कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

फेरिएका कथा र पात्रहरू

टिममा फेरिएका कथा र पात्रहरुबीच नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्न चाहन्छ
राजु घिसिङ

काठमाडौँ — कथा फेरिएको छ, नयाॅ मोडमा पुगेको छ । पात्र फेरिएका छन् । प्रसंग बदलिएको छ तर प्रश्नहरू भने कम भएका छैनन् । यस्तै यस्तै फरक कथा र पात्रहरू आइरहॅदा नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार बंगलादेशविरुद्ध दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छ ।

फेरिएका कथा र पात्रहरू

‘बंगलादेश र नेपाल परम्परागत प्रतिद्वन्द्वी हो । हामी जहिले पनि जित्नकै लागि खेल्छौं । राम्रो खेल्दै जित्ने लक्ष्य छ । खेल आकर्षक हुनेछ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले भने । उनी फेरि टिममा फर्किएका हुन्, जो विवादास्पद कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा गत जेठमा सम्पन्न एसियन कप २०२३ छनोट (तेस्रो चरण) मा बोलाइएका थिएनन् । बन्द प्रशिक्षणमा होस्टेल होइन, होटल बस्न पाउनुपर्छ भनेर बोलेका रोहित चन्दलाई तत्कालै घर फर्काएका अल्मुताइरीले उनको माग सबैको बोली भएको बताएका थप ९ खेलाडीलाई पनि होटलबाट घर पठाइदिएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन नजिकिॅदा नेतृत्व चुप बसेपछि अल्मुताइरी–खेलाडीको काण्डमा खेलाडीहरूको साथमा रहेको भन्दै फेसबुकमा स्टाटस लेखेपछि नियमित कप्तानसमेत रहेका गोलकिपर किरणलाई टिममै बोलाइएन । त्यसबेला माल्दिभ्समा धिवेही प्रिमियर लिग खेलिरहेका उनी एसियन कप छनोटमा बाहिरै रहे । अरू १० खेलाडी पनि बाहिरै रहे । जुनियर खेलाडीले भरिएको टिम लिएर अल्मुताइरी छनोट खेल्न कुवेत पुगेका थिए, जहाॅ उनको टिमको नतिजा सम्झनलायक भएन । त्यसयता एन्फामा नेतृत्व फेरियो । उनी नेपाल फर्केका छैनन् ।

अल्मुताइरी बिदामा रहेको भन्दै एन्फाले अमेरिकाबाट झिकाएर एक खेल (बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल) प्रदीप हुमागाईंलाई कार्यबाहक मुख्य प्रशिक्षक नियुक्त गर्‍यो । प्रशिक्षकको आआफ्नै दर्शन हुन्छ, आफ्नै स्वभाव र खेल खेलाउने शैली हुन्छ । सरसर्ती हेर्दा अल्मुताइरीले ल्याएका धेरै खेलाडी हुमागाईंको टिममा अटाएनन् । एएफसी यू–२० छनोटमा प्रतिस्पर्धी खेलाडीलाई माझी औंला देखाएका खेलाडी त अटाउने कुरै भएन । अल्मुताइरीसॅगको विवादमा मुछिएका १० खेलाडीसॅगै नबोलाइएका किरण पनि टिममा फर्किएका हुन् ।

‘नबोलाइएको होइन, निकालिएको हो,’ किरणले भने, ‘एएफसी कपको छनोट खेल्न म नआएको होइन । आइहाल्थें नि । नबोलाएको होइन । निकालिएको चाहिॅ हो ।’ भारतको आई लिग क्लब पन्जाबमा आबद्ध किरणले स्वदेश फर्केर आइतबार टिमसॅग अभ्यास थालेका छन् । विराज महर्जनको संन्यासपछि टिमको कप्तानी गर्दै आएका उनले नै मैत्रीपूर्ण खेलमा आर्मब्यान्ड लगाउने जिम्मेवारी पाएका छन् । यसबीच अल्मुताइरीले एसियन कप छनोटको तेस्रो चरणमा कप्तान बनाएका फरवार्ड नवयुग श्रेष्ठ र एक खेलमा आर्मब्यान्ड लगाएका पूजन उपरकोटी भने टिममा अटाएनन् । नवयुग अन्तिम २३ खेलाडीमा परेनन्, पूजनले ३० खेलाडीको सूचीमै स्थान बनाउन सकेनन् । त्यसैले पनि कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईंप्रति प्रश्न तेर्सिएको छ ।

