१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फेडेरर चाहना टेनिससँगै

एएफपी

जेनेभा — स्वीस टेनिस लिजेन्ड रोजर फेडेरर आफ्नो प्रिय खेलसँग जोडिरहन चाहन्छन् । गत सातामात्रै आफ्नो खेलाडी जीवनबाट संन्यासको घोषणा गरेका फेडेररले मंगलबार प्रकाशित अन्तर्वार्तामा भनेका छन्, ‘यो खेलले मलाई धेरैथोक दिएको छ ।’ 

फेडेरर चाहना टेनिससँगै

उनले २० ग्रान्ड स्लाम जिते । उनलाई विश्व टेनिसको सर्वकालीन महान् खेलाडीमध्ये एक मानिन्छ । यिनै फेडेररले गत साता संन्यास घोषणा गर्दा विश्व टेनिस भावनात्मक भइहाल्यो ।

चारैतर्फबाट उनको संन्यासबारे धेरैभन्दा धेरै प्रतिक्रिया आए । लन्डनमा लेभर कप प्रतियोगिता सुरु भएको छ । यो नै हुनेछ फेडेररको अन्तिम प्रतियोगिता । गत बिहीबार मात्रै उनले सामाजिक सन्जालबाट संन्यास लिने बताएका थिए । उनको घुँडाको चोट निको भइरहेको थिएन । त्यसैले उनी आफ्नो सक्रिय खेलजीवनमा पूर्णविराम लगाउने निर्णयमा पुगे । उनले जति समय खेले, त्यसबीचमा उनले आफूलाई विश्वकै अब्बल दर्जाका खेलाडी रहेको प्रमाणित गरिरहे ।

लन्डनका लागि उड्नु अगाडि उनले स्वीस समाचार संस्था आरटीएसलाई अन्तर्वार्ता दिएका थिए । यसक्रममा उनले मानेका छन्, संन्यास घोषणा गरेपछि आफ्नो मन हलुंगो भएको छ । उनले भनेका छन्, ‘मैले जति खेलें र खेल्न सकें, त्यसमा म निकै खुसी पनि छु ।’ एकभन्दा बढी शल्यक्रियापछि पनि उनको घुँडा पूर्णतः ठीक हुन सकेन । शल्यक्रियापछि घुँडामा जस्तो सुधार हुने अपेक्षा गरिएको थियो, त्यो पूरा भएन । यस्तोमा उनीसँग संन्यासबाहेक अन्य विकल्प थिएन ।

उनले भनेका छन् ‘स्क्यानले जे जति देखाएको छ, त्यो सन्तोष मान्ने खालको थिएन । घुँडाको चोटमा सुधार नै भएन । त्यसैले मैले आफूले आफैंलाई भने, अब टेनिस खेल्न सकिन्न । यसका लागि म इमान्दार पनि रहें । म फेरि थप शल्यक्रिया गर्ने पक्षमा पनि थिइनँ ।’ संन्यासको घोषणा गर्दा फेडेररले आफू पनि निकै भावनात्मक भएको बताएका छन् । उनकै शब्दमा केही थोपा आँसु बगे । तर अन्त्यमा उनी खुसी नै थिए संन्यास घोषणा गर्नुपर्ने बोझबाट मुक्त भएकोमा ।

कुनै न कुनै दिन उनलाई यो काम गर्नु थियो । त्यो गरेका कारण उनले खुसी महसुस गरे । अन्तर्वार्ताका क्रममा फेडेररलाई उनको भविष्यको योजनाबारे पनि सोधिएको थियो । यसमा उनको जवाफ छ, ‘मैले अब के गर्ने छु, ठ्याक्कै मलाई थाहा छैन । भविष्यबारे म अनभिज्ञ नै छु । तर म विश्व टेनिसबाट पूर्णतः टाढा रहन चाहन्न । सक्दिनँ पनि । यो खेलले मलाई धेरैभन्दा धेरै दिएको छ । त्यसैले म खेलसँग कुनै न कुनै रूपमा जोडिन चाहन्छु ।’

