२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

विकास र अनुभवको कीर्तिमान

गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खुला राष्ट्रिय पौडी

काठमाडौँ — प्रदेश १ का विकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । विकासले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३१.०५ सेकेन्ड र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९:०० सेकेन्डको राष्ट्रिय कीर्तिमान रचेका हुन् ।

विकास र अनुभवको कीर्तिमान

छोटो दुरी (२५ मिटर) को यस प्रतियोगितामा दुवै विधामा सैयद हम्जा शाहको नाममा राष्ट्रिय कीर्तिमान थियो । सैयदले आठौं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेस्टस्ट्रोकमा ३१.५५ सेकेन्ड र १०० मिटर बटरफ्लाईमा १ मिनेट ००:२५ सेकेन्डको कीर्तिमान बनाएका थिए । विकासले हिट चरणमा सैयदको नामको कीर्तिमान भंग गर्दै ३१.२६ सेकेन्डको कीर्तिमान बनाएका थिए । त्यसलाई पुनः आफैंले सुधारेका थिए ।

उक्त इभेन्ट वाग्मतीका सेरेन सिंह दोस्रो र आर्मीका अनुभव सुब्बा तेस्रो स्थानमा रहे । १०० मिटर बटरफ्लाईमा वाग्मतीका एल्भिन महर्जन र पुलिसका युभानलाल श्रेष्ठ दोस्रो र तेस्रो स्थानमा रहे ।

४०० मिटर फ्रिस्टाइलमा पुलिसका गौरव लामाले ३ मिनेट ३६.९८ सेकेन्डबाट स्वर्ण जिते । पुलिसकै सनिलकुमार थापा र एपीएफका उर्गेन महर्जन दोस्रो र तेस्रो भए । २०० मिटर ब्याकस्ट्रोकमा एपीएफका नेन्जिङ नाम्दोल रायन गुरुङले २ मिनेट १९.११ सेकेन्डसहित स्वर्ण जिते । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कांस्य जिते ।

२०० मिटर फ्रिस्टाइलमा वाग्मतीका इर्भिन श्रेष्ठले २ मिनेट ४.०७ सेकेन्डबाट स्वर्ण जित्दा पुलिसका सुविज्ञमान तुलाधरले रजत र गौरव लामाले कांस्य जिते । १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रदेश १ का विकास कुमालले १ मिनेट ८.४६ सेकेन्डसहित प्रदेशका लागि दोस्रो स्वर्ण जिते । वाग्मतीका सेरेन सिंहले रजत र एपीएफका जाडेन श्रेष्ठले कांस्य जिते । ५० मिटर बटरफ्लाईमा एपीएफका रायन गुरुङले २७.२४ सेकेन्डका साथ स्वर्ण जिते । आर्मीका अनुभव सुब्बाले रजत र प्रदेश १ का विकास कुमालले कांस्य जिते ।

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै सातदोबाटोस्थित पौडी पोखरीमा आयोजित प्रतियोगिताको ५० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी उपास्ती महर्जनले स्वर्ण जितिन् । उनले ३६.९० सेकेन्डमा दुरी पार गरिन् । प्रदेश १ की सिया सुभांगी बजगाईंले रजत र वाग्मती श्रेनु महर्जनले कांस्य जिते ।

२०० मिटर फ्रिस्टाइलमा आर्मीकी अनुसिया तण्डुकारले २ मिनेट १७.०१ सेकेन्डसाथ स्वर्ण जित्दा पुलिसकी समिरा शोभा थापाले रजत र वाग्मतीकी रोशा न्यौपानेले कांस्य जिते । १०० मिटर ब्रेस्टस्ट्रोकमा उपास्तीले स्वर्ण जितिन् । व्यक्तिगत दोस्रो जित्नेक्रममा उनले १ मिनेट २२.९१ सेकेन्ड लगाइन् ।

प्रदेश १ की सिया सुभांगी बजगाईंले रजत र एपीएफकी राभ्या श्रेष्ठले कांस्य जिते । ५० मिटर बटरफ्लाईमा वाग्मतीकी रोशा न्यौपानेले ३३.११ सेकेन्डसाथ स्वर्ण जितिन् । आर्मीकी अनुसिया तण्डुकारले रजत र वाग्मतीकी टिसा महर्जनले कांस्य जिते । पूर्वघोषित मितिभन्दा एक दिन ढिला प्रतियोगिता सुरु गर्नुपरेको आयोजक नेपाल पौडी संघले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?