दुई विभागमा पुग्यो राष्ट्रिय खेलकुद ट्रफी

काठमाडौँ — गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी शुक्रबार दुई विभागीय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको छ । भद्रकालीस्थित सेनाको हेडक्वाटरमा प्रधानसेनापति प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो ।

दुई विभागमा पुग्यो राष्ट्रिय खेलकुद ट्रफी

ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यत्रय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा धाविका मीरा राईको सहभागिता थियो ।

अब ट्रफीलाई असोज ८ गते प्रदेश १ को विराटनगरस्थित सहिद रंगशालामा लगिने छ । त्यसपछि ट्रफी असोज ९ गते सशस्त्र प्रहरी बल (एपीएफ) को हल्चोकस्थित मुख्यालय, असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेस प्रदेशको रामजानकी मन्दिर पुर्‍याइने छ । अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा पुर्‍याइने छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म हुनेछ ।

यसअघि ट्रफी सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र वाग्मती प्रदेशको हेटौंडा लगिएको थियो ।

आर्मी खेलाडीलाई हौसला

यसैबीच नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने त्रिभुवन आर्मी क्लबमा आबद्ध खेलाडी तथा प्रशिक्षकको हौसला र मनोवल अभिवृद्धि गर्नका लागि शुक्रबार नेपाली सेनाले कार्यक्रम राखेको थियो ।

त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सबैभन्दा पहिला आफूलाई नेपाली सेनाको सदस्य भएको ठान्दै त्यसपछि खेलाडी हुँ भन्ने आत्मसात गरेर मर्यादित र अनुशासित रूपमा खेल प्रदर्शन गर्न निर्देशन दिएका थिए ।

शर्माले खेलकुद क्षेत्रबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपाली सेनाको छवि अभिवृद्धि गर्न योगदान दिनु प्रशिक्षक एवं खेलाडीको उच्च प्रशंसा गरेका थिए ।

महारथी शर्माले सेनामा खेलकुद विकासका लागि व्यवस्था गरिएको १० करोडको अक्षयकोषले भविष्य खेलाडीको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदमा बढीभन्दा बढी स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्लबलाई पुन: टिम च्याम्पियन बनाउन प्रेरित गरेका थिए ।

प्रकाशित : आश्विन ७, २०७९ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?