३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खुला पौडीमा विकासले थपे दुई स्वर्ण

काठमाडौँ — २५ औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा प्रदेश १ का विकास कुमालले शुक्रबार दुई स्वर्ण थप्दै व्यक्तिगत स्वर्ण पदक संख्या चार पुर्‍याएका छन् ।

खुला पौडीमा विकासले थपे दुई स्वर्ण

गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदलाई ध्यानमा राखी आयोजना गरिएको प्रतियोगिताको विकासले २०० मिटर व्यक्तिगत मिड्लेमा २ मिनेट २२.३७ सेकेन्ड र २०० मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट ३३.५३ सेकेन्डबाट स्वर्ण जितेका थिए । मिड्लेमा वाग्मतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कांस्य तथा ब्रेस्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कांस्य पदक जिते ।

५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिन नाम्दोल रायन गुरुङले २९.१० सेकेन्डबाट स्वर्ण जिते । आर्मीका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कांस्य जिते । १०० मिटर फ्रिस्टाइलमा पुलिसका सुविज्ञमान तुलाधरले ५६.२० सेकेन्डबाट स्वर्ण हात पार्दा वाग्मतीका इर्भिन श्रेष्ठ र सेरेन सिंहले रजत र कांस्य जिते । १०० मिटर ब्याकस्ट्रोकमा एपीएफका रायन गुरुङले स्वर्ण जिते । उनले १ मिनेट ४.४५ सेकेन्डमा दुरी पार गरे । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपीएफका जेडेन श्रेष्ठले कांस्य जिते । ५० मिटर फ्रिस्टाइलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेन्डबाट स्वर्ण, वाग्मतीका अल्भिन महर्जनले रजत र इर्भिन श्रेष्ठले कांस्य जिते ।

महिला ५० मिटर ब्याकस्ट्रोकमा पुलिसकी आर्या महर्जनले ३५.१९ सेकेन्डबाट स्वर्ण जित्दा प्रदेश १ की सिया शुभाङ्गी बजगाईंले रजत र पुलिसकै समिरा शोभा थापाले कांस्य जिते । २०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी उपास्ती महर्जनले ३ मिनेट ७.७८ सेकेन्डबाट स्वर्ण जितिन् । १०० मिटर फ्रिस्टाइलमा आर्मीकी अनुसिया तण्डुकारले १ मिनेट १.८५ सेकेन्डबाट स्वर्ण जित्दा वाग्मतीकी रोशा न्यौपानेले रजत र पुलिसकी समिरा शोभाले कांस्य जिते । १०० मिटर ब्याकस्ट्रोकमा पुलिसकी आर्या महर्जन, समिरा शोभा र सारसी खड्काले स्वर्ण, रजत र कांस्य जिते । ५० मिटर फ्रिस्टायलमा आर्मीकी अनुसियाले स्वर्ण जित्दा वाग्मतीका रोशा न्यौपाने र टिसा महर्जनले रजत र कांस्य जिते ।

२०० मिटर फ्रिस्टाइल रिलेमा नेपाल पुलिस क्लबले १ मिनेट ४३.५७ सेकेन्डबाट स्वर्ण जित्यो । वाग्मती प्रदेशले रजत र एपीएफले कांस्य जितेका थिए ।

प्रकाशित : आश्विन ७, २०७९ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?