१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता

पर्वतमा करातेका लागि पूर्वाधार तयारी

अगन्धर तिवारी

पर्वत — यही असोज २८ देखि कात्तिक २ सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सञ्चालन हुने कराते प्रतियोगिताका खेलहरू पहिलोपटक पर्वतमा गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) ले यस्तो निर्णय गरेको छ ।

पर्वतमा करातेका लागि पूर्वाधार तयारी

राखेपको निर्णयसँगै हौसिएका पर्वतका खेलप्रेमीहरू उक्त प्रतियोगिताको तयारीमा जुटिसकेका छन् । आइतबार पर्वतको कुश्मामा पत्रकार सम्मेलन गरेर आयोजकले उक्त प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा अन्य तयारी थालिएको जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराते खेलको प्रतिस्पर्धा पर्वतमा गराइने भएको हो । जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन गर्दै पर्वतमा आयोजना हुने करातेको राष्ट्रिय प्रतिस्पर्धाको बारेमा जानकारी गराएको हो ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारासहित उक्त प्रतियोगिता गर्न लागिएको हो । उक्त प्रतियोगितामा सात प्रदेशका सात वटा टोली, विभागीय टीम अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तथा एनआरएनको एक टोलीसमेत गरी ११ टोलीका खेलाडीहरू पर्वतमा भिड्ने छन् ।

आयोजकका अनुसार एउटा टोलीमा ३२ जना खेलाडीका दरले तीन सय ५२ जना खेलाडी करिब एक साता पर्वतमा रहनेछन् । त्यस्तै एक टोलीमा दुई जना कोच र दुई व्यवस्थापकसमेत गरी ४४ जना, देश तथा विदेशबाट आउने निर्णायकहरू ७५ जना, व्यवस्थापनको लागि स्थानीयबाट लिइने २५ जनासहित प्रविधिक र अन्य जनशक्ति गरी करिब ६ सय जनाको सहभागिता रहने आयोजकमध्येका नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बताए ।

प्रति खेलाडीले प्रति दिन दुई हजार रुपैयाँका दरले भत्ता पाउने र बाटो खर्चको व्यस्थापन गरिएको गुरुङले जानकारी दिए । ‘हामीले पाँच दिनमा करातेको संस्करण पूरा गर्ने गरी तयारी गरिरहेका छौं,’ उनले भने, ‘खेलहरू तीन दिनमा नै सकिनुपर्ने हो । सबै व्यवस्थापन मिलाउँदा दुई दिन ढिला हुनसक्छ ।’

खेलको अगाडि र पछाडिको दिन पनि खेल दिनमा समावेश हुने भएकोले पाँच दिन समय राखिएको अध्यक्ष गुरुङले बताए । विश्वका विभिन्न देशमा बेला बेलामा भइरहने प्रतियोगिताहरूमा कराते खेलले सबैभन्दा बढी पदक ल्याएको भन्दै उनले आगामी दिनमा पनि करातेले विभिन्न प्रतियोगिताहरूमा मुलुकलाई चिनाउन भूमिका खेल्ले बताए ।

पर्वत जिल्लाका कराँते संयोजक राम श्रेष्ठका अनुसार खेलको तयारी स्वरूप अहिले कुश्माको बडागाउँस्थित सेमी कभर्ड हलमा करातेको प्रतिस्पर्धा हुनेछ । अहिले खेल हुने स्थान आसपासको व्यवस्थापन गर्ने, सरसफाइ गर्ने लगायत कामहरू भइरहेको उनले बताए ।

‘पर्वतमा राष्ट्रिय प्रतियोगिता हुनु आफैंमा गौरवको कुरा हो,’ उनले भने, ‘त्यसका लागि हामीले स्थानीयस्तरबाट आफ्नो तयारी गरिरहेका छौं । स्पट व्यवस्थापनका लागि आवश्यकता अनुसार ईञ्जिनियरको टोली पनि आउनेछ ।’ प्रतियोगिता सफल पार्न, खेलाडीहरूलाई पर्वतको पर्यटन झल्किने मायाको चिनो दिने, स्थानीय पर्यटकीय स्थलहरूको अवलोकन गराउने लगायत विषयमा स्थानीय पालिकाहरूसँग पनि छलफल भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन ९, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?