१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पोखरा रंगशालामा सुविधासम्पन्न तेक्वान्दो प्रशिक्षण भवन शिलान्यास

रासस

कास्की — एक दशक अघिदेखिको निरन्तरको प्रयासपछि पोखरामा तेक्वान्दो खेलको सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण हुने भएको छ । पोखरा रंगशलाभित्र बन्ने भवनको शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले शिलान्यास गरे । भवन शिलान्याससँगै एक दशकअघिको निर्माणको सपना पूरा हुन लागेको हो ।

पोखरा रंगशालामा सुविधासम्पन्न तेक्वान्दो प्रशिक्षण भवन शिलान्यास

प्रशिक्षण भवन निर्माणका लागि तेक्वान्दोसँग सम्बन्धित खेल पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले लामो समयदेखि प्रयास गर्दै आएको र अहिले सो मेहेनतले सार्थकता प्राप्त गर्न लागेको कास्की जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश तेक्वान्दोका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।

उनका अनुसार विसं २०६७ देखि भवन निर्माणका लागि संघका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले मासिक पाँच सय रुपैयाँ सहयोग संकलन अभियान सुरु गरेका हुन् । सहयोग अभियानबाट हालसम्म ५५ लाख रुपैयाँ जम्मा भएको गुरुङले बताए ।

भवन निर्माण समितिका संयोजकसमेत रहेका अध्यक्ष गुरुङले भने, 'भवन निर्माणका लागि हामीले १० वर्षअघिदेखि अभियान सुरु गरेका हौं । स्वदेशमा मात्र नभएर बेलायत, हङकङलगायत नेपालीहरूबाट समेत सहयोग प्राप्त भएको छ । लामो प्रयासपछि यसलाई शिलान्याससम्म आइपुग्दा अत्यन्त खुसी छौं ।'

भवनको दुई करोड रुपैयाँ खर्च लाग्ने लागत अनुमान छ । तेक्वान्दो संघले थप रु ५० लाख जति सहयोग जुटाउने योजनामा छ । भवनका लागि अपुग हुने रकमका लागि राखेपसँग सहयोग मागिएको गुरुङले बताए ।

शिलान्यास कार्यक्रममा सदस्यसचिव घिसिङले भवनलाई पूर्णता दिन राखेपबाट सहयोग उपलब्ध गराइने विश्वास दिलाए । चालु आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गर्न नसकिए पनि आगामी वर्ष यसका लागि बजेट विनियोजन गरिने उनले प्रतिबद्धता जनाए ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाशशम्शेर राणाले तेक्वान्दो हलभित्र खेल्ने खेल भएकाले भवन अनिवार्य रहेको बताउँदै भवन निर्माणपछि खेलाडीको राम्रो विकास हुने विश्वास व्यक्त गरे । रंगशालाको दुई रोपनी क्षेत्रफल जमिनमा निर्माण हुने अत्याधुनिक हलसहितको भवनमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी तयार गरिने कास्की जिल्ला तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष कुलचन्द्र शर्माले बताए ।

पोखरा रंगशालाभित्र फुटबल, क्रिकेट, टेनिस, ह्याण्डबल, भलिबल, ब्याडमिन्ट, बास्केटबल, भलिबल, आर्चरीलगायत खेलका खेलस्थल रहेका छन् । विशेषगरी दोस्रो जनआन्दोलनपछि पोखरा रंगशालामा खेल पूर्वाधार निर्माणले गति लिएको थियो ।

प्रकाशित : आश्विन ८, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?