अधिकारी र धिमाल निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — रुपेश अधिकारी र दीपेन्द्र धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्य निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमितिमा बाँकी रहेको दुई सदस्यका लागि बुधबार भएको विशेष साधारणसभामा सबैभन्दा बढी मत हासिल गर्दै उनीहरू निर्वाचित भएका छन् ।

अधिकारीले सर्वाधिक ५४ मत प्राप्त गरे भने धिमालको पक्षमा ४७ मत रह्यो । प्रतिस्पर्धामा रहेका लोकेन्द्र गुरुङले ४५ मत र दीपक थापाले ४७ मत पाए । यी चार उम्मेदवारले असार ६ गते भएको निर्वाचनमा समान ३९ मत प्राप्त गरेपछि दुई सदस्यका लागि विधानअनुसार फेरि निर्वाचन गरिएको हो ।

धिमाल मोरङ जिल्ला फुटबल संघका पूर्वअध्यक्ष हुन् भने अधिकारी मनोनीत पूर्वकेन्द्रीय सदस्य थिए । भ्रष्टाचारको अभियोगमा फिफाले दोषी ठहर गरेका गणेश थापा पक्षको समर्थन पाएका अधिकारी एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पानिकट हुन् । उनै शेर्पालाई ६ मतले हराएर अध्यक्ष चुनिएका पंकजविक्रम नेम्वाङ समूहका हुन् धिमाल । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?