कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मध्यपुर थिमिमा वडा लिग

काठमाडौँ — नेपाली फुटबलले पछ्याउन लायक प्रतियोगिताका रूपमा शनिबार सुरु हुँदै छ, मध्यपुर थिमि वडाव्यापी लिग । असोज ८ देखि कात्तिक ७ सम्म हुने प्रतियोगिताको आयोजक रहेको छ स्वयं मध्यपुर थिमि नगरपालिका । वडा लिगको यस्तो सोच आफैंमा पहिलो नरहे पनि तय छ, यसले नेपाली फुटबललाई दिने योगदान धेरै हुनसक्ने छ । 

प्रतियोगिताको संयोजकको काम गर्नेछ मध्यपुर युथ एसोसिएसनले । नगरपालिकामा ९ वडा छन् । त्यसअनुसार प्रत्येक वडाको एउटा टिमले प्रतियोगितामा आफ्नो चुनौती पेस गर्नेछ । त्यस अर्थमा ३६ खेल हुनेछ । यस्तोमा सबैभन्दा बढी अंक ल्याउने टिम नै विजेता रहनेछ । सहभागी हुने खेलाडी त्यसै नगरपालिकाका मात्र हुनेछन् र बाहिरका कसैले खेल्न पाउने छैनन् ।

अझ जुन वडाको खेलाडी हो, त्यसै वडाबाट मात्र खेल्न पाउने छ । प्रतियोगिताको अन्त्यमा उत्कृष्ट खेलाडी चयन गरेर एउटा यस्तो टिम बनाइने छ, जसले सम्भवतः मध्यपुर युथ एसोसिएसनकै प्रतिनिधित्व गर्न सक्नेछ । सबैलाई थाहा छ, मध्यपुर युथको सबैभन्दा ठूलो लक्ष्य भनेकै सहिद स्मारक लिग ‘ए’ डिभिजनमा फेरि उक्लिनु ।

यस्तोमा सम्भावना बन्छ, यसपल्टको वडा लिग खेल्न खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर वर्ष दिनमै पूरा देशकै सबैभन्दा माथिल्लो डिभिजन खेल्न सक्नेछ । नगरपालिकाका मेयर हुन्, सुरेन्द्र श्रेष्ठ । संयोगले उनी फुटबलकै पूर्वखेलाडी हुन् । उनले ‘बी’ डिभिजनसम्मको फुटबल खेले । त्यसैले फुटबललाई माया गर्छन् अनि आफू मेयर जित्नुमा फुटबलले गाँसेको सम्बन्ध नै महत्त्वपूर्ण रहेको मान्छन् ।

त्यसैले उनको योजना हो, नेपाली फुटबललाई गुन तिर्ने । उनी आफू मेयर रहुन्जेल कम्तीमा ५ वर्ष भव्य रूपमा यो लिग फुटबल आयोजना गर्ने । सँगै उनको योजना छ मध्यपुर युथको फुटबल मैदानलाई सानो नै सही, दर्शकसहितको रंगशालाको रूप दिने । उनकै भाषामा यस्तो भए मध्यपुर थिमिको एउटा राम्रो मीठो परिचय फुटबल पनि हुनेछ ।

प्रकाशित : आश्विन ८, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?