अर्के ग्रहका खेलाडी

सर्बियाका नोभाक जोकोभिचले एकपल्ट फेडेररबारे भनेका थिए, ‘मलाई कहिलेकाहीं लाग्छ, उनी अर्कै ग्रहका खेलाडी हुन् ।’ जोकोभिच मात्र होइनन्, पछिल्लो २० वर्ष जतिले फेडेररले टेनिस खेलेको हेरे, सबैले माने, उनी यो खेलका ‘भगवान’ हुन् । उनको खेल नै मुटु छुने खालेको थियो । अनि उनी आफ्नो खेललाई जहिले पनि शतप्रतिशत पूर्ण राख्न चाहन्थे । अहिले फेडेररले भन्दा अरूले नै बढी ग्रान्ड स्लाम उपाधि जितिसकेका छन् । त्यसैले सबैभन्दा महान खेलाडी को भन्ने तक वितर्क पनि आवश्यक छैन ।

फेडेररले जति खेले, त्यो शुद्ध टेनिस थियो । उनको ‘फोरह्यान्ड’ प्रहार हेर्नमै सुन्दर थियो । सर्भिस जहाँ हुनुपर्ने थियो, ठ्याक्कै त्यहीं हुन्थ्यो । त्यसैले उनको टेनिस हेरेर आम खेलप्रेमी कायल हुन्थे । त्यसैले त उनले अरूको तुलनामा धेरैभन्दा धेरैको मन जिते । अचेल फेडेरर ४१ वर्षका भए । सुरुका दिनमा उनले बासेलको स्वीस नेसनल टेनिस सेन्टरमा यो खेल सिकेका थिए । किशोर उमेरमै उनी उम्दा खेलाडी भइसकेका थिए, तर अहिले जे जेखिन्थे, त्यस्ता थिएनन् ।

एकपल्ट उनले रिसले र्‍याकेट फाले भर्खर १६ वर्षको उमेर हुँदा । सजाय त हुनु नै थियो, त्यसैले दिनभर जस्तो शौचालय सफा गर्ने काम दिइएको थियो । अब त यी सबै होइनन् कि जस्तो लाग्न सक्छ । तर जतिबेला उनी एटीपी टुरमा देखिए, उनी भलाद्मी नै रहे । सन् २०१८ मा उनले एकपल्ट भनेका थिए, ‘मैले आफ्नो खेलका लागि चाहिने आगो र पानी दुवै हात पार्न धेरै समय खर्चिएँ । खेल जित्न मलाई आगो चाहिन्थ्यो, तर हार र भुल बिर्सन मलाई पानी पनि चाहिन्थ्यो ।’

नडाल र जोकोभिचसँग तुलना

अहिलेको पुस्ताका टेनिसप्रेमी निकै भाग्यमानी रहे । किनभने उनीहरूले एकै समय तीन महान खेलाडीलाई देख्न पाए, फेडेरर र जोकोभिचसँग राफेल नडाल पनि । त्यसैले जति जति बेला फेडेररको कुरा चल्छ, नडाल र जोकिभिच त्यसै पनि जोडिएर आउने छन् । त्यतिमात्र होइन, ती तीन खेलाडीको एकापसमा तुलना पनि हुनेछ । यो काम कहिले पनि रोकिने छैन । यी तीन खेलाडीमध्ये सबैभन्दा राम्रो को त ? यो प्रश्न जहिले पनि उठ्नेछ, तर जवाफ कहिले आउने छैन ।

तर, एउटा तथ्य निश्चित छ, यी तीन खेलाडीले जुन इतिहास रचे, त्यसका लागि बाटो खन्ने काम त फेडेररले नै गरे । उनले सुरुमा २० ग्रान्ड स्लामको कीर्तिमान बनाए । पछि त्यसलाई नडाल र जोकोभिचले पालैपालो तोडे । यी दुई खेलाडीभन्दा जोकोभिच नै लोकप्रिय रहे । यति भने मज्जाले दाबी गर्न सकिन्छ । त्यतिमात्र होइन, प्रायोजकका लागि उनी नम्बर एक खेलाडी रहे । सायद अबका दिनमा विश्व टेनिसमै उनको नयाँ रूप देख्न पाइनेछ ।

प्रकाशित : आश्विन ८, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?