३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अन्जनको ह्याट्रिकमा नेपालको सानदार जित

हिमेश

काठमाडौँ — अन्जन विष्टले गरेको ह्याट्रिकको मद्दतले नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बांग्लादेशलाई ३-१ गोलअन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा विष्टले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक व्यक्तिगत उपलब्धिसमेत चुमेका छन् ।

अन्जनको ह्याट्रिकमा नेपालको सानदार जित

नेपालका लागि यो छैटौं ह्याट्रिक हो । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले एक-एक ह्याट्रिक गरेका छन् । यो ह्याट्रिकसँगै नेपालका लागि विष्टको व्यक्तिगत गोल संख्या १० पुगेको छ । यो नेपालका लागि सम्भवतः खेलको पूर्वार्द्धमा भएको पहिलो ह्याट्रिक पनि हो । विष्ट नेपालका लागि सबैभन्दा बढी गोल गर्ने सूचीको दोस्रो स्थानमा पनि उक्लिएका छन् ।

विष्टले १८औं मिनेटमा पहिलो गोल गरे । विमल घर्तिमगरको फ्रि किकमा हेडबाट पहिलो गोल गरेका उनले २६औं मिनेटमा दोस्रो गोल थपे । तेज तामाङको सुरुवाती प्रहारमा बांग्लादेशी गोलरक्षक अनिसुर रहमानले बचाए पनि फर्केको बलमा उनले गोल गरे ।

विष्टले खेलको ३७औं मिनेटमा ह्याट्रिक पूरा गरे । विशाल राईको फ्रि किकमा हेडबाट गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका हुन् । खेलको १७औं मिनेटमा बांग्लादेशी कप्तान जमल भुयाले २० यार्डबाट प्रहार गरेको बल पोस्टमा लागेर बाहिरिएको थियो । ६७औं मिनेटमा मोहम्मद हुसेन बादशाहले एक गोल फर्काए ।

यस खेलबाट नेपालका लागि ऋतिक खड्का र आशीष चौधरीले डेब्यु गरे । यो खेलसँगै नेपाल बांग्लादेशविरुद्धका पछिल्ला पाँच प्रतिस्पर्धामा अपराजित रहेको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?