलाई बिष्ट भनेर सम्बोधन गर्छन् । पाँच वर्षअघिसम्म वारिपारिका गाउँलेहरु आफूले प्रयोग गरेका कृषि औजार अर्जाप्नका लागि बोकेर लाम्गादेकै आरानमा पुग्थे । बिष्टहरु लाइनमा बसेर आफूले ल्याएका हतियार धार लगाउने, अर्जाप्ने, साँध लगाउने, दाँत काट्नेलगायतका काम गराएर फर्किन्थे । दसैं आउनु दुई साताअघिदेखि आरानमा सामान लिएर आउनेको भीड लाग्थ्यो । धेरै जनाको काम गरिदिँदा पनि घरमा अन्न भने हुँदैनथ्यो । यसरी काम गरेबापतको अन्न हिउँदको समयमा मात्र पाउँथे ।

अहिले अवस्था फेरिएको छ । सामान बनाउने र मर्मत गर्न आउनेको संख्या दैनिक बढिरहेको छ । काम गराउन आउनेले अन्न होइन, नगदै लिएर आउँछन् । यसले लाम्गादेको जीवन निर्वाहमा धेरै सजिलो भएको छ । लाम्गादेले गाउँको सिरान डङडङेमा आरन थापेका छन् । एउटा हतियार अर्जापेको १ सयदेखि ३ सय रुपैयाँसम्म लिने गरेको उनले बताए । उनले दैनिक २ हजार ५ सय रुपैयाँसम्म कमाइ गर्दै आएका छन् । आफ्नै घरको आरानमा काम गरेर महिनामा ७५ हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । बाउबाजेले अन्न पात लिएर काम गर्दै आएको बालीघरे प्रथालाई पेसामा बदलेपछि धेरै फाइदा भएको लाम्गादेले बताए ।

पाँच भाइ छोरालाई बुबाले छुट्टिँदा ७ घरका दरले बिष्ट भाग लगाइदिएका थिए । खुकुरी, बन्चरो, हँसिया, खुर्पा, कोदालो, फालीलगायतका कृषि औजार बनाइदिएर खाने अन्न साट्ने बाउबाजेदेखिको चलनलाई उनले परिवर्तन गरिदिए । अहिले लाम्गादेजस्तै गाउँका सबै विश्वकर्माले नगदमा मात्र काम गर्छन् । जसले गर्दा उनीहरुको आम्दानी पनि राम्रै छ ।

पहिले वर्षभरि काम गर्नुपर्ने र बाली घरमा गएर धान, मकै, कोदोजस्ता अन्न जम्मा गर्न पनि धेरै दिन लाग्थो । खानलाई अन्न खाँचो त हुँदैन थियो । तर, पैसा देख्न निकै मुस्किल पर्थ्यो । बाली घरप्रथा त्यागेर त्यही काम नगदमा गर्न थालेपछि पैसा चलाउन खाँचो नभएको लालीगुराँस नगरपालिका–८ सोल्माका गनबहादुर लकान्द्रीले बताए । आफ्नो पुर्ख्यौली पेसालाई व्यवसायमा रूपान्तरण गर्न सकेकोमा लाम्गादे र लकान्द्री खुसी छन् ।

हिजो आरानमा बसेर काम गर्नेहरु धेरैले पेसा नै छोडेका छन् । बिष्टको संख्या र सामानको माग भने बढ्दो छ । पहिले एउटा गाँउका मानिसको मात्र काम गर्दै आएका विश्वकर्माले अहिले चार गाउँसम्मको काम भ्याएका छन् । करौंती, खुर्पा, कुट्टो, कोदालो, कोदाली, फाली, करुवा, खुँडा, बन्चरो खुकुरीलगायतका सामान बनाएर बिक्री गर्दा थप आम्दानी हुने गरेको छ । यी सामानको माग पनि गाउँदेखि सहरसम्म नै छ ।

प्रकाशित : आश्विन १३, २०७९ २१:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×