ताप्लेजुङ महिला हाफ म्याराथनको उपाधि शेर्पालाई

ताप्लेजुङ — ताप्लेजुङ महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि ताप्लेजुङकै मैवाखोला गाउँपालिका ५ फाकुम्वाकी समपाल्मु शेर्पाले जितेकी छन् । उनले ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेकी हुन् ।

भोजपुरको हतुवागडी गाउँपालिका घर भई हाल धरान बस्दै आएकी छेम्विमाया राई द्धितीय भइन् । उनले ४ घण्टा ९ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरिन् ।
तृतीय स्थान ताप्लेजुङकै पेम्वाल्हामु शेर्पाले जितिन् । उनले ४ घण्टा ३१ मिनेट ५४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । प्रथम, द्धितीय र तृतीयको लामो अन्तर भएको थियो । प्रतियोगितामा २४ महिला सहभागी थिए ।
प्रथमले ८१ हजार, द्धितीयले ५१ र तृतीयले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । सदरमुकाम फुङलिङको पाथीभरा चोकबाट सुरु भएको प्रतियोगिता सुकेटार, देउराली काफ्ले पार्टीबाट पुन: सदरमुकाम फुङलिङको तोक्मेमा पुगेर टुंग्याइएको हो । पूर्वको प्रमुख धार्मिक स्थल पाथिभराको प्रचारप्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा ११ गतेदेखि पर्यटन महोत्सव सुरु भएको हो ।
प्रकाशित : आश्विन १३, २०७९ १४:५८