३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नवौं राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

विराटनगर — नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरअन्तर्गत शनिबार प्रदेश १ को विराटनगरस्थित शहिद रंगशालामा मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी टुर पहिलो पटक गरिएको हो । ट्रफी प्रदर्शनी गर्दा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मीरा राई पनि उपस्थित थिए ।

ट्रफी प्रदर्शनीका क्रममा खेलाडीका लागि प्रदेश सरकारले कन्जुस्याइँ नगर्ने उल्लेख गर्दै मुख्यमन्त्री राईले नवौं राष्ट्रिय खेलकुद सफलताका लागि प्रदेश टोलीलाई शुभकामना दिए । प्रदेश १ का सामाजिक तथा खेलकुदमन्त्री राजन राईले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई विगतमा भन्दा पुरस्कार रकम बढ्ने जानकारी दिए ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले ३५ खेलमा ७ सय ६ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापक गरी ८ सय २० जनाको सहभागिता रहने जानकारी दिए । प्रदेश छनोटमा ४ हजार १ सय ५२ खेलाडीको सहभागिता रहेको वाग्लेले बताए ।

ट्रफीलाई असोज ९ गते सशस्त्र प्रहरी बल (एपीएफ) को हल्चोकस्थित मुख्यालय, असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर पुर्‍याइने छ । अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा पुर्‍याइने छ । यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौंडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनए गरि ११ टोलीको सहभागिता रहनेछ ।

प्रकाशित : आश्विन ८, २०७९ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?