कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कमब्याक र ह्याट्रिक हिरो अञ्जन

अञ्जन विष्टले ५० औं खेलमा आएर पहिलो ह्याट्रिक गरेपछि नेपालले बंगलादेशलाई ३–१ ले हरायो

काठमाडौँ — जानेर नहुन पनि सक्छ, कुनै बेला के काण्डमा परे, कुनै समय के काण्डमा मुछिए । तर, अञ्जन विष्टले कहिल्यै हार खाएनन् । त्यसैले त उनी फेरि नेपाली राष्ट्रिय फुटबल टोलीमा फर्किंदा ह्याट्रिक हिरो भएका छन् । उनले तीन अवसर पाए, तीनपल्टै गोल गरे । त्यसैमा नेपालले दशरथ रंगशालामा मंगलबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि ३–१ को जित निकाल्यो ।

कमब्याक र ह्याट्रिक हिरो अञ्जन

बन्द प्रशिक्षणमा अव्यवस्थित होस्टेल होइन, होटलमा बस्न पाउनुपर्ने माग गरेका रोहित चन्दलाई साथ दिएको भन्दै कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोटको तयारीमा राष्ट्रिय टिमबाटै १० खेलाडीलाई निकालेका थिए । त्यसमा खेलाडीप्रति समर्थन जनाएका नियमित कप्तान किरण चेम्जोङ पनि थपिए । विवादास्पद प्रशिक्षक अल्मुताइरी बिदामा रहेको भन्दै अखिल नेपाल संघ (एन्फा) ले बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेलका लागि अमेरिकाबाट झिकाएर प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक बनायो । उनले अल्मुताइरीबाट निष्कासित ११ खेलाडीलाई टिममा फिर्ता बोलाए ।

जम्मा एक खेलमा टिम सम्हाल्न आइपुगेका प्रशिक्षक हुमागाईंको २३ सदस्यीय टिममा चार गोलकिपर राख्ने र अल्मुताइरीविरुद्ध उत्रिएका ११ सिनियर खेलाडीलाई फिर्ता बोलाउने निर्णय कतै बदलाको भावनाबाट प्रेरित त थिएन ? प्रश्नहरू बढिरहेका थिए, अनुत्तरित नै थिए । तर, त्यो काण्ड र छनोटबारे हुमागाईंले चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन् । अल्मुताइरीले बनाएको युवा टिमले जेठमा भएको एसियन कप छनोटमा खराब नतिजा नै बेहोरेको भए पनि सामाजिक सन्जालमा फुटबलप्रेमी र अल्मुताइरीका समर्थकहरू सिनियर खेलाडीविरुद्ध खनिएका थिए । त्यसैले सिनियर खेलाडीका लागि पनि मैत्रीपूर्ण खेल एक किसिमले प्रतिष्ठाको लडाइँ नै थियो । त्यसमा उनीहरू र हुमागाईं सफल रहे ।

निकालिएका ११ मध्ये ९ खेलाडीलाई प्रशिक्षक हुमागाईंले आठ हजार बढी दर्शकसामु पहिलो रोजाइमा मैदानमा उतारे । त्यसैले हुन सक्छ, २४ वर्षीय अञ्जनले अन्तर्राष्ट्रिय करिअरमा पहिलो ह्याट्रिकसँगै नेपाली टिममा गरेको पुनरागमनबारे सोधिएको प्रश्नको जवाफ दिए, ‘यो (ह्याट्रिक र पुनरागमन) त म शब्दमा बयान गर्न सक्दिनँ । कत्तिपछि खेल्न पाएँ, विगतमा के भयो, त्यो सम्झिन चाहँदिनँ । त्यस्तै कुराहरूले रहेछ झन् बलियो बनाउने । मैले गरेको महसुसलाई शब्दमा बयान गर्न सक्दिनँ । एकदम धेरै नै खुसी छु । मेरो फिलिंग्स सबैसामु सेयर गर्न पाएको छु । म अझै खेल्छु । म नेपालका लागि योग्य छु भन्ने लाग्छ ।’

६ वर्षयता पहिलो ह्याट्रिक

संयोग वा मिहिनेत । अञ्जनले नेपाली टिमबाट ५० औं खेलमा आएर पहिलो ह्याट्रिक गरेका हुन् । तीनै गोल पहिलो हाफमा गरे । उनले विमल घर्तीमगरको फ्रिकिकमा हेडद्वारा गोल गर्दै १८ औं मिनेटमा खाता खोलेका थिए । विशाल राईको पासमा अञ्जनले पेनाल्टी क्षेत्रमा मिलाइदिएको बललाई तेज तामाङले प्रहार गरे, जसमा पाहुना टिमका गोलकिपर अनिसुर रहमानले राम्रो बचाउ गरे । तर, बल पेनाल्टी क्षेत्रमै रहेका अञ्जन नजिक पुग्यो, जसलाई सहजै पोस्टको दिशा दिँदै अञ्जनले २७ औं मिनेटमा दोस्रो गोल गरे । उनले विशालको फ्रिकिकमा ३८ औं मिनेटमा हेडर गोल गर्दै ६ वर्षयता ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी बने ।