हुमागाईंले मैत्रीपूर्ण खेलका लागि टिम घोषणा गरेपछि नवयुगले त फेसकुक स्टाटस नै लेखे, ‘रोगको लक्षण : विदेशी हुॅदा भित्र, स्वदेशी हुॅदा बाहिर, रोगको नाम : चलखेल ।’ यसले सामाजिक सन्जालमा एक खालको तरंग नै ल्यायो, जसले नेपाली नागरिकता त्यागेर अमेरिकी बनेका प्रशिक्षक हुमागाईंको टिम छनोटप्रति थुप्रै प्रश्न तेर्सिए । एउटै खेलको लागि मात्रै जिम्मेवारी पाएका प्रशिक्षकले टिममा चार गोलकिपर राखेका छन्, जसले हुमागाईंको फुटबल कौशल र निर्णय गर्ने क्षमतामै शंका गर्ने ठाउॅ दिएको छ ।

अल्मुताइरी युगपछि नेपाली टिम पहिलोपल्ट मैदानमा फर्कन लागेको हो, जसमा सिनियर खेलाडी र प्रशिक्षक हुमागाईंलाई समर्थकको प्रश्नलाई मत्थर पार्न जित आवश्यक देखिन्छ । त्यसैले बंगलादेशविरुद्धको खेल मैत्रीपूर्ण मात्रै भए पनि त्यसमा जोडिएका अनेकन कथाको कारण प्रशिक्षक र सिनियर खेलाडीका लागि कुनै प्रतियोगिताभन्दा कम महत्त्वपूर्ण हुने छैन । राजधानीमा महामारीकै रूप लिएको डेंगीले पनि नेपाली टिमको तयारीलाई प्रभावित पार्‍यो ।

बंगलादेशको महिला टिमले गत साता दशरथ रंगशालामा नेपाललाई ३–१ ले हराएर साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थयो । गत बिहीबार नोमपेनमा कम्बोडियालाई १–० ले पराजित गरेर काठमाडौं आइपुगेको बंगलादेशी पुरुष टिमका कप्तान जमल भुयानले यही रंगशालामा आफ्नो महिला टिमको सफलता दोहोर्‍याउन चाहेको बताए ।

नेपाली पुरुष टिम कोभिड–१९ महामारीका कारण अस्तव्यस्त भएको अन्तर्राष्ट्रिय फुटबलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै मैदानमा फर्किएको थियो । नोभेम्बर, २०२० मा ढाकामा भएको त्यो पुनरागमनको मैत्रीपूर्ण खेलमा पहिलो प्रतिस्पर्धा बंगलादेशले २–० ले जितेको थियो ।

त्यसपछिका चार खेलमा नेपाली टिम अपराजित छ, जसमा तीन बराबरी खेलेको नेपालले एक जित हात पारेको छ । त्यो जित मार्च, २०२१ मा दशरथ रंगशालामै हात पारेको थियो, जसमा नेपालले थ्री नेसन्स कपको उपाधि कब्जा गरेको थियो । त्यसैले पनि टिममा फेरिएका कथा र पात्रहरूबीच नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्न चाहन्छ ।

...

आजको खेल

नेपालविरुद्ध बंगलादेश

१७: ३० बजे दशरथ रंगशाला

प्रकाशित : आश्विन ११, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?