उनी एउटै खेलमा तीन गोल गर्ने नेपालका छैटौं खेलाडी हुन् । यसअघि यो उपलब्धि गणेश थापा (सन् १९८७), नरेश जोशी (१९९९), नीराजन रायमाझी (२००१), भरत खवास (२०१३) र नवयुग श्रेष्ठ (२०१६) ले ह्यािट्रक गरेका थिए । उनी दशरथ रंगशालामा घरेलु टिमका लागि दोस्रो ह्याट्रिककर्ता हुन् भने ९ वर्षयताको पहिलो ।

परम्परागत प्रतिद्वन्द्वीविरुद्धको ह्याट्रिकसँगै दसौं गोल पूरा गरेपछि अञ्जनले पूर्वकप्तान अनिल गुरुङ र भरतसँग गोलसंख्या बराबरी गरेका छन् । अब उनी कीर्तिमानी गोलकर्ता नीराजन र हरि खड्का (समान १३ गोल) को नजिक पुगेका छन् । जुमनु राईले ११ गोल गरेका छन् । विमल ९ गोलको अवस्थामा छन् ।

‘जित सबैभन्दा महत्त्वपूर्ण’

दोहामा फिलिपिन्सविरुद्ध ३–० ले हारेको (अक्टोबर २०१४/मैत्रीपूर्ण खेल) प्रतिस्पर्धामा सब्स्टिच्युटको रूपमा दोस्रो हाफमा मैदानमा प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका अञ्जनले गोल र जितबारे भने, ‘मैले साफ च्याम्पियनसिपका बेला पनि भनेको थिएँ, गोल यति गर्छु भन्दा पनि टिमले जितोस् भन्ने चाहन्छु । आज पनि ३ गोल गरिसकेपछि अझै चढेर खेल्न सक्थ्यौं तर सुरक्षित भएर खेल्दा पनि हुन्छ नि । म गोलभन्दा पनि आफ्नो टिमको जितका लागि खेल्छु । आउने दिनहरूमा पनि । पक्कै पनि जित्दाखेरि एक न एक जनाले गोल गरिहाल्छ, त्यसमा म पनि पर्न सक्छु, कहिले मेरा साथीहरू पनि पर्न सक्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जित हो । सधैंभरि जितका लागि खेल्छु ।’

खेलपछि पत्रकार सम्मेलनमा अञ्जन अलि भावुक देखिए । भने, ‘मलाई के लाग्छ भने जीवन भनेकै उतारचढाव हो । मेरो पनि सायद त्यो ‘डाउन फेज’ थियो होला । त्यसलाई एउटा पाठका रूपमा सिक्ने मौका पाएको छु । नेपालका लागि जस्तो परिस्थितिमा पनि म फुटबलचाहिँ खेल्छु । यदि नेपालले चाहन्छ भने म सधैं उपलब्ध हुनेछु ।’

उनले थपे, ‘धेरै कुराहरू त भन्न चाहँदिनँ त्यस्तो खासै केही कुरा त छैन । यो एउटा गेम मात्रै थिएन, धेरै पछि फेरि राष्ट्रको झण्डा छातीमा लाएर खेल्न पायो, त्यसैमा खुसी छु । जबदेखि फुटबल करिअर सुरु गरें, त्यो क्षणबाट कहिले खेल्दिनँ पनि भनिनँ । मलाई यस्तो गरेन, दिएन, सरकारले केही गरेन भनेर आफ्नो स्वार्थका लागि कहिल्यै खेलिनँ । आज पनि त्यही जोसले खेलेको थिएँ, पहिला पनि त्यही जोसले खेल्थें र अब आउने दिनमा पनि यही जोसले खेल्नेछु । देशका लागि कहिले पछि हट्ने छैन । यो गोल अनि यो जित सम्पूर्ण नेपाली फुटबल समर्थक र जनताप्रति महान चाड दसैंको शुभकामनासहित समर्पण गर्न चाहन्छु ।’

आशिष र ऋतिकको डेब्यु

अल्मुताइरीबाट निकालिएका खेलाडीको पुनरागमनमात्रै होइन, नयाँ फरवार्डहरू आशिष चौधरी र ऋतिक खड्काको डेब्यु बन्यो बंगलादेशविरुद्धको खेल । उनीहरू दुवै ८४ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । ऋतिकले सेसेहाङ आङदेम्बेको स्थान लिए भने आशिषले विमललाई विस्थापित गर्दै पहिलो ‘क्याप’ जिते ।

खेलमा अग्रता लिने अवसर भने बंगलादेशले पाएको थियो । उसका कप्तान जमल भुयानले १८ यार्ड लाइनबाट प्रहार गरेको फ्रिकिकमा बल क्रसबार चुम्दै बाहिरियो । त्यसपछि नेपालले लय समात्यो र पहिलो हाफमै ३–० को अग्रता लियो । दोस्रो हाफमा बंगलादेशले केही राम्रा मुभ बनाए । रकिब हुसेनले रोहित चन्दलाई उछिन्दै गरेको क्रसमा सज्जाद हुसेनले ५६ औं मिनेटमा गोल गरेर अन्तर छोट्याए । सज्जादले ७१ औं मिनेटमा पाएको सहज अवसर बाहिर हाने । दोस्रो हाफमा नेपालले पनि दुई अवसर उपयोग गर्न सकेन । तैपनि बंगलादेशविरुद्ध अपराजित यात्रा ५ खेल पुर्‍याउँदै फेब्रुअरी २०२२ यता पहिलो जित निकाल्यो ।

प्रकाशित : आश्विन १२, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?